प्रत्यक्ष चुनावी मैदानमा डेब्युको तयारी गर्दै एमालेका युवा – Nepal Press

प्रत्यक्ष चुनावी मैदानमा डेब्युको तयारी गर्दै एमालेका युवा

काठमाडौं । ठाकुर गैरे र यज्ञराज सुनुवार २०६३ सालमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षका प्रतिस्पर्धी थिए । राष्ट्रिय सम्मेलनले गैरेलाई अध्यक्ष चुन्यो, पराजित भएका सुनुवार काठमाडौंबाट झोला बोकेर जन्मथलो ओखलढुंगा फर्किए ।

लगत्तै भएको २०६४ सालको पहिलो संविधानसभामा एमालेबाट उम्मेदवार बनेका सुनुवार थोरै मतले पराजित भए पनि त्यसपछिका दुइटा चुनावमा सानदार मतसहित संसद र संविधानसभामा पुगे । तर, उनलाई अखिल अध्यक्षमा हराउने ठाकुर गैरेले भने अहिलेसम्म चुनाव लड्ने मौकै पाएनन् ।

गुटमा सीटको बाँडफाँट हुँदा पाल्पा २ माधव नेपालका सम्धी सोमप्रसाद पाण्डेको भागमा परेका कारण पनि गैरे पछि परे । किनकि उनी पनि सोही गुटमा रहे । यसपटक भने ठाकुर गैरे सम्भवतः पहिलोपटक प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिँदैछन् । पाण्डे नेकपा एसमा लागेका कारण गैरेले पाल्पा २ बाट टिकट पाउन सक्छन् ।

गैरेमात्र होइन जनवर्गीय संगठन र पत्रकारिता क्षेत्रमा काम गरेर राष्ट्रिय छवि बनाएका एमालेका केही युवा नेता यसपालि पहिलोपटक प्रत्यक्ष चुनावको मैदानमा उत्रिने तयारीमा छन् । गठबन्धनको चुनौती सामना गर्दै प्रत्यक्ष चुनाव लड्ने चाहना राखेर युवा नेताहरुले लबिङ गरिरहेका छन् ।

ठाकुर गैरेभन्दा अगाडि अनेरास्ववियुको अध्यक्ष भएका खिमलाल भट्टराईले पनि अहिलेसम्म प्रत्यक्ष चुनाव लड्न पाएका छैनन् । हाल राष्ट्रियसभा सदस्य रहेका भट्टराई पार्टीले टिकट दिए रुपन्देही क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने तयारीमा छन् । तर, उनी पार्टीको तर्फबाट राष्ट्रियसभामा महत्वपूर्ण जिम्मेवारीमा रहेकाले सो ठाउँ रिक्त गर्न नहुने मत पनि छ ।

खिमलालभन्दा पहिले नै अखिल अध्यक्ष भएका रुपनारायण श्रेष्ठसँग पनि प्रत्यक्ष चुनाव लडेको खासै अनुभव छैन । २०५६ सालमा नेकपा एमाले फुटेको बेला नेकपा मालेबाट मोरङमा उम्मेदवार बनेका श्रेष्ठ हाल पार्टीको केन्द्रीय सदस्य छन् । उनी पनि मौका पाए काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा छन् ।

यीबाहेक अनेरास्ववियुकै पूर्वअध्यक्ष माधव ढुंगेल पनि प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन् । दुईपटक एमाले केन्द्रीय सदस्य भइसकेका ढुंगेलले यसअघि पहिलो पुस्ताका लागि छाडे पनि अब युवाको पालो भन्ने अभियान चलाएका छन् । उनी रामेछापबाट प्रतिनिधिसभा सदस्यको तयारीमा छन् । नयाँ पुस्तालाई जिम्मेवारी दिँदै नेतृत्व जाम हटाउनुपर्ने भनेर उनले नेताहरुलाई आफ्नो तयारीबारे बताइसकेका छन् ।

ढुंगेलपछि अखिल अध्यक्ष बनेकी नवीना लामा हाल समानुपातिकबाट प्रतिनिधिसभा सदस्य छिन् । उनी पनि अब प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन् । काभ्रे क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव लडेर प्रतिस्पर्धामा उत्रिने उनको चाहना नेताहरुसँग व्यक्त गरिसकेकी छन् । समानुपातिक सांसद बन्नेबाहेक उनीसँग स्वतन्त्र विद्यार्थी युननियनदेखि अखिलका हरेक चुनाव प्रत्यक्ष लडेरै जितेको अनुभव छ ।

नवीनापछि अखिल अध्यक्ष बनेका ऐन महर विद्यार्थी राजनीतिबाट बिदा भएसँगै गृहजिल्ला बझाङमै केन्द्रित छन् । एमाले केन्द्रीय सदस्यसमेत रहेका महरले पनि बझाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी गरिरहेका छन् । अधिकांश समय जिल्लामै बिताइरहेका उनी केन्द्रमा पहुँचका कारण पनि सर्वसाधारण तथा कार्यकर्ताबीच लोकप्रिय बनिरहेका छन् ।

हालैमात्र अनेरास्ववियुको उपाध्यक्षबाट बिदा भएका महेश बर्तौला मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका आकांक्षी हुन् । हाल एमालेको बागमती प्रदेश कमिटी उपसचिव रहेका बर्तौला दुईपटक मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापति भइसकेका लोकप्रिय युवा हुन् । उनले पनि अब युवाको पालो भन्दै आफ्नो तयारीबारे नेताहरुलाई जानकारी गराएका छन् ।

युवा संघका पूर्वमहासचिव निरज आचार्य पनि पहिलोपटक चुनावी मैदानमा उत्रिँदैछन् । २०५४ सालमा जिल्ला विकास समिति सदस्य भएका आचार्यले त्यसयता चुनाव लड्न पाएका छैनन् ।

युवा संघ अध्यक्षमा महेश बस्नेतसँग पराजित आचार्यले अघिल्लो चुनावमा प्रदेशसभाको टिकट पाए पनि खोसिएको थियो । यसपटक उनी जाजरकोटबाट प्रत्यक्ष निर्वाचनको तयारी गर्दैछन् ।

सञ्चार कर्मबाट चुनावी मैदानमा

पत्रकारिताबाट राष्ट्रिय छवि बनाएका सूर्य थापा, विष्णु रिजाल र सुवास देवकोटा पनि पहिलोपटक प्रत्यक्ष चुनावको तयारीमा छन् । थापा प्रेस चौतारीका सचिव हुँदै हाल एमालेको पोलिटव्युरो सदस्य छन् ।

प्यूठानबाट प्रत्यक्ष चुनावको तयारी गरिरहेका थापाले गठबन्धनसँग एक्लै भिडेर पनि एमालेलाई प्यूठानमा पहिलो पार्टी बनाएका छन् । लामो समय प्रचार विभाग उपप्रमुख र पर्यटन विभाग प्रमुख हुँदै पछिल्लो समय उनी जिल्ला इन्चार्जको भूमिका लिएर प्यूठानमा केन्द्रित छन् ।

त्यस्तै दुईपटक एमाले केन्द्रीय सदस्य भइसकेका प्रचार विभाग प्रमुख विष्णु रिजाल पनि अब जिल्लाबाटै प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन् । रिजाल अघिल्लोपटक प्रदेशसभा सदस्यमा सिफारिस भएका थिए । यसपटक दैलेख क्षेत्र नम्बर २ बाट उनी एमालेको सम्भावित उम्मेदवार हुन् ।

लामो समय व्यवसायिक पत्रकारितमा लागेर स्थापित सुवास देवकोटा पनि प्रत्यक्ष चुनावको तयारीमा रहेका एमालेका युवा नेता हुन् । दशौं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका देवकोटा सिन्धुलीबाट चुनावको तयारीमा छन् । सहिद ऋषि देवकोटा आजादका छोरा सुवास पछिल्लो समय जिल्लामै केन्द्रित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर