एक करोड बढी चोरीको आरोप लागेकाहरू १०–१० हजार धरौटीमा छुटे, प्रहरीले थप रकम बुझ्यो – Nepal Press

एक करोड बढी चोरीको आरोप लागेकाहरू १०–१० हजार धरौटीमा छुटे, प्रहरीले थप रकम बुझ्यो

कैलाली । भारतको पन्जाबबाट करोड बढीको सुन चोरीको आरोपमा पक्राउ परेकाहरू १०-१० हजार धरौटीमा छुटेका छन् । करिब डेढ महिना पहिले भारतबाट एक करोड बढीको सुनचाँदी चोरी गरेको आरोपमा पटक पटक गरि ६ जना पक्राउ परेका थिए । पहिलो चरणमा धनगढी र अत्तरियाबाट ३ जना पक्राउ परेका थिए । उनीहरु मध्ये केही सुनचाँदी व्यापारी र केही भारतबाट चोरी गरि ल्याएका व्यक्ति भएको प्रहरीले अनुमान गरेको थियो । उनीहरुको नाम ठेगाना भने प्रहरी सार्वजनिक गरेको थिएन ।

उनीहरूकै बयानको आधारमा प्रहरीले काठमाडौँको त्रिभुवन विमानस्थलबाट मुम्बई जान लाग्दा जहाज रोकेर धनगढीका सुनचाँदी व्यापारी सन्तोष लामिछानेलाई पक्राउ गरेको थियो । उनी नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष पनि हुन् । त्यसपछि पनि प्रहरीले बैतडीबाट २ जना पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाएको छ।

यसरी पटक पटक गरि एक करोड बढीको गर गहना चोरी गरि पक्राउ परेका ६ जना १०-१० हजार धरौटीमा छुटेका हुन् । भारतबाट गर गहना चोरी मुद्धामा पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीले अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गरिरहेको थियो । उनीहरु पक्राउ परे पनि उनीहरुले चोरेर ल्याएका गर गहना भने प्रहरीले फेला पार्न सकेको थिएन । तर, पक्राउ परेकाहरूले अपराध स्वीकार गरेको केन्द्रीय प्रहरीको उच्च स्रोतले जनाएको छ । तर, भारतबाट चोरी भएको परिवार र यहाँ चोरी आरोपमा पक्राउ परेकाहरूको रकम भने मिलेको छैन ।

प्रहरी केन्द्रीय उच्च स्रोतका अनुसार भारतका पीडितहरूले पनि प्रहरीसँग यस बिषयमा सम्पर्कमै रहेका छन् । उनीहरूलाई चोरी भएको केही रकम दिने गरि प्रहरीले घटनालाई रफादफा गर्ने प्रयास गरेको हो । यहि क्रममा पक्राउ परेकाहरूले केही रकम प्रहरीलाई पीडितलाई बुझाउने भन्दै बुझाएको स्रोतको दाबी छ । तर, उनीहरुले कति रकम बुझाए भन्ने बारे प्रहरीले गोप्य राखेको छ ।

‘भारतका चोरी भएको गरगहनाको केही रकम उनीहरुले पाउने भएपछि प्रहरीले यो मुद्दालाई कमजोर बनाएको हो,’ स्रोतले भन्यो ‘अहिले चोरीको आरोप लगाएकाहरूले प्रहरीलाई रकम बुझाइसकेका छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *