मदन पुरस्कारको सर्ट लिस्टमा परेकी ‘परदेशी’ कवि, जो कोरियामा श्रम गर्दै कोर्छिन् कविता – Nepal Press

मदन पुरस्कारको सर्ट लिस्टमा परेकी ‘परदेशी’ कवि, जो कोरियामा श्रम गर्दै कोर्छिन् कविता

काठमाडौं । २०७८ सालका लागि मदन पुरस्कारको अन्तिम सूचीमा परेका आठ लेखकको नाम सार्वजनिक भएको छ । उनीहरूमध्ये एक जनाले २०७८ सालको मदन पुरस्कार प्राप्त गर्ने छन् ।

गत वर्ष प्रकाशितमध्ये मदन पुरस्कार गुठीमा प्राप्त २९९ पुस्तकहरूबाट श्रेष्ठ ८ पुस्तक छानिएका हुन् । डा. नवराज लम्सालको ‘अग्नि’, डा. दामोदर पुडासैनी ‘किशोर’ को ‘गृष्मको नीलो बाकस’, वसन्त बस्नेतको ‘महाभारा’, दिपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा. नयनाथ पौडेलको ‘लिच्छवि लिपि’, डा. नीलमणि ढुंगानाको ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सती ः इतिहास र मीमांसा’ र पद्म सुन्दर जोशीको ‘हिटी प्रणाली’ पुस्तक टप ८ मा परेका छन् । उनीहरूमध्ये कम परिचित नाम हुन् दिपा मेवाहाङ राई ।

कवितासंग्रह ‘यादको सन्दुक’की सर्जक राई आधा दशकदेखि दक्षिण कोरियामा श्रम गर्दै आएकी छन् । दैनिक १६ घण्टा मेसिन जसरी काममा जोतिने उनी जेनतेन समय निकालेर कलम चलाउँछिन् । खाजा खाने र खाना खाने समयमा पनि उनी कविता फुराउँछिन् । करिब पाँच वर्षको साधनापछि उनले कविता संग्रह निकाल्न सफल भएकी हुन् ।

आफ्नो पुस्तकबारे राई भन्छिन्, ‘यो मेरो पहिलो एकल कविता सङ्ग्रह हो । परदेशमा रहँदा देश, आफन्त, साथीसंगीहरुको यादहरूलाई एकदमै जतन साथ समेटेको छु ।’

उनी थप्छिन्, ‘परदेशमा रहँदा दिक्दार लाग्दो दैनिकीबाट आफूलाई थोरै रिफ्रेस बनाउन लेखिएका शब्दहरू हुन् यी कविता । मेरो लागि कविता भन्ने बित्तिकै बिहान झुल्किँदै गरेको घाम जस्तै हो । जसलाई हेरेर, पढेर, लेखेर म आफूलाई एकदमै न्यानो अनि फ्रेस महसुस गर्छु ।’

राईलाई विदेशमा बस्नसाथ ‘डायस्पोरा’ भनेर अलग्याएको मन पर्दैन । नेपालका कविहरूले जसरी कविता लेखिरहेका छन्, त्योभन्दा व्यस्त समयबाट थोरै समय निकालेर लेखिएका कवितालाई ‘डायस्पोरा’को ट्याग झुन्ड्याइदिनु ननिको लाग्छ उनलाई । नेपालमा बसेर जति समर्पणका साथ कविता लेखिइरहेका छन्, आफूहरूले पनि त्यही समर्पण र श्रद्धाका साथ कविता लेख्ने गरेको उनको दाबी छ ।

आफ्नो पहिलो कविता संग्रह नै मदन पुरस्कारको सूचिमा पर्दा उनको खुशीको सीमा छैन ।

भन्छिन्, ‘एकदमै खुसी लागेको छ । थप जिम्मेवारी थपिएको महसुस भएको छ ।’

उनै कविता दिपा मेवाहाङ राईको दुई कविता :–

सेतो फूल

लगाएर एउटै काखको सिरानी

भरेर एउटै सासको त्यान्द्रा

हुर्किएका थियौँ एउटै आँगनमा

खेलेका थियौँ एउटै मझेरीमा ।

देखेका थियौँ हामीले

सगरमाथाभन्दा अग्लो सपना

बनाएका थियौँ अरुण जतिकै लामो

भविष्यका योजनाहरू

सजाएका थियौँ आकाशको क्यानभासमा खुसीहरू

त्यही सपनाको उडान भर्न

तँलाई जिम्मेवारीको पिँजडामा थुनेर

आफू हिँडेको थिएँ

मेसिनको सहरमा मेसिनको मान्छे बन्न

थाहा नपाई तँ त भासिँदै थिएछस् आफू भित्रभित्रै

गल्दै थिएछ काँधका मांसपेशीहरू

ओंठमा बनावटी मुस्कान फुलाएर

फुल्दै थिएछस् पारिजात बनेर ।

तँ एक भूगोलमा घाम बनेर उदाइरहँदा

मैले अर्को भूगोलमा पाएको थिएँ न्यानोपन

एकातिर तँ दुःखको पिल्लर बनेर उभिइरहँदा

अर्कोतिर मैले भरिरहेको थिएँ सुखको उडान

विडम्बना भनौँ, या कुनै नराम्रो सपना

एक साँझ घाम डुब्नुअघि

डुबेछस् तँ कहिल्यै नउदाउने गरी हाम्रो आकाशबाट

तँ जानुअघि

सुनाउनु पर्ने थिए होलान् कति कुरा

बुझाउनु पर्ने थियो होला जिन्दगीको परिभाषा

सम्झाउनु पर्ने थियो होला छुटेका अनगिन्ती हिसाबहरू

माग्नु पर्ने थियो होला अजम्बरी वाचाहरू

थिचेको थिएछस् मोबाइलमा बारबार फोन कलहरू

पारेको थिएछ्स् म्यासेजका वर्षाहरू

त्यति बेला म

नाप्दै थिएँ आफ्नै जिन्दगीको इन्चीटेप

जोड्दै थिएँ आफ्नै फुटिसकेको भाग्य बटुलेर

रोप्दै थिएँ आफ्नै पसिनाको बिउ

जुध्दै थिएँ मेसिनसँगै मृत्युको रिङमा

जब साँझ ढलेर रात पर्‍यो

यता मोबाइलको स्क्रिन उज्यालो बनेर बल्यो

उता कहिल्यै उज्यालो नफर्किने गरी

सधैँका लागि उज्यालो हरायो हाम्रो अनुहारबाट

दिदी, तँ सकिएछस् मैनबत्ती झैँ

फेरि कहिल्यै नबल्ने गरी

मेरो कलिला हातको बलियो खम्बा बनेर

मेरो कोमल पैतालालाई नबिझ्याउने जमिन बनेर

हिँड्न सिकाएको थिइस् गोरेटोमा

कुद्न सिकाएको थिइस् जिन्दगीको दौड

मेरो दुखाईमा बनेर पेनकिलर

मेरो आँसु झर्दा बनेर रुमाल

निराश बन्दा हौसलाको प्रतिमूर्ति बनेर

जति बेला पनि बसिरन्थिस्

मनको पकेट बक्समा

परिस्थितिले यसरी दासी बनाउँछ कि

लाचार बनेर कुनै स्क्रिनमा केही दृश्य हेरे जसरी

हेर्दै छु दर्शक बनेर तेरो मृत्युको खेल

यति बेला गर्नै सक्छु मैले के नै ?

सक्दिनँ तँलाई अन्तिम पटक छातीमा टाँसेर रुन

सक्दिनँ तँ जाने बाटोमा बार लगाउन

सक्दिनँ रोक्न तेरो यात्रामा बाधा पुर्‍याउन

शरीर काँपिरहेछ

गला अवरुद्ध छ

आँखाहरू बगिरहेछन् खहरे बनेर

मन डढेको छ खरानी बनेर..

मैले तँलाई बिदा दिनै पर्छ

अब तँ यस लोकको रहिनस्

पराइस् बनिस् दिदी ।

अब कहिल्यै हाम्रो हुने छैनस्

हामीसँग केही वास्ता हुने छैन तेरो

तैँले अब आफ्नो बाटो लिएर जानू

दुःख मन नगर्नु आफ्नो भाग्यमाथि

अर्को जन्म लिएर आउँछस् भने

आउनु सँगै एउटै कलेजोको सिरानी लगाएर

भर्नु सासको त्यान्द्रामा आयु पुग्ने गरी

भेट्न आउनु यही ठाउँमा ।

दिदी,

म तेरो प्रतीक्षामा बस्नेछु

सेतो फूल बोकेर ।

२. मेसिन भित्रको मान्छे

दिनभरि यो सहरले मलाई

मेसिन बनाउँछ

समयको चालसँगै दौडाउँछ

मनमा विद्रोहको आगो बल्छ

निभाएर चुप लाग् भन्छ

दुख्छु थाक्छु

सहेर बस् भन्छ

दुःख लुका भन्छ

जब रात पर्छ

तब मान्छे हुन खोज्छु

दिल खोलेर रुन्छु

उन्मुक्त हाँसो हाँस्छु

साँच्चै मान्छे बनिनलाई

दिल खोलेर रुन सक्नु पर्ने रहेछ ।

०००


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर