किसानलाई क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति दिइने (मापदण्डसहित) – Nepal Press

किसानलाई क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति दिइने (मापदण्डसहित)

काठमाडौं । बर्ड फ्लू प्रभावित किसानलाई सरकारले क्षतिको ७५ प्रतिशतसम्म राहत उपलब्ध गराउने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ल्याएको ‘बर्ड फ्लू नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुको राहत दिनेसम्बन्धी मापदण्ड २०७९’ मा यस्तो व्यवस्था गरिएको हो ।

बर्ड फ्लू नियन्त्रण नियमावली २०७८ मा राहतसम्बन्धी व्यवस्था गरिए पनि मापदण्ड नबन्दा राहतसम्बन्धी कार्य कार्यान्वयनमा जान सकेको थिएन । क्षतिको रकम निर्धारण गरी त्यसको ७५ प्रतिशत रकम राहत उपलब्ध गराउने व्यवस्था मापदण्डमा गरिएको मन्त्रालयले जनाएको छ । त्यसका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने दररेट निर्धारण समितिले दररेट निर्धारण गर्ने मापदण्डमा व्यवस्था छ ।

तर, बर्ड फ्लू नियन्त्रण नियमावली २०७८ को नियम ११ को उपनियम ६ बमोजिम नष्ट गरिएका सामग्रीको हकमा भने कुनै राहत उपलब्ध नगराइने उल्लेख छ । ‘बर्ड फ्लू प्रभावित क्षेत्रबाट पन्छी, पन्छीजन्य पदार्थ वा पन्छी उत्पादन सामग्री बर्ड फ्लू प्रभावित क्षेत्रभन्दा बाहिर लगेको वा ल्याएको प्रमाणित भएमा त्यसरी लगिएको वा ल्याइएको सामग्री र ती सामग्रीसँग प्रत्यक्ष सम्पर्कमा रहेका रोग सार्नसक्ने सम्पूर्ण सामग्रीसमेत ऐनको दफा २८ बमोजिम नष्ट गरिनेछ’, उक्त उपनियममा उल्लेख छ ।

दररेट निर्धारण समितिले प्रत्येक आर्थिक वर्षका साउनभित्र प्रचलित बजार मूल्यका आधारमा मूल्य निर्धारण गर्नुपर्ने व्यवस्था मापदण्डमा छ । दररेट निर्धारण समितिको सदस्य सचिवले दररेटको जानकारी भदौ मसान्तसम्ममा पशुपन्छी विभाग र प्रदेश सरकारको पशुपन्छी विकास हेर्ने मन्त्रालयमा पठाइसक्नुपर्नेछ ।

मापदण्डअनुसार पन्छी नष्ट गरिएको ३० दिनभित्र राहतका लागि आवेदन दिनुपर्नेछ । राहतका लागि उपलब्ध हुने रकम प्रदेशको पशुपन्छी हेर्ने मन्त्रालयमा विनियोजन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *