दिलिप बिष्टले किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप, तर उजुरी परेन – Nepal Press

दिलिप बिष्टले किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप, तर उजुरी परेन

कैलाली । चार वर्षअघि निर्मला हत्या प्रकरणमा पक्राउ परेर छुटेका कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का दिलिप विष्टले फेरी किशोरीमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ ।

साउन १२ गते निर्मलाको साइकल भेटिएको स्थान नजिकै बिष्टले एक किशोरीलाई हातपात गर्न खोजेको उनका अभिभावकले प्रहरीलाई मौखिक जानकारी दिएका छन् ।

बिष्टलाई प्रहरीले चार वर्षअघि निर्मला पन्तको बलात्कार र हत्याको आरोपमा पक्राउ गरी सार्वजनिकसमेत गरेको थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट डिएसपी अंगुर जिसीको कमान्डमा खटिएको विशेष टोलीले पन्तको बलात्कार र हत्या बिष्टबाट भएको निष्कर्ष निकालेको थियो । तर पछि डीएनए नमिलेका कारण उनलाई छाडियो । उक्त घटनामा अहिले पनि अनुसन्धान चलिरहेको छ ।

प्रहरी हिरासतबाट निस्के यता आफ्नै दुनियाँमा फर्केका विष्ट अहिले फेरि यौन दुर्व्यवहारमा मुछिएका हुन् । प्रहरी स्रोतका अनुसार गत साता किशोरीका अभिभावकले बिष्टविरुद्ध प्रहरीलाई मौखिक उजुरी गरेका थिए । तर, लिखित उजुरी भने परेको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामसिंह चौधरीले भने, ‘बिष्टले किशोरीलाई दुर्व्यवहार गरेको हामीलाई उनका परिवारका सदस्यहरूले बताएका छन् । यस विषयमा थप बुझिरहेका छौँ ।’

किशोरीलाई बिष्टले जिस्काउने, अपशब्द बोल्ने गर्नुका साथै समात्न खोजेको परिवारको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर