नर्भिकका सञ्चालक भन्छन्: सरकारसँग जग्गा लिजमा लिएका हौं, तत्काल खाली गर्न सम्भव छैन – Nepal Press

नर्भिकका सञ्चालक भन्छन्: सरकारसँग जग्गा लिजमा लिएका हौं, तत्काल खाली गर्न सम्भव छैन

काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालले सरकारी जग्गा अतिक्रमण गरेको आरोप अस्वीकार गरेको छ । सरकारसँग २० वर्षको लिज सम्झौता गरेर एक रोपनी जग्गा प्रयोग गर्दै आएको अस्पतालका सञ्चालकले बताएका छन् ।

आज पत्रकार सम्मेलन गर्दै अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले २०६५ सालमा तत्कालीन भूमिसुधार अधिकारीसँग सम्झौता गरेको भन्दै कागज देखाए । सिंहका अनुसार बाटो नभएको जग्गा वार्षिक ३३ हजार रुपैयाँ भाडा दिने गरी सम्झौता भएको थियो भने प्रत्येक वर्ष १० प्रतिशत भाडा बढ्ने सम्झौतामा उल्लेख छ । त्यसअनुसार अहिले जग्गाको भाडा वार्षिक ८४ हजार पुगेको छ ।

हिजो काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आफैं नर्भिक अस्पताल पुगेर सरकारी जग्गा अस्पतालले अवैध रुपमा प्रयोग गरिरहेको आरोप लगाएका थिए । उनले २४ घन्टाभित्र उक्त जग्गा खाली गर्न सूचना टाँस गराएका छन् । तर, सिंहले महानगरपालिकाको सूचनाअनुसार एक दिनभित्रै जग्गा खाली गर्न सम्भव नरहेको बताए ।

उनले भने, ‘त्यो जग्गाबाट हामीले टहराहरु बनाएर अक्सिजन प्लान्टदेखि बिजुली, पानीजस्ता अत्यावश्यक वस्तुहरुको सप्लाइ गरेका छौं । त्यो सबै तुरुन्तै हटाइदिने हो भने अस्पतालको क्रिटिकल केयरमा रहेका बिरामीहरु के गर्ने ? उनीहरुको ज्यान गयो भने को जिम्मेवार हुने ?’

सरकारसँग बकाइदा सम्झौता गरेर लिइएको जग्गालाई अवैध प्रयोग गरिएको आरोप लगाइएकोमा उनले दुःख व्यक्त गरे ।

‘सरकारका तर्फबाट तत्कालीन भूमिसुधार अधिकारीले हस्ताक्षर गरेर दिइएको जग्गा हो । जग्गाको भाडा कम भयो भने त्यसको जिम्मेवार पनि सरकार नै हुन्छ । हामीले त कम भाडामा लिन चाहनु स्वाभाविकै हो,’ उनले भने ।

उनले सम्झौताबमोजिम भाडा र नियमित ट्याक्स अस्पतालले तिर्दै आएको बताए । २०७५ सालमा एकमुष्ट सात लाख रुपैयाँ बुझाएको उनको भनाइ छ । जग्गाको लिज अझै आठ वर्ष बाँकी रहेको पनि सिंहले उल्लेख गरे ।

‘मेयर साह आएर सूचना टाँसेर गएपछि मैले हिजै उहाँलाई पत्राचार गरेर तत्काल भत्काउने अवस्था नरहेको भनी जानकारी गराएको छु’, सिंहले भने, ‘तर, मेरो पत्रको जवाफ आएको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *