बुलेटसँग परेड खेल्ने महिला प्रत्यक्षमा पनि सहजै निर्वाचन लड्न सक्छन् : सांसद विशंखे – Nepal Press

बुलेटसँग परेड खेल्ने महिला प्रत्यक्षमा पनि सहजै निर्वाचन लड्न सक्छन् : सांसद विशंखे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सांसद पार्वती विशंखेले बुलेटसँग परेट खेल्न सक्ने महिला आगामी निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित भएर कुशलतापूर्वक भूमिका निर्वाह गर्न सक्ने बताएकी छन् ।

नेकपा (माओवादी केन्द्र)की सांसद अमृता थापाले प्रतिनिधि सभा बैठकमा पेश गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा समर्थन जनाउँदै विचारले सामाजिक रूपान्तरणको क्रान्ति गर्न सक्ने महिला आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्षतर्फ लड्न सक्ने बताएकी हुन् ।

नेपालको भौगोलिक अखण्डता, स्वाभिमान र सार्वभौमसत्ताको रक्षा र लोकतन्त्र एवं नागरिक स्वतन्त्रता प्राप्तिको हरेक आन्दोलनमा नेपाली महिलाको भूमिका अग्रपंक्तिमा रहेको नकार्न नमिल्ने उनको भनाई थियो ।

उनले भनिन्, ‘त्यसैले महिलालाई विश्वास गरी महिलाको योगदानलाई सम्मान गरी आगामी निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिताका लागि प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलाको उचित प्रतिनिधित्व गराउन सदन र राजनीतिक दलको सकारात्मक भूमिमा आवश्यक छ ।’

उनले थप्दै भनिन्, ‘आगामी निर्वाचनको लागि निर्वाचन आयोगले निर्वाचन कानुन मस्यौदा तयारी गरिरहेको अवस्था छ । त्यसैले सम्मानित सदनमा अमृता थापाले प्रस्ताव गरेको ३ वटा बुँदा, एक प्रतिनिधिसभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने प्रणालीमा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिलालाई उम्मेदवारी दिनुपर्ने, दुई स्थानीय तहमा प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुख, वडाध्यक्षमा हरेक दलले कम्तीमा ५० प्रतिशत महिलालाई उम्मेदवारी दिने विषय समावेश गर्न र तीन स्थानीय तहको वडाको निर्वाचनमा दलितको जनसंख्या नभएको स्थानमा अल्पसंख्यक वा सिमान्तकृत समुदायका महिला वडा सदस्य उम्मेदवार बनाउन आव्हान गर्ने र त्यो पनि उम्मेदवारी दिन समय सकिएको भोलिपल्ट भन्ने सुझाव निर्वाचन आयोगलाई निर्देशन गर्न म सभामुखमार्फत नेपाल सरकारलाई अनुरोध गर्दछु ।’

सांसद विशंखेले संविधानको भारा ३८ को उपधारा ४ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ भन्ने प्रष्ट व्यवस्था गरेको स्मरण गराएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर