यसरी हुनसक्छ एमालेको पुनर्जीवन – Nepal Press

यसरी हुनसक्छ एमालेको पुनर्जीवन

युनानी पौराणिक कथा (माइथोलोजी)मा फिनिक्स नामक सुन्दर चराको वर्णन छ । त्यो अनौठो चरा सयौं वर्षसम्म माथि माथि आकाशमा उँचो उडान भर्छ । समयक्रममा त्यो आफै जलेर मर्छ । तर पुनः आफ्नै खरानीको थुप्रोबाट उसको पुनर्जन्म हुन्छ र फेरि आकाशमा कावा खान थाल्छ ।

नेपाली राजनीतिमा झण्डै ७० वर्षको उँचो उडान भर्दै गएको आम निर्वाचनमार्फत बलियो शक्तिमा उदाएको नेकपा (एमाले) अहिले समस्याको भूमरीमा नराम्रोसँग फँसेको छ । फिनिक्स चराको विम्बजस्तै खरानी त भैसकेको छैन । तर, अस्तव्यस्त भएको छ । के एमाले फेरि पनि राजनीतिक घेराबन्दीको चक्रव्यूह तोडेर एकताबद्ध भई अगाडि बढ्न सक्ला ? सूर्य चिन्हमा मतदान गरेका लाखौं शुभेच्छुक र कार्यकर्ताहरुमा आशा जगाउन सक्ला ? या सिद्धान्तविहीन अन्तरपार्टी संघर्ष, एकले अर्कालाई सिध्याउने, देखाइदिने र विभाजित हुने जस्ता घृणित खेलमा रुमल्लिइरहला ? यतिबेला सबैको चासोको विषय भएको छ ।

आठौं महाधिवेशनको पूर्वसन्ध्यामा एमाले नेता प्रदीप ज्ञवालीले फिनिक्स पन्छी जस्तै पुनर्जागृत भएर एमालेले लोकतान्त्रिक आन्दोलनको अगुवाइ गर्नुपर्छ र गर्नसक्छ भन्ने आफ्नो अटल विश्वास रहेको कुरा लेखेका छन् ‘फिनिक्स पन्छी र एमालेको पुनर्जीवन’ किताबमा । २०६५ सालयताका १४ वर्षमा एमाले ज्ञवालीले त्यतिबेला कल्पना गरे झैं पुनर्जीवित भएर आयो । संविधानसभाबाट संविधान जारी भएलगत्तै २०७४ मा भएका तीनै तहको चुनावमा नेपाली राजनीतिको मियो बनेर झण्डै दुईतिहाइको समर्थन भएको सरकारको नेतृत्व गर्ने ऐतिहासिक अवसर प्राप्त भयो ।

चौतर्फी घेराबन्दीका बाबजुद पनि एमाले पुनर्जीवित भएको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरु एमालेसँग एक्लाएक्लै भिड्ने हिम्मत गरिरहेका छैनन् । स्थानीय चुनावमा राम्रो नतिजा पाएको नेपली कांग्रेससमेत एक्लै चुनाव लड्न डराइरहेको छ ।

२०५१ सालको अल्पमतको सरकारको लोकप्रियतासँगै ०५४ सालको स्थानीय निर्वाचनमा अभूतपूर्व सफलता प्राप्त गरेको पार्टी २०५६ सालको आम निर्वाचनमा फेरि ओरालो लाग्यो । त्यसपछि कहिले ‘प्रतिगमन आधा सच्चियो’ भन्दै देउवाको सरकारमा सामेल भयो । लोकेन्द्रबहादुर चन्दसँग सत्ता साझेदारी गर्‍यो । पार्टी किङ्कर्तव्यविमूढ बन्दै गयो । नेतृत्वमा स्पष्ट अडान र भिजन देखिएन । २०६४ सालको पहिलो संविधानसभा चुनावमा अवस्था झनै नाजुक भयो । शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेको पार्टी चुनावी परिणाममा तेस्रो स्थानमा खुम्चियो । संविधान निर्माणमा पनि ढुलमुले चरित्र देखाइरह्यो । त्रीशंकु संसदमा तेस्रो पार्टी हुँदाहुँदै पनि नेताहरुलाई प्रधानमन्त्री बन्ने अवसर जुट्यो ।

यसै बीचमा पार्टीको नवौं महाधिवेशनबाट पार्टी सत्तामा केपी ओलीको उदय भयो । उनै ओलीको नेतृत्वमा एमाले २०७४ सालको चुनावमा अभूतपूर्व परिणाम निकाल्न सफल भयो । एमाले फिनिक्स पन्छी जस्तै फेरि बौरिएर आयो ।

माओवादी केन्द्रसँग हचुवाको भरमा सिद्धान्तहीन एकता घोषणा गरियो र शक्तिशाली नेकपा पार्टी बन्यो । ओलीको नेतृत्वमा कम्युनिष्टहरुको एकमना बलियो सरकार त बन्यो । तर, नेताहरुका प्रवृत्ति फेरिएनन् । गुटबन्दी झन् मौलाउँदै गयो । निषेध र प्रतिशोधको राजनीति हावी हुँदै गयो । सांगठनिक रुपमा पार्टी मृत प्रायः रह्यो नेकपा कालमा । पार्टीभित्र सत्ता र स्वार्थ केन्द्रित अन्तरविरोध चर्किंदै गयो । सत्ता सञ्चालनमा खटपट सुरु भयो । र, अदालतको आदेशबाट नेकपा गठन अवैध ठहर भई पुनः एमाले ब्युँतियो । यस घटनाबाट एमालेजनमा आशाको सञ्चार भएको थियो कि अब एमाले सिङ्गो पार्टीको रुपमा एक ठाउँमा रहनेछ । सार्वभौम जनताबाट प्राप्त मतअनुसार अगडि बढ्नेछ ।

कमी-कमजोरी बेलैमा सच्याएर पार्टी संगठनलाई चलायमान गर्नसके एमालेको पुनरागमनलाई कसैले रोक्न सक्नेछैन ।

तर, समस्या झन बल्झियो । नेताहरु अकर्मण्यताको शिकार भए । जुँगाको लडाइँ फेरि सतहमा देखियो । एकले अर्कोलाई सिध्याउने गरी गतिविधि अगाडि बढे प्रतिनिधिसभा बारम्बार विघटन भयो । जनमतको उपहास गरियो । र अन्ततः ओलीलाई अप्राकृतिक गठबन्धनमार्फत पार्टीभित्रैबाट चौतर्फी घेराबन्दीमा पारेर अदालतको परमादेशमार्फत सत्ताच्युत गरियो । अध्यादेशमार्फत् एमालेलाई नियोजित रुपमा विभाजित गरियो । यस्तो हुनुमा कुन पक्षको दोष कति रह्यो ? अब ठण्डा भएर सोच्नुपर्ने भएको छ । आन्तरिक रुपमा छिन्नभिन्न भएको एकीकृत एमाले पुनः फिनिक्स चराको जस्तै नियति व्यहोर्न अभिशप्त भएको छ यतिबेला ।

लोकतन्त्रमा आवधिक निर्वाचन भैरहन्छ । त्यसैबाट पार्टीहरुको लोकप्रियता मापन हुन्छ । स्थानीय तहको चुनाव भर्खरै सकिएको छ । सत्ता गठबन्धनका बाबजुद पनि एमाले एक्लै चुनाव लडेर सम्मानजनक मत प्राप्त गरेको छ । पपुलर भोटमा अगाडि देखिएको छ । यद्यपि पार्टीभित्रको अन्तरविरोध बेलैमा हल नहुँदा अन्तरघात, असहयोग र असन्तुष्टिले गर्दा कतिपय ठाउँमा पार्टीले जित्ने उम्मेदवार पनि हार्न विवश भएको तीतो यथार्थ छर्लङ्गै छ । अब एमाले पत्तासाफ हुन्छ, गराइन्छ भन्नेहरु यतिबेला निधार खुम्चाएर सोचमग्न भैरहेका छन् । यसरी चौतर्फी घेराबन्दीका बाबजुद पनि एमाले पुनर्जीवित भएको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरु एमालेसँग एक्लाएक्लै भिड्ने हिम्मत गरिरहेका छैनन् । स्थानीय चुनावमा राम्रो नतिजा पाएको नेपली कांग्रेससमेत एक्लै चुनाव लड्न डराइरहेको छ ।

अब निकट भविष्यमा प्रदेश र संघीय संसदको चुनाव हुँदैछ । अब कुन मुख लिएर सूर्य चिन्हमा भोट माग्न जाने ? सही पनि एमाले मै पनि एमाले कसरी भन्ने ? जनादेशअनुसार सत्ता सञ्चालन गर्न नसक्नुको उचित जवाफ जनता र कार्यकर्ताले अवश्य खोज्नेछन्, सोध्नेछन् । पार्टीको झण्डा, नाम र चिन्ह लिएर चुनाव जितेका नेता, सांसदहरुले किन विपक्षी पार्टीसँग साँठगाँठ गरेर आफ्नो पार्टीको सरकार ढालेर खुशी मनाइरहेका छन् ? स्थानीय चुनावमा फलानालाई हराइयो भनेर सगर्व भनिरहेका छन्, खुच्चिङ भनिरहेका छन् ? इतिहासको कठघरामा उभिएर सबैले जवाफ दिनैपर्नेछ एक न एक दिन ।

आसेपासेहरुको कोटरी बनाउने र गुटबन्दी गरेर एकले अर्कोलाई सिध्याउने खेल जारी राखे राधाकृष्ण मैनाली र सीपी मैनाली झैं चाउरिएर बस्नुपर्ने दिन नआउला भन्न सकिन्न ।

यतिबेला नेपालको रजनीतिमा अदालतको छायाँ परिरहेको छ । हरेक कुराको छिनोफानो अदालतबाट हुने हो भने संविधानमा उल्लेख भएको ‘सार्वभौमसत्ता जनतामा निहित हुनेछ’ भन्ने वाक्यांश किन राखेको ? शक्ति पृथकीकरणको व्यवस्था किन गरेको ? यस्ता थुप्रै प्रश्न हरेक सचेत नागरिकको मनमा उठिरहेका छन् यतिबेला । केपी वलीले गरेको संसद विघटन असंवैधानिक थियो, प्रतिगमन थियो भन्ने कुराको पुष्टि कहींकतैबाट भएको छैन । पार्टी विभाजन र संसदको पुनःस्थापनाको औचित्य के रह्यो खै ? मिलिभगतमा सत्ताको दुरुपयोगबाहेक यो परमादेशी सरकारले के दियो खै ? जताततै अराजकता र लुटतन्त्रमात्र हाबी छ ।

५० वा ६० को दशकका जस्ता छैनन् अहिलेका जनता र निःस्वार्थ भावले पार्टीमा संगठित कार्यकर्ता । प्रत्येक घटनाक्रमको एकएक हिसाब–किताब राखेर बसेका छन् । फेरि पनि देशी-विदेशी प्रतिक्रियावादीले षड्यन्त्र गरे, राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन् भन्ने जस्ता अमूर्त कुरा र झूटा आश्वासन बाँडेर फेरि मौका दिनुस् भन्ने अनुरोध अब मान्ने छैनन् जनता र कार्यकर्ताले । ‘अन्त जान मन छैन, घरबार होला भन्ने भर छैन’ भन्ने द्विविधापूर्ण मनस्थिति बढेको छ इमानदार र निःस्वार्थ कार्यकर्तामा यतिबेला । त्यसैले गर्दा थुप्रै इमानदार कार्यकर्ता, भोटर गत स्थानीय चुनावमा निष्क्रिय देखिए । नेतातन्त्र जस्तो बनेको ‘लोकतन्त्र’मा विश्वास गरिराख्न र नेताहरुलाई कुर्चीमा पुनर्बहाली गर्नमात्र सच्चा एमालेजन तयार हुने छैनन् अब । कमी-कमजोरी बेलैमा सच्याएर पार्टी संगठनलाई चलायमान गर्नसके एमालेको पुनरागमनलाई कसैले रोक्न सक्नेछैन ।

कुनैबेला अहिलेको एमालेजस्तै ठूलो पार्टी थियो ‘प्रजा परिषद’ । अहिले इतिहासका पानामा मात्र भेटिन्छ । इतिहासको गर्तमा विलिन भैजाने कि, सुनौलो भविष्यको सुदर सपनाको मार्ग कोर्ने ? आगे एमाले नेतागणकै मर्जी ।

समाजको अध्ययन गर्ने, चिजहरुलाई नयाँ प्रक्रियाबाट हेर्ने र ताजा प्रश्नको नयाँ जवाफ खोज्ने सिद्धान्त हो जनताको बहुदलीय जनवाद । यही सिद्धान्तमा टेकेर आत्मालोचना, निर्मम समीक्षा र मन माझामाझ गर्नसके पार्टी अध्यक्षले भनेजस्तै एकैछिन बादल लागेको सूर्य फेरि उदाउनेछ । फेरि पनि नेकपा (एमाले) फिनिक्स पन्छी झैं पुनर्जागृत हुनेछ । त्यसो गर्न कम्युनिष्ट हौं भन्नेले द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई जीवन र व्यवहारमा उतार्न सक्नुपर्छ । आसेपासेहरुको कोटरी बनाउने र गुटबन्दी गरेर एकले अर्कोलाई सिध्याउने खेल जारी राखे राधाकृष्ण मैनाली र सीपी मैनाली झैं चाउरिएर बस्नुपर्ने दिन नआउला भन्न सकिन्न । फुटेर अर्को पार्टी बनाएर गएकाहरुलाई नेपाली जनताले पत्याउने गरेका छैनन् ।

तसर्थ नेकपा एसतर्फ लागेका नेताहरुसँग एकपटक फेरि एकताको प्रयास गरिनुपर्छ । क्षणिक सत्ता स्वार्थको पछि लागेका पूर्वएमालेजन एमालेमै फर्किन लालायित छन् । एक कदम पछाडि हटेर मेलमिलापको हात बढाउँदा सबैलाई फाइदा हुन्छ । कुनैबेला अहिलेको एमालेजस्तै ठूलो पार्टी थियो ‘प्रजा परिषद’ । अहिले इतिहासका पानामा मात्र भेटिन्छ । इतिहासको गर्तमा विलिन भैजाने कि, सुनौलो भविष्यको सुदर सपनाको मार्ग कोर्ने ? आगे एमाले नेतागणकै मर्जी । अस्तु !

प्रतिक्रिया

3 thoughts on “यसरी हुनसक्छ एमालेको पुनर्जीवन

  1. यो लेख सिध्दान्तत सही छ तर नेतृत्वमा रहेको दम्भ अहङ्कार र गुट चलाउने खेलको अन्त्य हुनुपर्यो।पार्टी अध्यक्ष ओलीले चौडा छाती बनाए भने नहुने केही छैन।यहि चुनाउमा एमाले पहिलो दल बन्छ।

  2. कति गुनगाउ मात्र गाउछ नेपाल प्रेस ले येमालेको मात्रै के दिन्छ र हो येमालेले

Leave a Reply

Your email address will not be published.