नयाँ क्रिकेट प्रशिक्षककाे धमिलो पृष्ठभूमि : म्याच फिक्सिङमा भोगेका थिए ५ वर्षको प्रतिवन्ध – Nepal Press

नयाँ क्रिकेट प्रशिक्षककाे धमिलो पृष्ठभूमि : म्याच फिक्सिङमा भोगेका थिए ५ वर्षको प्रतिवन्ध

काठमाडौं । नेपाली राष्ट्रिय टिमका प्रमुख प्रशिक्षकका रुपमा भारतीय पूर्वक्रिकेटर मनोज प्रभाकरको नियुक्ति विवादित बन्ने सम्भावना देखिएको छ । उनी म्याच फिक्सिङको अभियोगमा भारतीय क्रिकेट बोर्डबाट पाँच वर्षको प्रतिवन्ध भोगेका व्यक्ति हुन् ।

दायाँ हाते ब्याट्सम्यान तथा मध्यम गतिका बलर प्रभाकार १९९० को दशकमा भारतको राष्ट्रिय टिमका नियमित सदस्य थिए । उनी तल्लो क्रममा ब्याटिङ गर्ने गर्थे भने यदाकदा ओपनिङमा पनि आउँथे । उनको बलियो पक्ष चाहिँ बलिङ हो । उनी इन स्वीङ र आउट स्वीङ दुवैमा पोख्त थिए ।

भारतका लागि प्रभाकरणले ३९ टेस्ट र १३० ओडीआइ खेलेका छन् । उनले टेस्टमा ९६ विकेट र ओडीआइमा १५७ विकेट लिए । ब्याटिङतर्फ टेस्टमा १६०० र ओडीआइमा १८५८ रन बनाएका थिए ।

प्रभाकरका नाममा एउटा टेस्ट शतक र दुई ओडीआइ सतक रहेका छन् । १९९५–९६ को विश्वकपपछि प्रभाकारको करिअर निराशाजनकरुपमा अन्त्य भएको थियो । आफ्नो अन्तिम म्याचमा उनले श्रीलंकाविरुद्ध ४ ओभरमै विनाविकेट ४७ रन खाएका थिए । त्यसपछिको म्याचमा उनलाई ड्रप गरियो भने लगत्तै उनले सन्न्यास घोषणा गरे ।

राष्ट्रिय क्रिकेटरका रुपमा औसत सफल प्रभाकरमाथि म्याच फिक्सिङको दाग छ । खासमा प्रभाकरले भारतीय लिजेन्ड कपिल देवले आफूलाई म्याच फिक्सिङका निम्ति २५ लाख भारुको अफर गरेको भन्दै एक मिडियालाई अन्तरवार्ता दिएका थिए । तर, सो अन्तरवार्ता उनका निम्ति आत्मघाती भयो । प्रहरी अनुसन्धानमा अन्ततः प्रभाकरले नै म्याच फिक्सिङ गरेको ठहरियो । उक्त प्रकरण यस्तो छ:

सन् १९९९–२००० मा भारतले दक्षिण अफ्रिकाविरुद्ध होम सिरिज खेलेको थियो । उक्त सिरिज सकिएलगत्तै दिल्ली पुलिसले दक्षिण अफ्रिकाका कप्ता हेन्सी क्रोनियको एउटा अडियो टेप भेट्यो, जसमा एक बुकीसँग उनले टेलिफोनमा आर्थिक लेनदेनको कुराकानी गरेका थिए ।

अनुसन्धानका क्रममा क्रोनियले पैसा लिएर भारतविरुद्धको म्याचमा खराब प्रदर्शन गर्न तयार भएको आरोप स्वीकारे । दक्षिण अफ्रिकाले उनलाई तत्काल क्रिकेटबाट प्रतिबन्ध लगायो ।

क्रोनियले प्रहरीसँग भारतीय खेलाडीहरु मोहम्मद अजहरुद्दिन र अजय जडेजा तथा पाकिस्तानका सलिम मलिक पनि म्याच फिक्सिङमा संलग्न रहेको दाबी गरेका थिए । त्यसका अनुसार भारतीय प्रहरीले अनुसन्धान गर्दा उनले नाम लिएका दुवै खेलाडी दोषि ठहरिए । उनीहरूलाई पनि प्रतिबन्ध लाग्यो ।

दक्षिण अफ्रिकाका क्रोनियका टिममेट हर्सेल गिब्सले पनि आफूले म्याचमा खराब प्रदर्शनका लागि घुस लिएको स्वीकारेका थिए । तर, जुन म्याचका लागि उनले घुस लिएका थिए, त्यसमा उनले ५० बलमा ७० रन हानेका थिए । पैसा लिए पनि प्रदर्शनमा सम्झौता नगरेकाले गिब्सले १ वर्षको मात्रै प्रतिबन्ध भोग्नुपर्यो ।

यसरी म्याच फिक्सिङ प्रकरणले तत्कालका पिटिरहँदा भारतीय क्रिकेटर मनोज प्रभाकारले सञ्चारमाध्यममार्फत सनसनी खुलासा गरे । उनले आफूलाई भारतीय टिमका पूर्वकप्तान कपिल देवले २५ लाख घुस अफर गरेको भन्दै तहेल्का डट कम नामक म्यागजिनलाई अन्तरवार्ता दिएका थिए ।

यो कुरा सचिन तेन्दुलरकरलाई पनि थाहा भएको उनको दाबी थियो । प्रभाकारले यति गम्भीर आरोप लगाएपछि कपिल देव एउटा टेलिभिजनमा अन्तरवार्ता दिँदै धुरुधुरु रोएका थिए । उनले म्याच हार्न घुस दिनुभन्दा बरु आफूले आत्महत्या गर्ने बताएर सहानुभूति बटुल्ने कोसिस गरे ।

प्रभाकारको दावीका विषयमा भारतको केन्द्रीय अनुसन्धान विभाग (सीबीआइ) ले अनुसन्धान गर्यो । तर, कपिल देवको दोष ठहर भएन । बरु वेस्ट इन्डिजविरुद्धको एउटा म्याचमा प्रभाकारले नै घुस लिएर खराब प्रदर्शन गरेको भेटियो । अन्ततः बीसीसीआइले ६ वर्षका लागि क्रिकेटबाट प्रतिबन्ध लगाइदियो । यसरी आफूले खनेको खाल्डोमा प्रभाकर आफैं जाकिए ।

भारतीय क्रिकेट टिमका कप्तान अजहरुद्दिनले सीबीआइसँग आफू म्याच फिक्सिङमा संलग्न रहेको स्वीकार गरेका थिए । दक्षिण अफ्रिका विरुद्ध, १९९६ मा, श्रीलंकाविरुद्ध १९९७ मा र पाकिस्तानविरुद्ध १९९९ मा म्याच फिक्सिङ गरेको उनको स्वीकारोक्ति थियो । यस विषयमा थप अनुसन्धान गर्दा सीबीआइले अजहरुद्दिनसहित अजय जडेजा, मनोज प्रभाकारलाई पनि दोषि ठहर गर्यो ।

अजहर र अजय शर्मालाई बीसीसीआइले आजीवन प्रतिबन्ध लगायो । यस्तै जडेजा र प्रभाकरलाई पाँच–पाँच वर्षको प्रतिवन्ध लागेको थियो । सन् २००३ मा दिल्ली हाइ कोर्टले जडेजालाई सफाइ दियो भने सन् २०१२ मा आन्ध्र प्रदेश हाइ कोर्टले अजरुद्दिनमाथिको प्रतिवन्ध हटाएको थियो । प्रभाकरले भने पाँच वर्षकै प्रतिवन्ध खेपे ।

सन् २००५ मा प्रतिवन्ध सकिएपछि प्रभाकरले विभिन्न टिममा प्रशिक्षकको भूमिका निभाउँदै आएका छन् । उनी सन् २००७–०८ को रणजी ट्रफीमा गौतम गम्भीर कप्तान रहेको दिल्ली टिमका प्रशिक्षक थिए । उनले अफगानिस्तान राष्ट्रिय क्रिकेट टिमको बलिङ कोचका रुपमा पनि काम गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *