नासु आन्दोलन परराष्ट्रमा पनि पुग्यो, संघर्ष समिति गठन – Nepal Press

नासु आन्दोलन परराष्ट्रमा पनि पुग्यो, संघर्ष समिति गठन

काठमाडौं । नायब सुब्बा बचाउन आन्दोलन परराष्ट्र मन्त्रालयमा पनि पुगेको छ । मन्त्रालयका नायब सुब्बाहरूले संघर्ष समिति गठन गर्दै आन्दोलनको सुरुआत गरेका हुन् ।

परराष्ट्र मन्त्रालय आधिकारिक ट्रेड युनियनका अध्यक्ष रमेश गैह्रेको संयोजकत्वमा गठित ७ सदस्यीय संघर्ष समितिमा मन्त्रालय, राहदानी विभाग तथा कन्सुलर सेवा विभागमा कार्यरत नायब सुब्बाहरू सदस्य रहेका छन् । सदस्यहरूमा कुलचन्द्र अर्याल, भोजकुमार भट्टराई, गीता घिमिरे, दीपक शर्मा, सुरज अम्गाइँ र दिपराज जोशी छन् ।

संघर्ष समितिले नायब सुब्बा बचाउ आन्दोलनमा परराष्ट्र मन्त्रालयका नायब सुब्बाहरूको तर्फबाट समन्वय बताइएको छ । परराष्ट्र सेवामा कार्यरत नायब सुब्बा तहका कर्मचारीहरूको वृत्ति विकासको अवस्था अत्यन्तै दयनीय भएकाले नायब सुब्बाबाटै अवकाश पाउने अवस्था रहेको र वैदेशिक तालीम तथा भ्रमणमा नायब सुब्बा तहका कर्मचारीहरूमाथि विभेद हुने गरेको उनीहरुको भनाई छ ।

यस्तै, नियोग तथा मन्त्रालयमा रहेका दरबन्दीको अनुपात नमिल्दा सुब्बाहरूलाई नियोग सरुवामा लामो समय लाग्ने गरेको, नायब सुब्बाहरूको वैदेशिक भत्ता अत्यन्त न्यून हुनुका साथै सन्ततिहरूको शैक्षिक भत्तामा समेत असमानता रहेकोले आफ्ना हकहित र वृत्ति विकासका मागहरू पूरा गराउन संघर्ष समिति गठन गरिएको संयोजक गैह्रेले बताएका छन् ।

संघर्ष समितिले आफ्ना मागहरू पूरा गराउनका लागि परराष्ट्र मन्त्री तथा परराष्ट्र सचिवलाई ज्ञापन पत्र बुझाउनुका साथै आधिकारिक ट्रेड युनियन र अन्य पेशागत संगठनका पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम समेत तय गरेको छ ।

असमान तलब वृद्धि खारेज गरी समान रूपमा सबै दर्जाको तलब वृद्धि गर्नुपर्ने, राजपत्र अनंकित कर्मचारीहरूको समेत वृत्ति विकासको अवसर सुनिश्चित गरी संघीय निजामती सेवा ऐन जारी गर्नुपर्ने, निजामती सेवामा तहगत प्रणाली लागू गर्नुपर्ने लगायतका माग राखी देशभरका नायब सुब्बा तथा खरीदार तहका कर्मचारीहरू सोमबार देखि आन्दोलनमा छन् ।

आन्दोलन स्वरूप देशभरका नायब सुब्बाहरूले आज सामूहिक बिदा लिएका छन् । परराष्ट्र मन्त्रालयका नायब सुब्बाहरू पनि आज हाजिर नगरीकन मन्त्रालयमा भेला भई नायब सुब्बा बचाउ आन्दोलनमा सहभागी भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर