प्रमुख प्रशिक्षक भारतीय हुँदा नेपाली क्रिकेटले लिन सक्ने यी दुई फाइदा – Nepal Press

प्रमुख प्रशिक्षक भारतीय हुँदा नेपाली क्रिकेटले लिन सक्ने यी दुई फाइदा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा पूर्व भारतीय अलराउन्डर मनोज प्रभाकर नियुक्त भएका छन् । पुबुदु दासानायकेले सम्झौताको बीचमै छाडेर गएपछि रिक्त पदमा नेपाल क्रिकेट संघले प्रभाकरलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको हो ।

प्रभाकरले १२ वर्ष भारतीय क्रिकेट टोलीबाट खेलेका थिए । सन् १९८४ बाट १९९६ सम्म उनले भारतको सिनियर राष्ट्रिय टोलीबाट एकदिवशीय र टेस्ट क्रिकेट खेलेका थिए । त्यसबीचमा उनले ३९ टेस्ट खेल्दै एक शतक र ९ अर्धकशतक बनाएका थिए भने ९६ विकेट हात पारेका थिए ।

यस्तै एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय ३० खेल खेल्दै २ शतक र ११ अर्धशतक बनाएका छन् भने एक सय ५७ विकेट हात पारेका छन् । उनी भारतीय टोलीका ओपनिङ बलर र ओपनिङ ब्याट्सम्यान थिए ।

प्रभाकरले दिल्ली क्रिकेट टिमको बलिङ कोच र राजस्थान क्रिकेट टोलीको प्रमुख प्रशिक्षक भएर काम गरेका छन् । सन् २०११ मा व्यवस्थापन र टिमविरुद्ध मिडियामा बोलेको भन्दै दिल्लीले उनलाई बर्खास्त गरेको थियो । सन् २०१५ को डिसेम्बरमा उनी अफगानिस्तानको बलिङ कोच नियुक्त भएका थिए। भारतमै आयोजित टी—२० विश्वकपमा उनी अफगानिस्तानको बलिङ कोच रहेका थिए।

नेपालले विश्वकै महाशक्ति क्रिकेट राष्ट्रको छिमेकी भएर पनि अपेक्षित फाइदा लिन नसकिरहेको टिप्पणी भइरहँदा प्रभाकरको उपस्थितिले नेपाली क्रिकेटलाई खास गरी दुई वटा फाइदा हुन सक्ने छ ।

पहिलो भारतका बलिया घरेलु टोलीसँग नियमित खेल्ने र दोस्रो व्यावसायिक प्रतियोगितामा सहभागिताका लागि बाटो सजिलो बनाउने। एकदिवशीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएर पनि नेपालले भारतका प्रदेश स्तरका टोलीसँग समेत अभ्यास खेलहरू खेल्ने वातावरण मिलाउन सकेको छैन ।

नेपालले अभ्यास खेलका नाममा श्रीलंका पुगेर खेल्ने गरे पनि आफूभन्दा कमजोर टोलीसँग खेलेकाले फाइदा नपुग्ने टिप्पणी हुँदै आइरहेको छ। अर्को फाइदा भनेको इन्डियन प्रिमियर लिग—आईपीएल क्रिकेटमा नेपाली क्रिकेटलाई बन्द भएको ढोका फेरी खोल्ने रहेको छ । आईपीएल खेल्ने एक मात्र खेलाडीका रूपमा सन्दीप लामिछाने रहेका छन् । तर गत वर्ष भएको मेगा अक्सनमा सन्दीप छनोट भएनन् ।

कहाँ छ नेपाली क्रिकेट ?

एकदिवशीय विश्वकप छनोट र एकदिवशीय मान्यताको निरन्तरताका लागि महत्त्वपूर्ण मानिएको विश्वकप लिग(२ मा नेपाल कमजोर स्थितिमा रहेको छ। नेपालले २० खेल खेल्दा १७ अंक जोडेर पुछारबाट एक स्थानमाथि अर्थात् छैटौँमा रहेको छ।

शीर्ष तीन स्थानमा रहने टोलीले विश्वकपको विश्व स्तरको छनोटमा सोझै स्थान बनाउनेछन् भने अन्तिम चार स्थानका टोलीले विश्वकपको विश्व स्तरको छनोट खेल्न प्ले अफ पार गर्नुपर्ने छ।

विश्वकपको विश्व स्तरको छनोटमा नपुगे नेपालको एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता गुम्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *