मन्त्री पौडेलको दाबी : वामपन्थी दलमध्ये माओवादी केन्द्र पहिलो पार्टी बन्छ – Nepal Press

मन्त्री पौडेलको दाबी : वामपन्थी दलमध्ये माओवादी केन्द्र पहिलो पार्टी बन्छ

हेटौँडा । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले नेकपा माओवादी केन्द्र वामपन्थीमध्येको पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

पार्टीको स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री पौडेलले आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनपछि माओवादीले देशको वामपन्थी पार्टीहरुको लिड गर्ने दाबी गरे ।

प्रेस सेन्ट मकवानपुर समन्वय समितिले आज हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले यो पटक माओवादी वर्तमान गठबन्धनबाटै निर्वाचनमा होमिने बताए ।

एमालेसँगको गठबन्धनबारे अहिलेसम्म औपचारिक कुराकानी नभएको भन्दै उनले निर्वाचन मिति घोषणा भइसकेको सन्र्दभमा नयाँ गठवन्धन बनाउने काम तिर नलाग्ने, वर्तमान गठबन्धनमा नै समावेश भएर निर्वाचन लड्ने उनको भनाई छ ।

यो गठबन्धन “सिस्टम” निर्माणको लागि बनेको भन्दै उनले भने ‘हामीलाई सत्ताको लागि गठवन्धन बनायो भन्ने आरोप छ, तर यो गठबन्धन सिस्टम निर्माणको लागि हो, तसर्थ तीन तहको नयाँ सरकार स्थापना नभै टुट्ने कुरै भएन् ।’

मन्त्री पौडेलले अहिलेको सरकारलाई परमादेश भन्ने एमालेको धारणा गलत रहेको बताए । उनले भने ‘उसो भए त नेकपा एमाले र माओवादी केन्द्र पनि त अदालतको आदेशबाट पुनःस्थापित भएका हुन् नि, एमाले र माओवादी पनि परमादेशबाट बनेको पार्टी हो ।’

अहिले समाजवादी केन्द्र बन्ने सम्भावना धेरै नरहेको भन्दै पौडेलले समाजवादी केन्द्र बन्ने कुरा सोच राम्रो भएपनि व्यवहारमा उतार्न समस्या रहेको उल्लेख गरे । विचार नमिलेसम्म एकता हुँदा नेकपाको हालत हुने भएकोले हतार गरिहाल्ने पक्षमा माओवादी केन्द्र नरहेको उनले बताए ।

आगामी मंसिर ४ गते हुने निर्वाचनलाई भयरहित तथा शान्तिपूर्ण ढंगबाट सञ्चालन गर्न सरकार लागिपरेको भन्दै उनले निर्वाचनका कामहरु अघि बढिसकेको दाबी गरे । निर्वाचनलाई केन्द्रमा राखेर सरकारले गतिविधिहरु अघि बढाईसकेको भन्दै मन्त्री पौडेलले सरकारको यो महत्वपूर्ण जिम्मेवारीलाई विवादरहित गहन ढंगबाट पुरा गर्ने बताए ।

त्यस्तै, उनले फरक प्रसंगमा नेपालको शिक्षा क्षेत्रको क्रान्तिकारी परिवर्तनको लागि सरकारले आवश्यक काम गरिरहेको भन्दै मन्त्री पौडेलले शिक्षालाई सिप र रोजगारसँग जोडने गरि काम भैरहेको जानकारी दिए । उच्च शिक्षा हाँसिल गर्न भर्ना हुनपूर्व कम्तीमा ३ महिनाको इन्र्टन कक्षाको व्यवस्था गर्ने काम सुरुवात गरिने उनको भनाई थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर