‘कांग्रेससँग व्यवस्था जोगाउने कुरा हो, कार्यगत एकताको छलफल त एमालेसँगै चलिरहेको छ’ – Nepal Press
नेपाल टक

‘कांग्रेससँग व्यवस्था जोगाउने कुरा हो, कार्यगत एकताको छलफल त एमालेसँगै चलिरहेको छ’

माओवादी सुदूरपश्चिम अध्यक्ष हरिराम भन्छन्- सरकार फेरबदल गर्ने मौका सांसदलाई दिनहुन्न

काठमाडौं । सरकारले मङ्सिर ४ गते निर्वाचन गर्ने घोषणा गरेसँगै दलहरू आन्तरिक रणनीतिमा व्यस्त हुन थालेका छन् । सत्ता गठबन्धनमा मिलेर जाने सहमति भए पनि त्यसको खाका अझै टुंगिएको छैन ।

सीट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरिएको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरूले एकल र गठबन्धनबाट जित्नसक्ने क्षेत्रहरूका विषयमा छलफल चलाइरहेका छन् ।

सत्ता गठबन्धनभित्रको एक घटक माओवादी केन्द्रको भने आफ्नै रणनीति रहेको देखिन्छ । माओवादी समाजवादी केन्द्र तयार गरेर गठबन्धनबाट धेरै सीट माग्ने दाउमा देखिन्छ । योसँगै आगामी निर्वाचनमा एमालेसँग पनि सहकार्यको बाटो खुला रहेको माओवादी केन्द्रका केही नेताहरूले बताउँदै आइरहेका छन् ।

एमालेसँग आगामी निर्वाचनमा तालमेल गर्नुपर्छ भन्ने पक्षमा रहेका नेताहरूमध्ये एक हुन् माओवादी सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरिराम चौधरी ‘उत्सव’ । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका नेता हुन् ।

राष्ट्रियसभा सदस्यसमेत रहेका उनी एमाले सच्चिएर आए आगामी निर्वाचनमा तालमेल हुनसक्ने सम्भावना देख्छन् । नेपाल टकमा प्रस्तुत छ, माओवादी प्रदेश अध्यक्ष हरिराम चौधरीसँग गरिएको कुराकानी ।

– सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये माओवादी केन्द्रले कति क्षेत्रमा दाबी गर्छ ?

गठबन्धनको कुरा अहिले पनि फिक्स भएको छैन । गठबन्धन फिक्स भइसकेपछि त्यो कुरामा छलफल होला । अहिले हामी सबै क्षेत्रमा तयारी गरिरहेका छौं । गठबन्धन भइहाल्ला जस्तो पनि मलाई लाग्दैन ।

गठबन्धन एमालेसँग हुन्छ कि कांग्रेससँग त्यो पनि थाहा छैन । समाजवादी केन्द्र बनाउने कुरा पनि आइरहेको छ । समाजवादी केन्द्र बनाएपछि गठबन्धनको आवश्यकता पर्छ कि पर्दैन भन्ने कुरा पनि छ ।

– संसदीय निर्वाचनभन्दा पहिले नै समाजवादी केन्द्र बन्ला र ?

म त्यो सम्भावना बढी देख्छु । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रमा सबै विचार र मनोभावहरू समेटिन सकेको छैन । त्यसले गर्दा चारैतिरबाट सरकार र परिस्थितिको विद्रोह भइरहेको छ ।

– एमालेसहितको समाजवादी केन्द्रको सम्भावना बढी देख्नुभएको छ कि एमालेबाहेकको ?

एमालेसहितको समाजवादी केन्द्र पनि हुनसक्छ । एमालेबाहेकको वाम गठबन्धन र मधेसवादी दलहरूको बीचमा पनि हुनसक्छ । जोसँग एजेन्डा मिल्छ, त्योसँग सहकार्य हुन्छ । अहिलेको संसदीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गरेरमात्र समाजवादी केन्द्र बन्दैन नि !

– गठबन्धन एमालेसँग हुन्छ कि कांग्रेससँग भन्ने दोधारे कुरा गर्नुहुन्छ । के माओवादी तालमेलका विषयमा प्रस्ट नभएको हो ? एमालेसँग पनि तालमेलको सम्भावना हुन्छ र ?

अहिलेको संसदीय व्यवस्थाको विकल्पमा केही नयाँ ढंगले केपी ओली आए भने एमालेसँग बकैदा तालमेल हुन्छ । पहिलो कार्यगत एकता वा पार्टी एकता नै एमालेसँग हुन्छ ।

जनताले जिताएर पठाएपछि कुनै पनि सरकार फेरबदल गर्ने मौका सांसदहरुलाई दिन हुन्न । हामीलाई त्यस्तो व्यवस्था चाहिएको छ । त्यो भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति हो ।

देशको शासकीय स्वरूप, निर्वाचन प्रणाली र सामाजिक न्यायलाई फेरबदल गरेर अगाडि बढ्नुपर्छ भन्ने अहिलेका युवाहरूको चाहना छ ।

– केन्द्रीय अध्यक्षसँग पनि तपाईंको वेलावेलामा छलफल भइरहेको हुन्छ । एमाले र माओवादी मिलेर जाऔं भन्ने केही आन्तरिक छलफल भइरहेको छ पार्टीभित्र ?

अहिले छलफल कांग्रेससँग भइरहेको छ । नेकपा एमालेसँग पनि भइरहेको छ । एमालेसँग वैचारिक हिसाबले अगाडि बढिरहेको छ भने कांग्रेससँग अहिलेको व्यवस्था जोगाउन छलफल भइरहेको छ ।

संसदीय लोकतान्त्रिक गणतन्त्रको योभन्दा प्रगतिशील मुद्दा नआउँदासम्म हामीले कांग्रेससँग कार्यगत एकता गर्नुपर्नेछ । संसदीय लोकतान्त्रिक गणतन्त्रलाई परिमार्जित गर्न एमालेसँग कार्यगत एकताको छलफल चलिरहेको छ ।

– कांग्रेससँग धेरै सीट माग्न वेलावेलामा तपाईंहरूले एमालेको कार्ड प्रयोग गर्नुभएको छ नि ! यो पनि त त्यस्तै कुरा होला होइन ?

गलत कुरा हो । प्रचण्डले अहिले यस्तो भन्नुपर्ने कुनै कारण नै छैन । प्रचण्ड अहिले यो देशको प्रधानमन्त्री त हुनुहुन्न नि ! उहाँ एउटा पार्टीको सांसद हुनुहुन्छ । यो देश त अहिले पनि शेरबहादुर देउवाले नै चलाइरहनु भएको छ । कार्ड कसको लागि देखाउनुपर्‍यो त ? भोलि पनि केपी ओली र शेरबहादुर देउवाको लागि प्रधानमन्त्री बनाउन प्रचण्डले यो कार्ड फाल्नुपर्ने कुनै कारण नै छैन ।

अर्काे कुरा, केपी ओली अहिलेको व्यवस्थालाई भत्काउने गरी आउँदैछन् भन्ने हाम्रो बुझाइ छ । त्यहाँबाट उहाँ सच्चिएर आउनुभएको अवस्थामा हाम्रो पार्टीले कार्यगत एकता गर्छ । यसको खिलापमा गए नेपाली कांग्रेससँग कार्यगत एकता गरेर अगाडि बढ्छौं ।

– चुनावी तालमेलका लागि पहिलो रोजाइमा को ? कांग्रेस कि एमाले ?

वैचारिक हिसाबले एमाले परिमार्जित भएर आउनुपर्छ । शासकीय स्वरूप, सामाजिक न्याय र निर्वाचन प्रणालीमा एमालेले आफूलाई परिमार्जन गरेर यस विषयमा बहस गर्न तयार भए सहकार्य हुनसक्छ ।

– सीट बाँडफाँटका लागि अहिले केन्द्रमा एउटा कार्यदल बनेको छ । त्यसले तपाईंहरूसँग पनि सुझाव लिन्छ । त्यो बेला तपाईंहरूले कस्तो सुझाव दिनुहुन्छ ?

अहिलेसम्म हामीसँग सुझाव लिइएको छैन । सुझाव लिएपछि मेरो पहिलो सुझाव यो देशमा समाजवादी केन्द्रको आवश्यकता छ भन्ने हो । नेपाली जनताले पनि यो मागिसकेका छन् ।

विकास निर्माण आज काठमाडौंलाई मात्र चाहिएको छैन । बाजुरालाई पनि चाहिएको छ । कैलालीको मान्छेले मात्र खाएर पुग्दैन, दार्चुलाको मान्छेले पनि सुपथ मूल्यमा खान पाउनुपर्छ ।

मेरो भन्नुको अर्थ यो देशमा सबै जनताको अपनत्व हुने व्यवस्था चाहिएको छ । अहिलेको व्यवस्थाले हाम्रो अपनत्व ग्रहण गरेको छैन । अपनत्व ग्रहण गर्न दुईतिहाइको सरकार चाहिएको छ, बलियो पार्टी चाहिएको छ । टुक्रे, सानातिना पार्टीले हुँदैन ।

त्यसकारणले कार्यदललाई हामीले दिने सुझाव भनेको, सकिन्छ देश निर्माण गर्न देशमा बलियो पार्टी, बलियो विचार तयार गर्नुहोस् भन्ने हो ।

– फेरि पनि दुईतिहाइ र ठूलो पार्टीको कुरा ! त्यो त नेकपा हुँदा पूरा भएकै थियो नि ! तर, न अवस्था फेरियो न त व्यवस्था नै । अझै दुईतिहाइ दिनुहोस्, हामी विकास गर्छौ भनेर तपाईंहरूले भन्दा जनाले पत्याउँछन् ?

त्यो वेला वैचारिक र राजनैतिक रुपमा नेताहरूले एकता गरेनन् । निर्वाचनमा भोट माग्न गएको वेलामा विकास गर्छु भनेरमात्र हुन्छ ? विकास कसरी गर्ने ? विकास गर्न विधि खै ? आज देशको विकासको बाधक के हो ? नेता हो कि व्यवस्था बाधक हो ? त्यसैले त्यो वेलाको कार्यगत एकता जनतालाई ढाँटेर गरिएको हो ।

तपाईंले बुझ्नुपर्ने अर्काे कुरा, त्यो वेलामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको पार्टी एकता के-के कुरामा मिलेर भयो भन्ने कुरा बाहिर आएन । कुन चाहिँ मिडियाले सोधे त्यो कुरा ? प्रचण्डसँग कसले सोध्यो ? केपी ओलीसँग कसले सोध्यो ? माओवादीले त्यो वेला शासकीय स्वरूप, निर्वाचन प्रणाली र सामाजिक न्याय जस्ता कुराहरूलाई नोट अफ डिसेन्ट गरेको थियो ।

– शासकीय स्वरूप, निर्वाचन प्रणाली र सामाजिक न्यायमा एमाले र माओवादीको फरक मत थियो । एमालेले माओवादीको मत दबाएर अगाडि बढ्यो भन्न खोज्नु भएको हो ?

त्यो वेलाका कुराहरूलाई बाहिर ल्याउनुपर्छ । अहिले नेकपा एमाले र माओवादीबीच पार्टी एकता हुन्छ भने यो देशमा कस्तो प्रकारको व्यवस्था आवश्यकता छ, कस्तो व्यवस्थाले जनतालाई सहज हुन्छ भन्ने कुरा स्पष्ट आउनुपर्छ । त्यो स्पष्ट नआएर ल्याएको दुईतिहाइले केही काम गर्दैन ।

– एमाले र माओवादी एकै ठाउँमा उभिनसक्ने सम्भावना अझै छ ?

छ नि ! किन नहुने ? जनताले त्यो मागिसकेका छन् । नेपालको राजनीतिमा शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी ओली जस्ता नेताहरूले अहिलेको युवाको चाहना बुझ्न आवश्यक छैन ।

चुनाव भनेको जित्नमात्रै हुँदैन । कहिलेकाही हार्न पनि चुनाव लड्नुपर्छ । आफ्नो एजेन्डा स्थापित गर्न पनि लड्नुपर्छ । के अहिलेसम्म मुलुकमा जनताले जितेका छन् त ?

अहिले सारा युवाहरू नेपालको राजनैतिक दल र नेपालको नेतृत्वप्रति विद्रोह गरिरहेका छन् । अहिले शीर्ष नेताहरूलाई युवाहरूले हजुरबुवा भन्न थालेका छन् । प्रभाकर, योगेश भट्टराई, भीम रावलहरूलाई बुवा भन्न थालेका छन् । सरकार सहज ढंगले पाँच वर्षसम्म चल्न पाउने र देशको विकास थाहा पाउनुपर्ने भन्दै जनताले विद्रोह गरिसकेका छन् । अब युवाहरूले चाहेको व्यवस्थाअनुसार निर्वाचन हुनुपर्छ ।

– युवाहरूले चाहेको व्यवस्था भन्नाले ?

अहिलेको युवाले चाहेको सबैभन्दा ठूलो कुरा यो देशमा ६÷६ महिनामा सरकार फेरिने कुराको अन्त्य हुनुपर्छ भन्ने हो ।

– अघिल्लो संसदीय निर्वाचनमा पनि तपाईंहरूले स्थिर सरकारको नारा दिनुभयो । अहिले पनि त्यही भन्दै हुनुहुन्छ । यो सम्भव छ र ?

यसको लागि एउटामात्रै उपाय भनेको जनताले कुनै पनि एउटा दललाई दुईतिहाइ दिनुपर्छ । त्यसले सरकार स्थिर हुनसक्छ ।

अर्काे विषय भनेको यहाँ सरकार अस्थिर बनाउन बाह्य शक्ति र देशमै रहेका दलाल चरित्रका शक्ति केन्द्रहरू सरकारलाई टुटफुट गराउन लागिरहेका हुन्छन् । यो संसदीय व्यवस्थामा उनीहरूलाई खेल्न सजिलो भएको छ । सबैभन्दा पहिले यो संसदीय व्यवस्था अन्त्य गर्नुपर्छ ।

– यो संसदीय व्यवस्था अन्त्य गरेर तपाईंहरू कस्तो व्यवस्था ल्याउन खोजिरहनुभएको छ ?

जनताले जिताएर पठाएपछि कुनै पनि सरकार फेरबदल गर्ने मौका सांसदहरुलाई दिन हुन्न । हामीलाई त्यस्तो व्यवस्था चाहिएको छ । त्यो भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति हो ।

– प्रत्यक्ष निर्वाचित राष्ट्रपति कि प्रधानमन्त्री ?

त्यो त प्रधानमन्त्री पनि बनाउन सक्छौं । हामी राष्ट्रपति पनि बनाउन सक्छौं । हामीले जनतालाई जागरूक गर्न आवश्यक छ । यहाँ त नेताहरूले हैरान गरिसकेका छन् नि !

एउटा मान्छे जितेर जान्छ, त्यो सांसदलाई प्रयोग गरेर प्रधानमन्त्री बन्छन् । राष्ट्रपति वा प्रधानमन्त्रीको चुनाव प्रत्यक्ष भइदिनेबित्तिकै त पाँच वर्ष चल्छ । त्यो प्रकारको संवैधानिक व्यवस्था हाम्रो मुलुकमा भए कसैले पनि सरकार गिराउन सक्दैन र देश निरन्तर प्रक्रियामा अगाडि बढ्छ ।

तर, यहाँ त सांसदहरूलाई जनताले जिताउने, जनताको भावनाविपरीत ती सांसदहरूले लेनदेनमा कसैलाई चुन्नुपर्ने र ती सांसदहरूले चुनेको प्रधानमन्त्रीमा जनताको बारेमा काम गर्ने विचार नआउने परिस्थिति सृजना भइरहेको छ ।

– अन्तिममा फेरि निर्वाचनतर्फ जाऔं, सुदूरपश्चिममा अब माओवादी कसरी अगाडि बढ्छ ? जित्ने आधार के हुन् ?

चुनाव भनेको जित्नमात्रै हुँदैन । कहिलेकाही हार्न पनि चुनाव लड्नुपर्छ । आफ्नो एजेन्डा स्थापित गर्न पनि लड्नुपर्छ । के अहिलेसम्म मुलुकमा जनताले जितेका छन् त ? जनताको लागि पनि त बोलिदिनु पर्‍यो ।

माओवादी हारे पनि जनताले जित्ने एजेन्डा बोक्नुपर्‍यो । पार्टीसँग मेरो सुझाव जनताले जित्ने एजेन्डाको बारेमा बोल्नुपर्छ भन्ने हो । जनताले अहिले हराउलान् वा जिताउलान्, अहिले हामीले जनताको एजेन्डा बोल्नुपर्छ ।

१० वर्षको जनयुद्धमा हामीले जनताको एजेन्डा उठाएका हौं । देशमा हामीले जनवादी व्यवस्था कायम गरायौं । गणतन्त्र ल्यायौं । अझै पनि जनताका एजेन्डा बोक्न छोड्नहुन्न ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर