‘मुभ अन’ भइन् सपना, फर्किइन् उही आर्यघाट (भिडिओ) – Nepal Press

‘मुभ अन’ भइन् सपना, फर्किइन् उही आर्यघाट (भिडिओ)

काठमाडौं । दुई वर्षअघि म्याग्दीकी सपना रोका मगर अचानक मिडिया र सोसल मिडियामा छाइन् । प्रशंसा र बधाई प्रशस्त खाइन् । सन्दर्भ थियो- बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा उनको नाम समावेश हुनु ।

१०० सूचीमा पर्नुका पछाडि सपनाले दागबत्ती दिएका सयौं बेवारिसे लासहरु थिए । बेवारिसे लासहरुलाई बेवारिसे भइरहन नदिएर दागबत्ती दिँदै सदगद् गर्नु उनको दिनचर्या थियो । आफैं सडकमा बेवारिसे जीवनको आरोह, अवरोह गुजारेर आएकी सपनाले सडकभन्दा एक सिँढी माथि उक्लिएर बेवारिसेहरुलाई आर्यघाटमा पुर्‍याएर जलाएकी थिइन् ।

उनी बीबीसीको १०० प्रभावशाली सूचीमा परेपछि चर्चामात्रै चुलिएन, चौतर्फी प्रशंसा भयो । उनी धेरैका लागि उत्प्रेरणा बनिन् । धेरैका लागि आइकन बनिन् । १८ वर्षे कलिलो उमेरमा उनले गरेको काम प्रशंसालायक छँदै थियो ।

अचानक सारा मानिसको नजरमा परेकी सपना अचानक नै विवादमा तानिइन् । उनीमाथि अनेकानेक टीकाटिप्पणी भए, सहनेसम्म सहिन् । तर, उनको कलिलो धैर्यताले पनि थेग्न नसक्ने अवस्था आइपरेपछि अचानक गायब बनिन् ।

उनी कहाँ गइन्, के गर्दैछिन्, कसैले सोधखोज गरेन । आठ-नौ महिनासम्म दृश्यबाट ओझेल परेकी सपनालाई यहीबीचमा अनेक रोगले जकडे । टन्सिल भयो । एपेन्डिक्स भयो । अस्पतालमा लामो समय बिताइन् । मानसिक तनावबाट पार पाउन आफैंले आफैंलाई उत्प्रेरित गरिन् । परिवारलाई समय दिइन् ।

उनको फेसबुक पाकिस्तानबाट ह्याक भयो । सञ्जालबाट लापता भइन् । यत्तिका लामो समय हराउनुको रहस्य खोतल्छिन् सपना, ‘यो बीचमा आफूले आफैलाई नजिकबाट बुझ्ने र भेट्टाउने प्रयास गरेकी थिएँ ।’

– अनि आफूलाई भेटाउनुभयो त ?

थोरै मुसुक्क २१ वर्षे हाँसो हाँसेर मुख खोल्छिन्, ‘अलिकति भेट्टाएँ । अलिकति बाँकी छ ।’

अहिले सपना जब ऐनाअघि उभिन्छिन्, उनलाई आफैंलाई भेटेजस्तो लाग्छ । उनलाई लाग्छ, हिजोको सपना कमजोर थिई, जोकोहीलाई विश्वास गरिहराल्ने सपना थिई । रोइहाल्ने, जिद्दी गर्ने सपना थिई । परिपक्व नभएकी सपना थिइन् । तर, आजको सपना त्यस्ती छैनन्, बलियी छिन् ।

सपनालाई आमाले भन्ने गर्थिन्, ‘लास जलाउने काम गर्छु भनेर अगाडि बढेकी छेस् । ताली र गालीको पछि नलाग ।’

तर, ताली-गाली दुवै आफैं सपनाको पछि लागे । तालीले साथ दियो । सँगै गालीले पिछा छाडेन । अलिकति राम्रो काम गर्‍यो, तालीको वर्षा । सानो गल्ती गर्‍यो, ‘श्रद्धाञ्जली’को ओइरो ! तर, आफूलाई दुइटै कुराले उस्तो नखिचेको सपनाको स्वीकारोक्ति छ ।

सोसल मिडियामा आएका गालीबारे सपना बोल्छिन्, ‘रिलको जमानामा रियल काम गर्नेहरु पछि परेका हुन्छन् । सोसल मिडिया ठूलो महलमा सजाएको डमी हो, बाहिर जे देखायो, त्यहीमात्रै देखिन्छ । केही मान्छे खुट्टा तान्न पनि आए । उनीहरु सफल पनि भए । उनीहरुले जे देखाए, दर्शकले त्यही मानेर गाली गर्नुभयो । तर, सपनाले राम्रो काम गरिरहेको रहेछ भनेर विस्तारै बुझ्दै जानुभयो ।’

जीवनलाई दुई मोहडाबाट हेर्छिन् सपना । एक, सार्वजनिक जीवन । अर्को, निजी जीवन । निजी र सार्वजनिक जीवनलाई एक ठाउँमा राखेर तुलना गरिएको निको लाग्दैन उनलाई ।

‘बाहिर सबैलाई मोटिभेट गर्ने सपना सिरानी मुखमा कोचेर आफ्नै मनसँगको पो युद्ध लडिरहेकी छे कि ! सबैलाई हाँस्नुपर्छ भनेर हँसाउने सपना निजी जीवनमा रोएर पो रात कटाइरहेकी छे कि ! बाहिरको चित्रलाई हेरेर भित्रको चरित्रलाई वर्णन गर्नु हुँदैन भन्छु म,’ गम्भीर बनेर एक सासमै बोलिपठाउँछिन् ।

सपनालाई थाहा छ, मानसिक रुपमा जब कोही बलियो हुन्छ, उसलाई कसैले लडाउन सक्दैन । तर, उनलाई मानसिक रुपमै गलाइयो । आरोप–प्रत्यारोपले टर्चर दियो । सपनाभित्रको ‘सपना’लाई साइलेन्स गराइयो । उनलाई लाग्छ, कहिलेकाहीँ आफैंले आफूलाई बुझ्न सकिँदैन । धेरै तनाव हुन्छ । उनको प्रश्न छ, ‘मभित्रको ‘म’लाई कसले बुझेको छ ?’

उनलाई रातको १२-१ बजे फोन आउँछ । ‘कसरी मुभ अन हुने दिदी’ भनेर सोध्छन् । आफैं मुभ अन हुने गोरेटोको खोजीमा निस्किएकी सपना आफैंलाई निचोरेर भन्छिन्, ‘पहिला तिमी आफू जस्तो बन । अनि दोस्रो व्यक्ति जस्तो बन । जब आफूलाई माया गर्न सकिँदैन, अरुलाई कसरी माया गर्न सकिन्छ ?’

हर रात आउने फोन र हर रात दिने जवाफले थाहै नपाई सपनालाई बलियो बनाउँदै लगेको रहेछ । अरुलाई ढाडस दिँदादिँदै आफू बलियो बनिसकेकी रहेछन् । मुभ अन भइसकेकी रहेछन् । सपनाले आफैभित्र पनि अनेक सपना देख्न थालिन् । सपनैसपनाको संसारमा विचरण गर्न थालिन् ।

– अनि सपनाभित्रको सपना चाहिँ कस्तो रहेछ ?

‘मभित्रको सपना कमजोर थियो । आरोह-अवरोहलाई झेलेर सँगै छेउमा सुतेको साथीले सुन्ला कि भनेर मुख थुनेर रोइरहेकी सपना । अहिले मैले मलाई यो अवस्थामा ल्याउन धेरै संघर्ष गरेकी छु । सबैले बाहिरबाट हेर्दा वाउ भन्छन् । यहाँसम्म आइपुग्न मैले धेरैपटक मर्नुपरेको थियो । सक्दिनँ कि भनेर गिभ अप गरिसकेकी थिएँ । मेरो विगत सबैलाई अवगत नै छ । हिजो बेवारिसे अवस्थामा मर्नबाट बाँचेकी मान्छे । मरेकी भए कुहिएको शव घरमा हुन्थ्यो कि ! आफूले आफैलाई जितेर आएकी छु ।’

– अरुका लागि आइडल, भित्रभित्रै चाहिँ यति कमजोर ?

‘अहिले २१ वर्षकी भएँ । परिवारको जिम्मेवारी मसँगै छ । दुनियाँले चिनेको मम्मी-बाबाकी छोरी, उहाँहरुको अपेक्षा कति धेरै होलान् ! बेवारिसे लासहरु हजारौंको संख्यामा छन् । उनीहरुको उचित व्यवस्थापन गर्न सकिरहेको छैन । कोठामा सिरक ओढेर सुतिरहँदा पनि ध्यान अस्पतालको लासमा जान्थ्यो, जो दिनदिनै गल्दै गइरहेको छ । यस्तैयस्तै कारणले कमजोर भएँ कि !’

भर्खरै सपनाले लामो विश्रामपछि चारवटा लासलाई दागबत्ती दिइन् ।

यो बीचमा कतिपयले ‘लास जलाउँछौं’ भनेर गृह मन्त्रालयमा गएर पैसाको डिल गरे । बानेश्वरको अस्पतालमा लास लिन जाँदा उनलाई भनियो, ‘तपाईंहरु यहाँबाट लास लिएर जाने, अनि गृह मन्त्रालयमा पैसा माग्ने ?’

प्रश्नको तीरले सपनाको मनमा पीर पार्‍यो । उनले मास्क खोलेर आफू सपना रोका भएको बताइन् । अनि अस्पतालका कर्मचारीले भने, ‘यत्रो महिना कता हराउनुभयो ? दुईचारजना आएर माथि पैसाको डिमान्ड गरेछन् । हाम्रो जागिर नै जालाजस्तो भयो । तपाईं आउनुभयो, अब सजिलो हुन्छ ।’

अरु कसैले लास उठाएकोप्रति सपनाको दुःखेसो छैन । यदि कसैले राम्रोसँग व्यवस्थापन गरे विदेश जाने, पढ्ने योजनामा छिन् । तर, गलत नियत राखेर लास चलाउनेहरुले दुर्गन्ध फैलाएको गुनासो छ उनको । भन्छिन्, ‘यहाँ कुहिएको लासमाथि राजनीति हुन्छ । एउटा लास जलाउन १०-१२ हजार लाग्छ । तर, पैसा जबरजस्ती मगाउने होइन नि !’

कसैले ‘छ्या लास’ भन्यो भने पनि सपनालाई रिस उठ्छ । भर्खरै पशुपतिमा चारवटा लासलाई दुइटा चितामा राखेर जलाएकी थिइन् । छेवैको चितामा फूलमालासहित जलाइएको अर्को लास थियो । मलामीहरु पनि टन्नै थिए ।

सपना सुनाउँछिन्, ‘त्यो देखेपछि मेरो आँखा भरिएर आयो । दुई चितामा चारवटा लास जलाइरहेकी थिएँ एक्लै । सोचेँ, एक दिन म पनि सजावटका साथ लास जलाउँछु । बेवारिसे लास भएको व्यक्तिले पनि कसैको कोखबाट जन्म लिएको थियो । दुर्भाग्यले मलामीविहीन हुनुप¥यो । यसरी बेवारिसे भएर कसैलाई मर्न नपरोस् ।’

हिजो सपनाले जति लास जलाइन्, अहिले त्यति नै संख्यामा लास अस्पतालमा थुप्रिएको छ । अस्पतालहरुबाट उनलाई फोन आइरहेको छ । तर, आर्थिक कारणले सकिरहेकी छैनन् । १४ वटा लास जलाउनुपर्नेछ उनलाई । त्यसका लागि एक लाख ४० हजार लाग्छ ।

तर, लासलाई कुहिएर बस्न नदिन दृढ छिन् सपना ।

उनी पुनः घाटमा सानोतिनो आँट र साहस लिएर नआएको बताउँछिन् । जस्तो अप्ठ्यारो पनि झेल्नसक्ने संकल्प लिएर आइपुगेको बताउँछिन् ।

यो बीचमा मोडिटेसन गरिन् । म्युजिक सुनिन् । किताबहरु पढिन् । आफैंले आफैंलाई ऐनामा हेर्दा उनलाई आफ्नै माया लागेर आउँथ्यो । विचरा लाग्थ्यो ।

सपना सुनाउँछिन्, ‘अहिले ऐना हेरेर मुस्कुराउँछु । बलियी ठान्छु । तपाईं कस्तो हुनुहुन्छ भनेर ऐना र तपाईंलाई बाहेक कसैलाई थाहा हुँदैन । पछिल्लो समय आफूले आफैंलाई धेरै माया गर्न सक्ने बनेर मैदानमा आएकी छु ।’

यो बीचमै कहिलेकाहीँ पशुपति जान्थिन् । त्यहाँका ससाना भाइबहिनीहरुले लास लिएर कहिले आउनुहुन्छ भनेर सोध्थे । के गर्दैछौ भनेर मान्छेहरुले सोध्थे । तिनै प्रेमपूर्वक सोधखोज गर्नेहरुले फेरि फर्काएर ल्याएको सपनाको भनाइ छ ।

अन्त्यमा सपनासँग गरिएका थप प्रश्नोत्तरः

– बीबीसीको १०० सूचीमा परेपछि अचानक बुम हुनुभयो । अचानक सेलिब्रिटी हुनुभयो । त्यसलाई ह्याण्डल गर्न नसकेर पनि साइलेन्स हुनुभएको हो ?

ह्याण्डिल गर्न नसकेर होइन । कसलाई कसरी उत्तर दिनुपर्छ थाहा छ । तर, सत्य बोलेर पनि गलत भइन्छ भने साइलेन्स बस्नु नै उपयुक्त हुन्छ ।

– अब साइलेन्स बस्नुहुन्न ?

मैले मभित्रको मलाई महसुस गरिसकें । हिजो जे थिएँ, आज र भोलि त्यही हुनेछु ।

– कतिपय संगतले यस्तो अवस्थामा आइपुगें भन्नुभयो । संगतहरु चिन्नसक्ने भएँ भन्नुभयो । सही संगत कसरी चिन्नुपर्ने रहेछ ?

चिनी र नून मिक्स गर्दा चिन्न गाह्रो हुन्छ । कसले वास्तवमा साथ दिएको हुन्छ, उसलाई महसुस गर्नुपर्ने रहेछ । हिजोका दिनमा फेक मान्छेका कारण राम्रो मान्छेलाई पनि पन्छाएँ होला । राम्रा मान्छेको गुनासो पनि होला, सरी भन्न चाहन्छु । आजभोलि चाहिँ कुन मान्छेले कुन नियतमा कुरा गरिरहेको छ, बुझ्न सक्छु । साँचो कि झूट बोलिरहेको छ, छुट्याउन सक्छु ।

– लास जलाउन आर्थिक व्यवस्थापन कसरी गर्नुहुन्छ ?

हिजो मैले सिक्री बेचेर पनि लास जलाएँ । मोबाइललाई सात दिनसम्म बन्धकी राखेर पनि जलाएको छु । पहिला सहयोगी मनहरुले सहयोग गर्नुहुन्थ्यो । बीचमा ग्याप भइदिएँ । अब अलिकति समय लाग्छ । दिवंगत आत्माहरुलाई जलाउने काममा सहयोग पाउँछु भन्ने आशा छ ।

– आर्थिक पारदर्शिताको कुरा पनि होला नि ?

‘सपनाको समृद्ध चाहना’ भन्ने मेरो संस्था छ । यति सहयोग गरिदिनुभयो भनेर खुलेआम भन्छु । प्रश्न आउने अवस्था आउनै दिन्नँ । यदि प्रश्न आएमा उत्तर दिन तयार छु ।

मलाई ठूलो ठाउँमा पुग्नु छैन । हामीले लिने भनेको आशीर्वाद न हो । लासहरुको उचित व्यवस्थापन गरौं भन्ने लाग्छ । तर, पशुपतिमा धेरै लास लिएर जाँदा मलामी भएको लास भए मेरो बेवारिसे लासलाई जलाउन दिइँदैन । उत्तिकै पैसा लिएर जलाउँदा पनि जलाउन दिँदैन । उनीहरुको पनि आफन्त भए वर्षौंदेखि कुहिएर बस्नुपर्दैन थियो होला । फ्रिजभित्र लुगाफाटा जसरी राख्नु पर्दैन थियो होला नि !

प्रतिक्रिया

2 thoughts on “‘मुभ अन’ भइन् सपना, फर्किइन् उही आर्यघाट (भिडिओ)

  1. एकदमै राम्रो उत्कृष्ट यथार्थ जीवन मा मेल खाएको सपना रोका मगर को जीवन संग संबंधित लेख लेख्नुभएको छ।यसरी नै उत्प्रेरणा र साहस उत्साह मुलक लेख समप्रेसण गर्दै जानुस् शुभकामना छ।

  2. “एक दिन म पनि सजावटका साथ लास जलाउँछु । बेवारिसे लास भएको व्यक्तिले पनि कसैको कोखबाट जन्म लिएको थियो । दुर्भाग्यले मलामीविहीन हुनुप¥यो ।” 😥
    महान बिचार मन छुयो…

Leave a Reply

Your email address will not be published.