संस्कृत विश्वविद्यालयमा नेविसंघले लगाएको ताला खोल्न उच्च अदालतको अन्तरिम आदेश – Nepal Press

संस्कृत विश्वविद्यालयमा नेविसंघले लगाएको ताला खोल्न उच्च अदालतको अन्तरिम आदेश

रुपन्देही । नेपाल विद्यार्थी संघले तीन महिनादेखि दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाएको ताला खोल्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश जारी गरेको छ ।

तालाबन्दीले पठनपाठनमा असर पुगेको भन्दै ताला खोल्न आदेश दिइएको छ । तालाबन्दीका विरुद्धमा अधिवक्ता कुलबहादुर डाँगीले मुद्दा दर्ता गरेका थिए ।

उच्च अदालतकी मुख्य न्यायाधीश निता गौतम दीक्षित र न्यायाधीश बबिता उप्रेतीको संयुक्त इजलासले आइतबार ताला खोल्न आदेश दिएको हो । नेपाल विद्यार्थी संघले विभिन्न १४ बुँदे माग राख्दै वैशाख १९ गतेदेखि तालाबन्दी गरेको थियो ।

तालाबन्दीपछि विश्वविद्यालय र नेविसंघबीच पटक–पटक वार्ता पनि भयो । तर नेविसंघले आफ्नो सम्पूर्ण माग पूरा नभएसम्म तालाबन्दी नखोल्ने अडान लिँदै आएको थियो । १४ बुँदे मागमध्ये ११ बुँदामा भने सहमति जुटिसकेको छ ।

‘तालाबन्दीले पठनपाठन अवरुद्ध भई विद्यार्थीको भविष्यमा समेत असर पुग्न गएको देखिएकाले निवेदनको टुंगो नलागेसम्म तालाबन्दी खोली दैनिक कार्य सञ्चालन र पठनपाठन कार्यमा अवरुद्ध नगर्नु’ आदेशमा भनिएको छ ।

मुद्दामा अधिवक्ता पुष्कर बहादुर भण्डारीले बहस गरेका थिए भने विपक्षी नेपाल विद्यार्थी संघ संस्कृत विश्वविद्यालय संघर्ष समितिको तर्फबाट अधिवक्ता भूपबहादुर केसीले बहस गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर