बर्ड फ्लू नियन्त्रणमा खटिने कर्मचारीलाई शतप्रतिशत आर्थिक सुविधा, १० लाखको जोखिम बीमा – Nepal Press

बर्ड फ्लू नियन्त्रणमा खटिने कर्मचारीलाई शतप्रतिशत आर्थिक सुविधा, १० लाखको जोखिम बीमा

काठमाडौं । सरकारले बर्ड फ्लू नियन्त्रणमा खटिने कर्मचारीलाई प्रतिदिन पाउने तलब बराबरको शतप्रतिशत आर्थिक सुविधा दिने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ल्याएको ‘बर्ड फ्लू नियन्त्रण कार्यका लागि खटाइएका कर्मचारी वा व्यक्तिलाई उपलब्ध गराइने प्रोत्साहन सुविधासम्बन्धी मापदण्ड २०७९’ मा यस्तो व्यवस्था गरिएको हो ।

बर्ड फ्लू नियन्त्रण नियमावली २०७८ अनुसार रोग नियन्त्रण कार्यमा खटाइएका कर्मचारी वा व्यक्तिलाई उक्त कार्यमा खटिएको अवधिमा थप दिइने मापदण्डमा उल्लेख छ । जसमा नियमानुसार प्रतिदिन पाउने तलब वा प्रचलित ज्यालामा शत प्रतिशत आर्थिक सुविधा, बिदाको दिनमा काम गरेबापत प्रत्येक दिनका लागि प्रतिदिन पाउने तलब रकममा थप शत प्रतिशत आर्थिक सुविधा, अर्थ मन्त्रालयबाट जारी कार्य सञ्चालन निर्देशिकामा तोकिएबमोजिम खाना र खाजा खर्च उपलब्ध गराइने उल्लेख छ ।

यस्तै विभाग, प्रदेशस्तरको कार्यालय वा स्थानीय तहबाट खटिने टोली प्रमुख, नियन्त्रण कक्ष प्रमुख र सूचना अधिकारीलाई सञ्चारबापत एक कार्य अवधिका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ, खटिएको अवधिमा गरिने स्वास्थ्य परीक्षण तथा औषधोपचार खर्च उपलब्ध गराइनेछ ।

कर्मचारी र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिसमेतको खटिएको अवधिको लागि १० लाख रुपैयाँको जोखिम बीमा वा जोखिम बीमा नगरेको अवस्थामा रोग नियन्त्रणका लागि खटिएको अवधिमा वा खटिएको मितिले ४२ दिनभित्र त्यसै रोगको कारणबाट बिरामी भएमा निःशुल्क उपचार वा मृत्यु भएमा प्रत्येक मृतकको परिवारलाई सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइनेछ ।

बर्ड फ्लू नियन्त्रण नियमावली, २०७८ को नियम १४ अनुसार बर्ड फ्लू निन्त्रण कार्यका लागि रोग नियन्त्रण कक्ष, प्रयोगशाला, आकस्मिक रोक अन्वेषण, रेपिड रेस्पोन्ससमेतका प्रतिकार्यमा खटाइएका कर्मचारी वा व्यक्तिलाई प्रोत्साहन सुविधा उपलब्ध गराउन मापदण्ड ल्याइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर