काठमाडौंका १० सीटमा गठबन्धनको बाँडफाँट, यी क्षेत्रमा हुनेछ माओवादीको दाबी – Nepal Press

काठमाडौंका १० सीटमा गठबन्धनको बाँडफाँट, यी क्षेत्रमा हुनेछ माओवादीको दाबी

काठमाडाैं । सत्ता गठबन्धनको सीट बाँडफाँटसम्बन्धी कार्यदलले देशभरको रिपोर्ट लिने क्रम चलिरहेका बेला मुलुकको राजधानी तथा सबैभन्दा बढी १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा पनि दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।

काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये गठबन्धनको दोस्रो घटक माओवादी केन्द्रले तीनवटा सीट दाबी गर्ने र कम्तिमा २ वटा निर्वाचन क्षेत्र प्रतिनिधिसभातर्फ र प्रदेशतर्फ २० मध्ये कम्तिमा ५ सीट दाबी गर्ने भएको छ ।

माओवादीले प्रतिनिधिसभातर्फ काठमाडौंको क्षेत्र नम्बर १, ३, ६ र ९ मध्येमा गठबन्धनभित्र छलफल गरेर आफूले कम्तिमा दुई सीट पाउनुपर्ने अडान लिने सम्भावना छ । माओवादी नेताहरुले स्थानीय चुनावको मतलाई मात्र काठमाडौंको सीट बाँडफाँटमा आधार बनाउन नहुने बताएका छन् ।

माओवादीका एक नेताले भने, ‘स्थानीय चुनावमा आम रुपमा गठबन्धनमा हामीमाथि धोखा भयो । हामीले कांग्रेसलाई इमानदार सहयोग गर्‍यौं । तर, कांग्रेसबाट कतै सहयोग भएन । गठबन्धन भनेर कतिपय ठाउँमा हामीले उम्मेदवार नै उठाएनौं । त्यसैले स्थानीय चुनावको मतलाई आधार बनाउन मिल्दैन ।’

माओवादीले काठमाडौंबाट स्थायी कमिटी सदस्य हितमान शाक्य तथा केन्द्रीय सदस्यहरु हिमाल शर्मा र अनिल शर्मालाई व्यवस्थापन गर्ने गरी प्रतिनिधिसभाको सीट बाँडफाँट गर्न चाहेको छ । शाक्यलाई काठमाडौं ९ मा उम्मेदवार बनाउने माओवादीको प्रयास छ ।

काठमाडौं १० मा माओवादीको वडागत आधारमा ५ हजार मत छ । तर, त्यहाँ कांग्रेसकै दावी बलियो भएकाले नेवार समुदायको सघन बसोबास रहेको ९ नम्बर क्षेत्रमा माओवादीको दाबी छ । यहाँ कांग्रेसले व्यवस्थापन गर्नैपर्ने हाई-प्रोफाइल नेतासमेत नभएकाले हितमानको लागि माओवादीले अडान लिनसक्छ ।

त्यस्तै काठमाडौं क्षेत्र नम्बर १ पनि माओवादीको रोजाइमा छ । हुन त यो क्षेत्रबाट लगातार तीन पटक कांग्रेसका प्रकाशमान सिंहले जित्दै आएका छन् । तर यसपटक प्रकाशमानले यो क्षेत्र छाडेर आफ्नै घर रहेको ७ नम्बर क्षेत्रबाट चुनाव लड्ने चर्चासमेत चलेका वेला युवा नेता अनिल शर्माको लागि माओवादीले सीट दाबी गरेको छ । क्षेत्र नम्बर १ मा प्रकाशमानलाई यसपटक कांग्रेस मिलाउनै सकस परेकाले ७ नम्बर सहज मानिएको छ ।

अनिल २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार थिए । त्यसवेला उनी भर्खरै विद्यार्थी राजनीतिबाट पार्टीमा लागेका र प्रचारप्रसारको समयसमेत कम भएकाले एमालेकै पूरा मत नपाएका कारण पराजित भएका थिए । चुनाव हारेपछि अनिलले काठमाडौं क्षेत्र नम्बर १ लाई आफ्नो आधार क्षेत्रका रुपमा लिएर काम गरेकाले उनी अहिले स्थापित छन् ।

विशेषगरी युवा पुस्ताबीच काम गरिरहेका अनिलले क्षेत्र नम्बर १ मा रमेश खरेल, रवीन्द्र मिश्रदेखि पुकार बमलगायतका स्वतन्त्र उम्मेदवारहरुको रिस्क लिनुभन्दा प्रकाशमानले सजिलै चुनाव जित्ने क्षेत्रमा गइदिए हुन्थ्यो भन्ने चाहना कांग्रेस नेताहरुसँग राखेका छन् । स्वतन्त्रको लहर रोक्न युवा भएका कारण र विवादमा नपरेका कारण अनिल गठबन्धनको बलियो उम्मेदवार हुनसक्ने कांग्रेसकै नेताहरु बताउँछन् ।

माओवादीले काठमाडौंमा अर्को रोजाइको क्षेत्र ३ नम्बरलाई पनि लिएको छ । सो क्षेत्रमा पार्टीका हेभीवेट नेता नभए पनि गठबन्धन हुँदा स्थानीय उम्मेदवार नै उठाएर वा माथिल्लो तहबाट नेतालाई लगेर उठाउन सकिने आँकलन छ ।प्रदेश कमिटी सचिवालय सदस्य तथा सोही क्षेत्रका इन्चार्ज महेश्वर फुयाल उम्मेदवारका दाबेदार हुन् ।

त्यस्तै काठमाडौं ६ पनि माओवादीको अर्को विकल्प छ । मापदण्डअनुसार अहिले कांग्रेसले नै जितेको क्षेत्र भएकाले ६ नम्बरमा उसले पाउन गाह्रो छ । माओवादीका युवा नेता तथा काठमाडौंका पूर्वअध्यक्ष हिमाल शर्माले अघिल्लो पटक नै वाम गठबन्धनबाट उम्मेदवार बन्न खोजेका थिए । तर, झक्कु सुवेदी उठेका कारण यहाँ माओवादी उम्मेदवार पराजित भए ।

यसपटक हिमाल शर्माका लागि प्रत्यक्ष चुनाव लड्नु र जित्नुपर्ने दबाब छ । उनको पहिलो रोजाइ र कार्य क्षेत्र ६ नम्बर नै हो । यहाँ माओवादीले स्थानीय चुनावमा वडातर्फ करीब २५ सय मत पाएको छ । हिमालका लागि क्षेत्र नम्बर ६ नमिले ३ मा लगेर भने पनि व्यवस्थापन गर्ने दबाबमा माओवादी छ ।

युवा नेता अनिल शर्माले भने आफू क्षेत्र नम्बर १ छाडेर अन्यत्र नजाने जानकारी गराइसकेको स्रोतले जनाएको छ । क्षेत्र नम्बर १ मा माओवादीको स्थायी उम्मेदवार नभएको गुनासो मतदाताबाट आएका कारण उनी यसपटक गठबन्धनबाट टिकट पाए पनि नपाए पनि सो क्षेत्र नछाड्नेमा पुगेका छन् ।

माओवादीबाट २०६४ मा राममान श्रेष्ठ र २०७० मा रेनु दाहाल उम्मेदवार बनेका थिए । २०७४ मा गठबन्धनबाट उम्मेदवार बनेका शर्माले सोही क्षेत्रलाई आफ्नो राजनीतिक कर्मथलो बनाएका छन् । काठमाडौंको २ नम्बर क्षेत्रमा पनि माओवादीको राम्रो मत छ । तर, उनले सो क्षेत्र छाडेर अन्यत्र नजाने पार्टी नेतृत्वलाई जानकारी गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर