जापानमा प्रचण्डका ६ दिन- शान्ति संग्रहालयदेखि नर्सरीसम्म धाए, नेपालीलाई कोट बोकाए – Nepal Press

जापानमा प्रचण्डका ६ दिन- शान्ति संग्रहालयदेखि नर्सरीसम्म धाए, नेपालीलाई कोट बोकाए

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो पहिलो जापान भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्किए । पार्टीनिकट जनप्रगतिशील मञ्चको निमन्त्रणमा गएका उनको यो भ्रमण अनौपचारिक थियो ।

प्रचण्डले जापानमा अधिकांश समय नेपाली समुदायसँगै बिताएका थिए । जनप्रगतिशील मञ्चले आयोजना गरेका विभिन्न अन्तरक्रियाहरूमा उनले भाग लिए । गैर आवासीय नेपालीले आयोजना गरेको नेपाल फेस्टिबलमा अतिथिका रूपमा सहभागी भए । दोस्रो विश्वयुद्धले ध्वस्त पारेर पुन निर्मित सहर हिरोसिमा पुगेर शान्ति संग्रहालय अवलोकन गरे । जापानी संसद्को भ्रमण गरे । उनकै शब्दमा जापानका चल्तापूर्जा सांसदसँग भेटघाट गरे ।

प्रचण्ड फर्किए लगत्तै उनको सचिवालयले एक विज्ञप्ति जारी गरी भ्रमणका विस्तृत जानकारी दिएको छ । जसअनुसार प्रचण्डले साइतमा एउटा नर्सरीको समेत अवलोकन गर्न भ्याएका थिए । विज्ञप्ति अनुसार उनको ‘उच्च तहको’ राजनीतिक भेटघाट चाहिँ त्यहाँको लिबरल डेमोक्रेटिक पार्टीका प्रभावशाली नेता तथा सांसद सदस्य मासाकी तायरासँग भएको थियो । तायराले जापानको संसद् भवन ‘डायट’ मा प्रचण्डलाई स्वागत गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रचण्डले सांसदभन्दा माथिको राजनीतिक नेतृत्वसँग भने भेटवार्ता गर्न पाएनन् । जापानको सरकार वा त्यहाँका कुनै संघ–संस्थाको आमन्त्रणमा नभएर त्यहाँ रहेका नेपालीहरूकै आमन्त्रणमा गएको हुँदा प्रचण्डको भ्रमणलाई जापानको सरकारले खासै नोटिसमा लिएको देखिएन । त्यहाँका सञ्चारमाध्यमले नेपालका पूर्व प्रधानमन्त्री आफ्नो देशमा आएको र गएको थाहै पाएनन् । नेपाल फर्केर प्रचण्डले जापानी सांसदसितको भेटलाई नै उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् । ती सांसदसँग आफूले नेपालको फोहोर व्यवस्थापनदेखि विभिन्न विषयमा सहयोगका लागि आग्रह गरेको उनको भनाइ थियो ।

आफ्नो भ्रमणलाई नेपालको दूतावासले अत्यधिक महत्त्व दिएको भन्दै प्रचण्डले खुशी व्यक्त गरे । दूतावासले आफ्नो सम्मानमा हिजो राति दिएको रात्रीभोजलाई उनले भ्रमणको क्लाइमेक्स बताए । उक्त रात्रि भोजमा ३० जनजाति जापानीहरू पनि आएको प्रचण्डको भनाइ छ ।

नेपालभन्दा बाहिर विभिन्न देशमा नेपालका प्रमुख राजनीतिक पार्टीका प्रवासी संगठन छन् । उनीहरूले आफ्नो खर्चमा पार्टीका शीर्ष नेताहरूलाई सम्बन्धित देशमा भ्रमण गराउने नयाँ प्रचलन होइन । तर, देशको प्रधानमन्त्री भइसकेका नेताहरू पनि ‘फ्रि भिसा र टिकट’ पाएपछि रमाउँदै घुम्न जाने प्रवृत्ति चाहिँ गलत भएको कूटनीतिका जानकारहरू बताउँछन् । आफ्नो ओहदाको मर्यादा बिर्सेर हल्काफुल्का तवरबाट विदेश भ्रमण गर्दा देशकै प्रतिष्ठामा आँच आउन सक्ने उनीहरूको टिप्पणी छ ।

यसअघि प्रचण्ड छिमेकी देश भारत भ्रमणमा त्यहाँको सत्तारुढ दल भाजपाकै निमन्त्रणमा गएका थिए । तर, त्यहाँ तीन दिन बस्दा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न समय पाउन सकेका थिएनन् । तर, पनि उनले आफूलाई भारतले बहालवाला प्रधानमन्त्रीजस्तै सम्मान गरेको भन्दै खुशी व्यक्त गरेका थिए । जापान भ्रमणमा त झन् उनले मन्त्री पनि भेट्न पाएनन् । विमानस्थलमा पनि प्रचण्डको स्वागतमा जापानी सरकारका कोही पनि प्रतिनिधि उपस्थित थिएनन् । कुनै उद्देश्य र एजेन्डाबिना घुम्नकै लागि आएका नेतालाई त्यहाँको सरकारले पुरै नजरअन्दाज गरेको देखियो ।

जापानमा रहेका माओवादी कार्यकर्ताले प्रचण्डलाई निम्त्याउनुको ठोस उद्देश्य पनि थिएन । मञ्चमा व्यक्तिहरूले भने प्रचण्डलाई रिझाउन विभिन्न कसरत गरेको देखियो । प्रचण्ड जापानमा घुम्दै गर्दा उनको एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भयो । जसमा जनप्रगतिशील मञ्चका अध्यक्षले प्रचण्डको कोट हातमा बोकेर हिँडिरहेका थिए । नेताको चाकडी गर्ने झोले कार्यकर्ताको शैली नेपालीहरूले जापानमा पनि पुर्‍याएको भनेर सामाजिक सञ्जालमा टिप्पणी भयो ।

प्रचण्ड जापान पुगे लगत्तै उनले दिएको अभिव्यक्ति पनि उनको यो भ्रमणको अर्को हाइलाइट्स बन्यो । प्रचण्डले विमानस्थलमा बोल्दै हालै हत्या भएका जापानी पूर्व प्रधानमन्त्री सिञ्जो आवे नेपालमा आउँदा आफूले दुई–तीन पटक कुरा गरेको बताएका थिए । जबकि आवे नेपाल कहिल्यै आएका थिएनन् ।

प्रचण्डको जापान भ्रमणका सन्दर्भमा सचिवालयले जारी गरेको विज्ञप्ति यस्तो छ :

हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा नेपाल सरकारका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही २०७९ साउन २१ गतेदेखि २५ गतेसम्म जापानको भ्रमण सफलतापूर्वक सम्पन्न गर्नुभएको छ । उहाँ नेपाली जनप्रगतिशील मञ्च, जापानको निमन्त्रणामा जापानमा आयोजित विभिन्न कार्यक्रमहरूमा सहभागी बन्नुभएको थियो । अध्यक्ष कमरेड प्रचण्ड आफ्नो भ्रमण टोलीसहित राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानमार्फत श्रावण २० गते राति जापान प्रस्थान गर्नुभएको थियो भने नेपाल एयरलाइन्सकै विमानमार्फत स्वदेश फर्किनु भएको छ ।

अध्यक्ष कमरेड प्रचण्डले जापान भ्रमणका क्रममा विभिन्न राजनीतिक तथा सामाजिक कार्यक्रममा सरिक हुनुका साथै कृषि, विज्ञान प्रविधि, पर्यटन प्रवर्द्धन, पुनर्निर्माण र पूर्वाधार विकासमा क्षेत्रमा जापानले गरेका प्रगति र विकासको अभिरुचिपूर्वक अवलोकन गर्नुभयो ।

१. २०७९ श्रावण २१ गते (अगष्ट ६, २०२२) को बिहान जापानको टोकियोस्थित नारिता विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले आफू नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणा र कार्यक्रममा जापान आएको र जापान बसाइँको क्रममा जापानको विकास र समृद्धिलाई नजिकबाट अनुभूत गर्ने र केही राजनैतिक भेटघाटमा समेत सहभागी बन्ने बताउनु भयो । सोही दिन विमानमार्फत फुकुओका पुगेको अध्यक्ष कमरेडले पहिलो कार्यक्रमको रूपमा जापानको फुकुओकामा गैह्र आवासीय नेपालीद्वारा आयोजना भएको नेपाल फेष्टिबल सेरेमोनीमा सहभागी बन्नु भयो र प्रमुख अतिथिका रूपमा समारोहको समुद्घाटन गर्नुभयो । सोही दिन अध्यक्ष कमरेडले जापानको एक प्रमुख व्यापारिक शहर ओशाका पुगी नेपाली समुदायका अगुवाहरूसँग भेटवार्ता एवं कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

२. २०७९ श्रावण २२ गते (अगष्ट ७, २०२२) का दिन बिहान अध्यक्ष कमरेडले दोस्रो विश्व युद्धमा आणविक बमले ध्वस्त पारिएको हिरोसिमा शहरमा अवस्थित शान्ति स्मृति संग्रहालयको अवलोकन गर्नुका साथै युद्ध पछिको पुनर्निर्माणका बारेमा जानकारी लिनुभयो । सोही दिन साँझ नेपाली जनप्रगतिशील मञ्च, जापानले टोकियोमा आयोजना गरिएको ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नुभयो ।

३. २०७९ श्रावण २३ गते (अगष्ट ८, २०२२) का दिन बिहान अध्यक्ष कमरेड प्रचण्डले साइतमा प्रान्तीय सरकारको कृषि व्यवसाय प्रवर्द्धन विभाग अन्तर्गतको कुरौसु अर्किड लिमिटेडको अर्किड नर्सरी अवलोकन गर्नुभयो । सो अवसरमा उहाँले कृषिलाई आधुनिकीकरण, वैज्ञानिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण गर्दै नेपाली अर्थतन्त्रलाई सबल बनाउन आवश्यक भएको बताउनुभयो । अध्यक्षले त्यसका लागि कृषिमा आधारित उद्योगहरूको प्रवर्द्धन र विकास गर्न जापानको वैज्ञानिक र आधुनिक प्रविधिको अनुशरण गर्न चाहेको बताउनुभयो । उक्त अवलोकन भ्रमणमा जापानका लागि नवनियुक्त नेपाली राजदूत दुर्गाबहादुर सुबेदीको पनि उपस्थिति रहेको थियो ।

सोही दिन दिउँसो जापान भ्रमणमा रहनुभएका अध्यक्ष प्रचण्डले जापानी संसद् ‘डायट’ को अवलोकन गर्नुका साथै जापानी संसदीय प्रणालीको विशेषता र राजनीतिक दलहरूको स्थितिको जानकारी लिनुभयो । ‘डायट’ मा सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका प्रभावशाली नेता तथा सांसद सदस्य मासाकी तायराले अध्यक्ष कमरेडको स्वागत गर्नुको साथै संसद्को अवलोकन गराउनुभयो ।

सोही दिन बेलुका अध्यक्ष कमरेडले नेपाली जनप्रगतिशील मञ्च, जापानका अगुवा कार्यकर्ताहरूसँग छलफल तथा अन्तर्संवाद गर्नुभयो । अध्यक्ष प्रचण्डले प्रवासी नेपालीहरूको श्रम, सीप र पूँजीलाई देश निर्माणमा खर्चिन सरकार एवं पार्टीको तर्फबाट आवश्यक वातावरण निर्माण गरिने बताउँदै त्यसको लागि तयार रहन आव्हान गर्नुभयो ।

४. २०७९ श्रावण २४ गते (अगष्ट ९, २०२२) का दिन बिहान अध्यक्ष कमरेड प्रचण्डले नेशनल इन्स्टिच्यूट अफ इम्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी को अवलोकन भ्रमण गर्नुभयो । जापान सरकारको पूर्ण स्वामित्वमा रहेको उक्त अनुसन्धान केन्द्रको भ्रमणको क्रममा अध्यक्ष कमरेडले विभिन्न विद्याका विषय विज्ञ, डाक्टरहरू तथा अनुसन्धानकर्ताहरूको टिमबाट जापान सरकारले विज्ञान प्रविधि र सूचना प्रविधिका क्षेत्रमा गरेको अत्याधुनिक विकासको बारेमा जानकारी लिनुका साथै दुई देशका बीचमा विकसित प्रविधिको आदानप्रदानका विषयमा छलफल पनि गर्नुभयो । सोही दिन दिउँसो नेपाली समुदायद्वारा राजधानी टोकियोमा सञ्चालित नेपाली विद्यालयहरू एभरेष्ट इन्टरनेशनल स्कूल र हिमालय इन्टरनेशनल स्कूलका कार्यक्रममा सहभागी हुनुभयो । नेपाली समुदायले विदेशमा रहेर पनि शिक्षाको माध्यमबाट नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्नुको साथै नयाँ पुस्तालाई नेपालको राष्ट्रिय भावना जागृत गर्न योगदान गरेको भन्दै प्रशंसा गर्नुभयो ।

सोही दिन अपराह्न ४ बजे अध्यक्ष कमरेड प्रचण्ड र लिबरल डेमोक्रेटिक पार्टी जापानका पूर्व महासचिव, वरिष्ठ नेता, पूर्व अर्थ, व्यापार र उद्योग मन्त्री संसद् सदस्य एवं नेपाल(जापान संसदीय समितिका सभापति तोसिहिरो निकाइ बीच एलडिपि हेडक्वाटर टोकियोमा भेटवार्ता भयो । प्रतिनिधि मण्डल स्तरीय भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरूको आदानप्रदान गर्ने, जनस्तरको सम्बन्धलाई विस्तार गर्ने, स्थानीय सरकार र नगरहरूको बीचमा भगिनी सम्बन्ध स्थापना गर्ने, नेपालको कृषि, पर्यटन, जलविद्युत, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा जापान सरकारको सहयोगलाई अझ विस्तार गर्दै जाने लगायतका विषयमा छलफल भएको थियो । उक्त भेटवार्ताले नेपाल(जापान सम्बन्धलाई थप मजबुत बनाउन र दुई देश बीचको राजनीतिक तथा कूटनैतिक तहमा हुने संवादलाई विकसित गर्न मद्दत पुर्‍याएको छ । उक्त भेटवार्तामा नेता निकाईले अरू थप ३ जना सांसद सदस्यहरूको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो भने अध्यक्ष कमरेड प्रचण्डको प्रतिनिधिमण्डलमा जापानका लागि नवनियुक्ति नेपाली राजदूत दुर्गाबहादुर सुवेदी पनि सहभागी बन्नुभएको थियो ।

साँझ टोकियोस्थित नेपाली दूतावासले उहाँको सम्मानमा आयोजित रात्रीभोजमा सरिक भई जापानका राजनीतिक नेताहरू, कूटनीतिज्ञ, प्रशासकहरू र समाजका विभिन्न क्षेत्रका अगुवाहरु, नेपाली समुदायका अगुवा प्रतिनिधिहरू सम्मिलित कार्यक्रमलाई सम्बोधन गर्नुभयो । नेपाल र जापान बीचको ऐतिहासिक एवं सांस्कृतिक सम्बन्धको चर्चा गर्दै भूकम्प पछिको पुनर्निर्माण, कोभिड नियन्त्रण लगायत नेपालको विकासमा जापानले गरेको सहयोग प्रति आभार प्रकट गर्नुभयो । र, आगामी दिनमा नेपालका प्राथमिकतामा जापान सरकारको सहयोगका लागि आव्हान गर्नुभयो ।

सोही दिन राती नेपाली समुदायका र जापानी पत्रकार समेतको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष कमरेड सहभागी हुनुभयो । पत्रकारहरूको प्रश्नको जवाफ दिदैं अध्यक्ष कमरेडले आफ्नो जापान भ्रमणबाट सन्तुष्ट भएको, भ्रमण सफल रहेको र आफूले जापानबाट केही सिकाई र ऊर्जा लिएर फर्किन थालेको बताउनु भयो ।

५. २०७९ श्रावण २५ गते (अगष्ट १०, २०२२) का दिन बिहान अध्यक्ष कमरेड प्रचण्डले टोकियोस्थित नेपाली दूतावासको अवलोकन गर्नुभयो । सो क्रममा राजदूत दुर्गाबहादुर सुवेदीले दूतावासले गरिरहेका कामको चर्चा गर्दै जनसेवाका लागि स्थान तथा जनशक्ति अभाव जस्ता दूतावासले भोगिरहेका समस्याहरू बारे जानकारी गराउनुभयो । पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दलको प्रमुख नेता हुनुको नाताले समस्या समाधानको लागि आशावादी रहेको निवेदन गर्नुभयो भने अध्यक्ष कमरेडले जापानमा बस्ने नेपालीहरूको समस्या समाधानमा तदारुकताका साथ लागिपर्न निर्देशन गर्दै आफू काठमाडौं फर्किएपछि प्रधानमन्त्री तथा सम्बन्धित विभागीय मन्त्रीसँग समस्या समाधानका निम्ति छलफल गर्ने बताउनुभयो ।

अध्यक्ष कमरेड प्रचण्ड आफ्नो पाँच दिने जापान भ्रमण सफलतापूर्वक पुरा गरी स्वदेश फर्किनुभएको छ । भ्रमण सफलताका लागि सहयोग पुर्‍याउनु हुने हाम्रो पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु, लिबरल डेमोक्रेटिक पार्टी जापान तथा जापानका राजनैतिक दलका माननीय ज्यूहरू, नेपाल सरकारको राजनैतिक तथा प्रशासनिक नेतृत्व, परराष्ट्र मन्त्रालय, जापानका लागि नेपाली राजदूत तथा दूतावास परिवार, नेपाली जनप्रगतिशील मञ्च जापानका सम्पुर्ण नेता कार्यकर्ता साथीहरू, जापानमा रहनुहुने सम्पुर्ण नेपाली समुदायका अगुवा तथा शुभेच्छुकहरु, नेपाल, जापान तथा विश्वभर रहेर खबर सम्प्रेषण गर्ने पत्रकार मित्रहरू, नेपाल र नेपालीको भलाई चाहने मित्रहरू तथा सम्पुर्ण देशभक्त नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ ।

-प्रचण्डको सचिवालय


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर