सप्तरी–२ मा हेभिवेट भिडन्त, ‘सीमा रक्षक’ देवनारायण पनि मिसिए – Nepal Press

सप्तरी–२ मा हेभिवेट भिडन्त, ‘सीमा रक्षक’ देवनारायण पनि मिसिए

जनकपुरधाम । ‘सीमा रक्षक’ को पहिचान बनाएका देवनारायण यादवले पनि सप्तरी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने घोषणा गरेका छन् । उनले नेकपा एमालेबाट प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिने भएका हुन् ।

सप्तरी–२ अघिल्लो निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव चुनाव जितेको क्षेत्र हो । यही क्षेत्रबाट चुनाव लड्ने घोषणा केही दिनअघि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले गरेका थिए । लगत्तै यादवले पनि सोही क्षेत्रबाट लड्ने घोषणा गरेका हुन् ।

माओवादी केन्द्रको तर्फबाट पूर्व मन्त्री उमेश यादव र पूर्व मन्त्री जयप्रकाश ठाकुर पनि सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् । हेभिवेटहरुको उम्मेदवारीले यो क्षेत्रमा चुनावी भिडन्त रोचक हुने देखिएको छ ।

को हुन् देवनारायण ?

देवनारायण यादव सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ बासिन्दा हुन् । भारतले सीमा क्षेत्रमा अनधिकृत रूपमा निर्माण गरेका भौतिक संरचना र बाँध २०७३ साउन १३ मा यादवको नेतृत्वमा स्थानीयले भत्काएका थिए । त्यसपछि उनलाई ‘सीमा रक्षक’ को उपमा दिइएको हो ।

सीमा क्षेत्रका अनधिकृत भौतिक संरचना र बाँध भत्काएकै कारण उनलाई एसएसबीले पक्राउ गरी निर्घात कुटपिट गरेको थियो । साथै भारतीय प्रहरीले उनीमाथि अपहरण मुद्दासमेत चलाएको थियो । त्यसपछि राष्ट्रिय चर्चामा आएका थिए देवनारायण ।

उनको राजनीतिक पृष्ठभूमि भने कांग्रेससँग जोडिएको छ । ०५४ सालमा कांग्रेसबाट उनी क्षेत्रपाल बनेका थिए । ०७४ असोज २६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट टिका लगाएर यादव एमाले प्रवेश गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर