कांग्रेस दार्चुलाका पूर्वसभापति चन्द कांग्रेस (बिपी) मा प्रवेश – Nepal Press

कांग्रेस दार्चुलाका पूर्वसभापति चन्द कांग्रेस (बिपी) मा प्रवेश

डडेल्धुरा । नेपाली कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति मानबहादर चन्द कांग्रेस (बिपी)मा प्रवेश गरेका छन् । वुधबार कांग्रेस (बिपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

हाल कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडा बस्दै आएका चन्द पार्टी प्रवेश गर्न कांग्रेस बिपी जिल्ला कार्यसमितिको पार्टी कार्यालय किसुनजी भवनमा पुगेका थिए ।

चन्दले २०२९ सालमा नेविसंघबाट राजीनीतिक यात्रा सुरु गरेका थिए । २०३६ सालमा कांग्रेसमा सक्रिय भई बहुदलको प्रचारप्रसारमा लागेका थिए । उनी २०४६ सालको जनआन्दोलमा जेलसमेत परेका थिए ।

२०४७ सालमा दार्चुलामा कांग्रेसको संगठन विस्तार गरी जिल्ला सभापति बनेका उनी २०४८ सालको प्रतिनिधिसभाको चुनावमा स्वतन्त्र उम्मेदवारसँग झिनो मतान्तरले पराजित भएका थिए ।

प्रजातन्त्र प्राप्तपछि २०४९ सालमा पहिलो जननिर्वाचित जिल्ला विकास समितिको सभापति बनेका चन्द २०५९ सालमा कांग्रेस प्रजातान्त्रिक दार्चुला सभापतिसमेत भएका थिए ।

तर, कांग्रेसको विचलन तथा कार्यशैलीप्रति असहमत रहँदै पछिल्लो समय उनी निष्क्रिय रहेका थिए । बिपी कोइरालादेखि कृष्णप्रसाद भट्टराईसम्मको सिद्धान्तसँग सहमत भई नेपाली कांग्रेस बिपीको विधान आत्मसात गरी आवद्धता जनाएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *