सिन्धुपाल्चोक २- गठबन्धनले रोक्न सक्ला शेरबहादुरको ह्याट्रिक ? – Nepal Press

सिन्धुपाल्चोक २- गठबन्धनले रोक्न सक्ला शेरबहादुरको ह्याट्रिक ?

सिन्धुपाल्चोक । राजधानीबाट नजिकै रहेको सिन्धुपाल्चोकमा प्रतिनिधिसभाको २ र प्रदेशसभाको चार सीटका लागि राजनीतिक दलहरुबीच चुनावी प्रतिस्पर्धा हुनेछ । क्षेत्र नम्बर १ मा प्रमुख तीन दलका ‘हेभी वेट’ नेताको क्षेत्र रहेका कारण सधैं चर्चामा हुने गर्दछ र योपटक पनि चुनावको मिति घोषणा हुनुअगाडि नै यो क्षेत्र चर्चामा रह्यो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कांग्रेस केन्द्रीय समितिको बैठकमै आफ्नो क्षेत्रमा कोहीसँग गठबन्धन नगर्ने र आफ्नो क्षेत्र अरुलाई छाड्नुपरे विद्रोह गर्ने चेतावनी दिए । उनको चेतावनीपछि जिल्लाको राजनीतिमा तरंग नै उत्पन्न भयो ।

क्षेत्र नम्बर १ मा सभामुख अग्निप्रसाद सापकोटा, कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल र केन्द्रीय सदस्य सरेश नेपाल जस्ता ‘हेभी वेट’ नेताहरु भएकाले पनि यो क्षेत्र हरेक निर्वाचनमा बढी चर्चा हुने गर्दछ ।

क्षेत्र नम्बर १ जस्तै २ पनि प्रमुख दलका हेभीवेट नेताहरुकै क्षेत्र हो । राप्रपा नेता पशुपतिशमशेर राणा, एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, माओवादी केन्द्रीय सदस्य युवराज दुलालदेखि राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका पूर्वमन्त्री विष्णुविक्रम थापाको क्षेत्र यही हो । त्यस्तै पूर्वसासंद सुवास कर्माचार्यको क्षेत्र पनि यही हो ।

पञ्चायतदेखि बहुदलीय व्यवस्थाका धेरै निर्वाचनमा यो क्षेत्रबाट राप्रपा नेता पशुपतिशमशेर राणााले जित्दै आएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा भने यो क्षेत्रबाट पहिलोपटक राप्रपा अध्यक्षसमेत रहेका राणालाई हराए तत्कालीन माओवादी उम्मेदवार दावा तामाङले ।

त्यसपछि संविधानसभाको अर्काे निर्वाचनमा एमाले नेता शेरबहादुर तामाङले पुनः राणालाई हराए भने एमाले र माओवादीबीच गठबन्धनबाट २०७४ को प्रतिनिधिसभा निर्वाचनमा राप्रपा नेता राणालाई तामाङले नै दोस्रोपटक हराए ।

२०६४ देखिको निर्वाचनमा राणाले हारमा ‘ह्याट्रिक’ गरिसकेका छन् भने एमाले स्थायी कमिटी सदस्य तामाङ अब मंसिर ४ मा हुने निर्वाचनमा यो क्षेत्रबाट चुनाव जितेर ‘ह्याट्रिक’ हुने दाउमा छन् ।

यस्तो छ स्थानीय चुनावको मत परिणाम

सिन्धुपाल्चोक प्रतिनिधिसभा २ मा चौतारा साँगाचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका, हेलम्बु, पाँचपोखरी थाङपाल र इन्द्रावती गाउँपालिका गरी ५ स्थानीय तहका ४९ वडाहरु रहेका छन् ।

भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा पाँचपोखरी थाङपाल गाउँपालिका र इन्द्रावती गाउँपालिका एमालेले जितेको छ । चौतारा साँगाचोकगढी नगरपालिका माओवादी र मेलम्ची नगरपालिकामा प्रमुखसहित केही वडा कांग्रेसले जितेको छ ।

स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत हेर्दा यो क्षेत्रमा एमाले अगाडि छ । त्यसपछि क्रमशः कांग्रेस, माओवादी, राप्रपा र समाजवादी रहेका छन् ।

वडाध्यक्षले पाएको मतअनुसार एमाले ३१ हजार ७७७, कांग्रेस २९ हजार ३०२, माओवादी १६ हजार ७९, राप्रपा ५ हजार ९३२ र समाजवादीको १ हजार ६६३ मत रहेको छ ।

माओवादीले चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर र ५ वटा वडा तथा इन्द्रावती गाउँपालिकामा दुई वडाध्यक्ष जितेको छ । समाजवादीले चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख र एउटा वडामा चुनाव जितेको छ । समाजवादीले माओवादीसँग गठबन्धन गरेर उपप्रमुख र वडा अध्यक्षमा जीत हासिल गरेको थियो ।

नेपाली कांग्रेसले हेलम्बुमा अध्यक्ष, उपाध्यक्ष र ५ वटा वडा जितेको छ । हेलम्बुमा एमालेले दुइटा वडामात्रै जितेको छ । त्यस्तै मेलम्ची नगरपालिकामा कांग्रेसले मेयर र ७ वटा वडा तथा एमालेले उपमेयर र ६ वटा वडा जितेको थियो ।

पाँचपोखरी थाङपाल गाउँपालिकामा एमालेले अध्यक्ष, उपाध्यक्ष र ६ वटा वडा, राप्रपा र कांग्रेसले एकएक वटा वडा जितेका छन् । इन्द्रावती गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित एमाले र कांग्रेसले जितेको छ ।

एकलमा एमाले अगाडि, मिल्दा गठबन्धन

केन्द्रमा पाँच दलको गठबन्धन भए जस्तै यो क्षेत्रमा प्रमुख तीन दलबीच गठबन्धन हुँदा एमालेमाथि भारी पर्नेछ । किनभने कांग्रेस, माओवादी र समाजवादीको मत जोड्दा ४७ हजार देखिन्छ । एमाले एक्लैको मत जम्मा ३१ हजार छ ।

राप्रपासँग एमालेको सहकार्य भयो भने मत केही बढ्छ । तर, गठबन्धनलाई जित्ने अवस्था रहन्न । स्थानीय निर्वाचनको मतलाई आधार मान्दा यो अवस्था देखिए पनि आउने चुनावमा मतहरु अदलबदल हुँदा कसले बाजी मार्छ यसै भन्न सकिने अवस्था छैन ।

क्षेत्र नम्बर १ मा जस्तै २ पनि कांग्रेस एक्लै चुनाव लड्ने मनस्थितिमा छ । बरु समाजवादीसँग सहकार्य गर्न कांग्रेस इच्छुक देखिएको छ । तर, माओवादीसँग गठबन्धन गर्न ऊ इच्छुक छैन । कांग्रेस माओवादीसँग गठबन्धन गर्न इच्छुक नहुनुको कारण क्षेत्र नम्बर १ माओवादीलाई छाड्नुपर्ने भय हो । कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत क्षेत्र नम्बर १ छोड्न तयार छैनन् ।

बस्नेत माओवादीसँग गठबन्धन गर्नैपर्ने भए क्षेत्र नम्बर १ कांग्रेस र २ माओवादीलाई दिनुपर्ने अडानमा छन् । तर, बस्नेतको अडानले मात्रै निर्णय नहुने कांग्रेसका एक नेताले बताए ।

सभामुख अग्निप्रसाद सापकोटा पुनः चुनावमा उठ्ने चर्चा छ । यदि सापकोटा निर्वाचनमा उठ्ने हो भने कांग्रेस र माओवादी दुवैका केन्द्रीय नेतृत्वले उनकाे लागि क्षेत्र नम्बर १ पक्का गर्नेछन् ।

‘सभामुख सापकोटाले अहिलेको गठबन्धनलाई धेरै सहयोग गर्नुभएको छ । त्यो कारणले पनि सापकोटा उठ्ने सवालमा उहाँकै पक्षमा टिकट आउँछ’, कांग्रेसका ती नेताले भने ।

राप्रपा नेता पशुपति शमशेर राणाले यो चुनावमा उम्मेदवार हुने नहुने बारेमा मुख खोलेका छैनन् । यद्यपि उनका निकटस्थहरुले भने अन्तिम पटकका लागि राणा पुनः मैदानमा आउनसक्ने बताएका छन् ।

माओवादीबाट यो क्षेत्रमा हालका प्रदेशसभा सदस्य युवराज दुलाल र कांग्रेसबाट विष्णुविक्रम थापाको पनि चर्चा छ । त्यस्तै समाजवादीका केन्द्रीय सदस्य सुवास कर्माचार्य भने गठबन्धन हुँदा प्रदेशसभामै थन्किने निश्चित छ ।

 याे पनि पढ्नुहाेस् 

चर्चामा मोहन बस्नेतको विद्रोहको धम्की, यस्तो छ सिन्धुपाल्चोकमा उनको शक्ति


प्रतिक्रिया

One thought on “सिन्धुपाल्चोक २- गठबन्धनले रोक्न सक्ला शेरबहादुरको ह्याट्रिक ?

  1. ‘सभामुख सापकोटाले अहिलेको गठबन्धनलाई धेरै सहयोग गर्नुभएको छ । त्यो कारणले पनि सापकोटा उठ्ने सवालमा उहाँकै पक्षमा टिकट आउँछ’, कांग्रेसका ती नेताले भने ।
    माथिकै एक हरफको कपि पेस्ट हो यो । सभामुखले गठबन्धनलाई धेरै सहयोग गर्नु भनेको के हो ? गठबन्धनका नेताले जे भन्यो त्यहि मान्नु हैन ? अर्थात सभामुखले निश्पक्ष भुमिका निर्वाह नगर्नु हैन ? १४ सांसद हटाउने एमाले संसदिय दलको पत्रमाथिको कार्वाही , प्रतिपक्ष फेरिएपछि त्यहि अनुसार संसदिय समितिहरु पुनर्गठनमा अरुचि , महाभियोग प्रकरण , ओलि हुंदा एमसिसि प्रस्तुत नगर्ने तर शेर बहादुर आए पछि हुने आदि आदि त होलान ।अनि के यस्ता हर्कत भोट पाउन लायक हर्कत हुन कि डांडो कटाउन लायक ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर