गठबन्धनमा भागबण्डाको रस्साकस्की, सीट संख्याभन्दा धेरैमा दाबी (सूचीसहित) – Nepal Press
लुम्बिनी प्रदेश

गठबन्धनमा भागबण्डाको रस्साकस्की, सीट संख्याभन्दा धेरैमा दाबी (सूचीसहित)

रुपन्देही । आउँदो संघ तथा प्रदेशको निर्वाचनमा गठबन्धन कायमै राख्ने सत्तारुढ पाँच दलबीच लिखित सहमति भएसँगै लुम्बिनीका १२ जिल्लाका २६ संघीय निर्वाचन क्षेत्र र ५२ प्रदेश निर्वाचन क्षेत्रमा आ-आफ्नो दाबी सुरू भएको छ । तर, सबै दलबाट रहेका क्षेत्रभन्दा झण्डै दोब्बरको संख्यामा दाबी परेको छ ।

आइतबार बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीसमेतले गठबन्धनमा रहने निर्णय गरेपछि प्रदेशमा पनि ६ दलको गठबन्धन हुँदा सीट संख्याको दाबी बढ्ने भएको हो ।

यसअघि एमालेले जितेकासमेत गरी सबै क्षेत्रमा गठबन्धन गरेर जाने निष्कर्षमा पुगेपछि भागबण्डाको रस्साकस्की चलेको हो । धेरैभन्दा धेरै परिणाम हत्याउन उनीहरूले आफ्नो दाबी तर्कसहित सार्वजनिक गरेका छन् ।

कसको कति दाबी

नेपाली कांग्रेस, माओवादीले अहिले स्थानीय तहमा आएको मतभारलाई पहिलो आधार बनाउनुपर्ने बताउँदै आएको छ । यसअघिको संघीय तथा प्रदेशमा रहेको संख्या र गठबन्धनमा सबै दलको अस्तित्व रहनेगरी भागबण्डा हुनुपर्ने जसपा, नेकपा एस र राष्ट्रिय जनमोर्चाको जोड छ ।

गठबन्धन दलको मुख्य शक्ति नेपाली कांग्रेसले लुम्बिनीबाट संघमा १६ र प्रदेशमा २८ सीट दाबी अघि सारेको छ । कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले भर्खर सम्पन्न स्थानीय तहको निर्वाचनमा आएको मतभारलाई आधार बनाएर यो दाबी गरिएको बताउँछन् ।

माओवादी केन्द्रका लुम्बिनी अध्यक्ष सुदर्शन बरालले संघमा १२ र प्रदेशमा २२ सीटमा आफ्नो पार्टीबाट दाबी रहने बताए । ‘संघमा हामीले जितेको ७ हो, प्रदेशमा १४ हो त्यसलाई अहिले स्थानीय तहको मतभारमा हामी सशक्त बनेका छौं र स्वभाविकै दाबी बढेको हो’, बरालले नेपाल प्रेससँग भने ।

यसैगरी नेकपा एसले प्रतिनिधिसभामा ५ तथा प्रदेशमा २४ वटामा दाबी गरेको छ । सो पार्टीका केन्द्रीय सचिव तथा लुम्बिनी इन्चार्ज भागवत विश्वासीले लुम्बिनीमा पार्टीको बलियो सांगठनिक आधार भएको र विगतमा पनि बलियो उपस्थिति भएकाले यो संख्या स्वाभाविक भएको जिकिर गरे । विगतमा एमालेले जितेको सीटमा स्वत: आफ्नो हक लाग्ने नेकपा एसका नेताहरू बताउँछन् ।

कांग्रेस, माओवादी र नेकपाले भएका सीटभन्दा धेरै संख्यामा दाबी गरेपनि गठबन्धनका साझेदार जसपा, राष्ट्रिय जनमोर्चाले सीट संख्या नबोली सम्मानजनक हैसियत खोजेको छ ।

जसपा लुम्बिनी अध्यक्ष अशोक यादव सम्मानजनक संख्या पाउनुपर्ने बताए । ‘सबै कांग्रेस माओवादीलाई दिनलाई हामीले गठबन्धन गर्ने होइन, यसअघि ५ सीट जितेको कांग्रेस र ६ सीट जितेको माओवादीले सबैको अस्तित्व स्वीकार गरेर जानसक्नुपर्दछ’, उनले भने ।

जनमोर्चाका लुम्बिनी अध्यक्ष बमबहादुर खत्रीले पार्टीले आधिकारिक निर्णय नगरेपनि पार्टीको बलियो संगठन रहेको र यसअघि संघमा जितेको प्युठानबाट संघमा १ र अर्घाखाँची तथा दाङबाट २ प्रदेशसभा २ सीटमा स्वाभाविक दाबी रहने बताए ।

चुनावमा पाँच दलबीच तालमेल हुँदा २०७४ को चुनावसँगै अहिलेको स्थानीय चुनावलाई आधार मानिने बताइए पनि सीट बाँडफााट भने सहज नहुने स्वयं नेताहरू स्वीकार्छन् ।

यस प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एस र जनमोर्चाका हेभिवेट नेताहरू भएकाले पनि सबै दल उनीहरूलाई जोगाउनुपर्ने दबाबमा छन् । भागबण्डाप्रति असन्तुष्ट बढेका कारण स्थानीय चुनावमा समेत धेरै स्थानीय तहमा बागी विद्रोही खडा भएका थिए ।

फ्ल्यासब्याकमा आम र स्थानीय चुनाव

२०७४ को चुनावमा लुम्बिनीका २६ मध्ये १३ क्षेत्र एमालेले जितेको थियो । जसमध्ये पाल्पाका सोमप्रसाद पाण्डे, दाङका मेटमणि चौधरी र हीराचन्द्र केसी गरी ३ जना एमाले छाडेर समाजवादीतर्फ लागेका छन् । ६ वटा क्षेत्र माओवादीले जित्दा ५ वटा क्षेत्रमा कांग्रेसले जितेको थियो । संघीय समाजवादी पार्टीले १ सीट जितेको थियो भने जनमोर्चाले १ सीट जितेको थियो ।

त्यसताका एमाले-माओवादीको गठबन्धन थियो । नेकपा र पछि एमालेसम्मको फुटको फाइदा उठाउँदै कांग्रेस यसपालि बलियो उपस्थिति देखाउने ध्याउन्नमा छ ।

स्थानीय तह निर्वाचनमा कांग्रेसले लुम्बिनीका १०९ तहमध्ये ४८ वटा पालिका प्रमुख जितेको छ भने एमाले २७ वटा पालिकामा जित्दा माओवादीले २५ वटा पालिकाको नेतृत्व हात पारेको छ ।

कांग्रेसले प्रदेशभरमा ३७५ वटा वडा जितेको छ । एमालेले ३१४ वटा वडा हात पारेको छ । माओवादी केन्द्रले १७० वडा जित्दा जनता समाजवादी पार्टी ४३ वडामा विजयी भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी १५, राप्रपा २१, राष्ट्रिय जनमोर्चा १६ र नेकपा एकीकृत समाजवादीले ४ वटामात्र वडा जितेका छन् ।

स्थानीय तहको निर्वाचनमा लुम्बिनी प्रदेशका केही ठाउँमा सत्ता गठबन्धनबीच तालमेल हुँदा कांग्रेसलाई फाइदा भएको हो । तालमेलबाट स्थानीय तह चुनावमा माओवादीले पनि एमाले हाराहारीमा प्रमुख पद जितेको छ । माओवादीले वडा भने कम जितेको छ ।

कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाणले केही दिनअघि पार्टी केन्द्रीय समिति बैठकमा लुम्बिनीमा एक्लाएक्लै चुनाव लड्दा स्थानीय तहमा वडाध्यक्षको मतभारअनुसार कांग्रेस १२, एमाले ११, माओवादी २, लोसपा १ र जसपा, नेकपा एस तथा जनमोर्चा शून्य रहने तथ्यांक पेस गरेका छन् ।

यो विवरणअनुसार प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये कांग्रेस रुपन्देहीका १, २, ३ नं क्षेत्र, कपिलवस्तु १ र २ नं क्षेत्र, नवलपरासीको १ र २ नं क्षेत्र, बाँकेको १,२, ३ नं क्षेत्र, दाङ १ र बर्दिया २ नं क्षेत्रमा अगाडि रहेको छ । त्यसैगरी एमाले रुपन्देही ५ नं क्षेत्र, पाल्पा १ र २ नं क्षेत्र, गुल्मी १ र २ नं क्षेत्र, दाङ २ र ३ नं क्षेत्र, बर्दिया १ नं क्षेत्र, कपिलवस्तु ३ नं क्षेत्र, प्यूठान तथा अर्घाखाँचीमा अगाडि देखिएको छ ।

माओवादी केन्द्र रुकुमपूर्व र रोल्पामा मात्रै अगाडि देखिएको छ भने लोसपा रुपन्देही ४ मा अगाडि देखिएको छ । नेकपा एस, जसपा र जनमोर्चा कुनै क्षेत्रमा अगाडि देखिएका छैनन् यसकारण पनि उनीहरूले यो तथ्यांकअनुसार भागबण्डा मिल्न नसक्ने भन्दै सम्मानजनक सहभागिताको नारा अगाडि सारेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *