अकुत आर्जन र ‘कान्छी’ सँगको लफडाले प्रहरी फन्दामा परे ‘हाइप्रोफाइल’ व्यवसायी अमित श्रेष्ठ – Nepal Press

अकुत आर्जन र ‘कान्छी’ सँगको लफडाले प्रहरी फन्दामा परे ‘हाइप्रोफाइल’ व्यवसायी अमित श्रेष्ठ

काठमाडौं । विदेशी मुद्राको गैह्रकानुनी र शंकास्पद कारोबारमा पक्राउ परेका अमित श्रेष्ठ लामो समय प्रहरीका उच्च अधिकारीहरुसँग सुमधुर सम्बन्धमा रहेका व्यवसायी हुन् ।

प्रहरीले चाहेको भए धेरै वर्ष पहिला उनी पक्राउ पर्ने तल्लो तहका अनुसन्धान अधिकारीहरु बताउँछन् । तर उच्च सुरक्षा अधिकारीहरुसँगको साँठगाठमा श्रेष्ठले आफूविरुद्ध लागेका आरोपहरुसमेत निरन्तर दबाउन सफल भएको बताइन्छ । एक समय उनले प्रहरीबाट गोप्यरुपमा पीएसओसमेत पाएको चर्चा चल्ने गरेको थियो ।

२०७७ सालमा नुवाकोटको विदुर नगरपालिका स्थायी घर भएका अमितको नाममा बा १० च ८००९ नम्बरको ल्यान्डरोभर जिप, बा १६ च ९८८८ नम्बरको प्राडो जिप, अमान्सु ट्रेडर्स र होटल द ह्वाइट लोटस भ्यु प्रालीमा सेयर, विशाल सिमेन्टमा १० लाख ४५ हजार कित्ता सेयर, चार ठाउँमा जग्गा, युनाइटेड मोदी हाइड्रो पावर लिमिटेडमा ४ हजार ३ सय ५९ कित्ता सेयर र सिंगटी हाइड्रोमा ३५ हजार कित्ता रहेको पाइएको थियो ।

श्रीमती र दुई छोराछोरी क्यानडामा रहेका बेला श्रेष्ठ कुपन्डोलस्थित निजी अपार्टमेन्टमा उमेरले आफूभन्दा १२ वर्ष कान्छी झापाकी कन्चन खत्रीसँग लिभिङ टुगेदरमा थिए । विभिन्न समयमा अदालतलाई लेखेका जवाफमा अमितले कन्चनसँग परिबन्धमा परेर विवाह गरेको, पेटमा बच्चा रहेपछि अंशस्वरुप अपार्टमेन्ट दिएको उल्लेख गरेका छन् ।

‘विपक्षी कन्चन खत्रीले अंश माग गरेकाले वादी नाबालक छोरा गर्भ रहेको अवस्थामा नै विपक्षी कन्चन खत्रीले म प्रतिवादीसँग मालपोत कार्यालय ललितपुरबाट अंश बुझी लिई भिन्न भिन्न बसेको’, अमितले अदालतलाई दिएको निवेदनमा उल्लेख छ ।

आफ्नो विश्वास नभएको भन्दै कन्चनले अंश मागेपछि पाँच अंशियार भाग लगाएर उनलाई अपार्टमेन्ट पास गरिदिएको अमितले उल्लेख गरेका छन् ।

‘विपक्षी कन्चन खत्री र मेरो बीचको सम्बन्धलाई विवाह दर्ता गर्ना साथ छोटो समयमा कटुता आई विपक्षी कन्चन खत्री गर्भ अवस्थामा रहँदा समेत अंश चाहियो भनि बारम्बार कलह गरेको’, अमितले भनेका छन् । कन्चनले २०७५ माघ १० गते अयान श्रेष्ठलाई थाइल्यान्डमा जन्म दिएकी थिइन् ।

अमितको दाबीअनुसार अंश दिएर छुट्टाछुट्टै बसे पनि श्रीमती र बच्चाको जिउ ज्यानको सुरक्षा ख्याल गर्दै उनले कन्चनलाई थाइल्यान्डमा लगेका थिए । तर बच्चा शारीरिकरुपमा अस्वस्थ जन्मिएकाले दुईबीच तनाव अझ बढ्यो । अयानको हकमा संरक्षक बनेर उनले २०७६ सालमा कन्चनले अंश मुद्धा दायर गरिन् ।

‘म प्रतिवादीले नाबालक छोराको लालन पलान पोषण औषधी उपचार गर्न र बच्चाको नाममा जग्गा जमिन किन्न भनि खर्चसमेत बारम्बार मासिक रुपमा विपक्षी कन्चन खत्रीलाई बच्चाको लागि भनि बच्चा पेटमा भएदेखि खर्च पठाउँदा पठाउँदै म प्रतिवादीलाई अनावश्यक लान्छना लगाई म प्रतिवादीसमेत उपचार विपक्षीले बारम्बार म विदेशमा भएको अवस्थामा को कसको मिलेमतोमा मुद्धा हालेको’, अदालतसमक्ष गरेको निवेदनमा अमितले भनेका छन् ।

अदालतमा पुगेको पहिलो अंश मुद्दा ’आपसी मिलापत्र’पछि कन्चनले २०७६ कात्तिक १८ गते फिर्ता लिएकी थिइन् । तर कन्चनले त्यसको केही समयमा फेरि अंश मुद्दा हालिन् ।

अमितले विशाल सिमेन्टको नाममा रहेको ठुलो परिमाणको सेयरसहित विभिन्न ठाउँको हिस्सा बिक्री गरेको सूचना पाएपछि कन्चन अदालत पुगेको जानकारहरु बताउँछन् ।

तीन वटा मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७७ भदौ ३० गते, २०७७ असोज २ गते र २०७७ असोज ९ गते छुट्टाछुट्दै आदेश दिएर अमित जोडिएको सम्पत्तिहरु रोक्का भएको थियो ।

अदालतको सोही निर्णयविरुद्ध अमितले सम्पत्ति रोक्का फुकुवा हुनुपर्ने भन्दै अदालतमा निवेदन दिएका थिए । कन्चनले आफ्नो हकको सम्पत्ति लिइसकेको र अयानले पाउनुपर्ने सम्पत्ति उनी बालिग भएपछि पाउने भन्दै उनले निवेदन दिएका थिए । यहीबीचमा अमितले कन्चनविरुद्ध विद्युतीय अपराध गरेको भन्दै उजुरी हालेका थिए ।

आफ्नो एटिएमबाट अनधिकृतरुपमा पैसा निकालेको भन्दै उजुरी गरेपछि कन्चन पक्राउ परेकी थिइन् । पछि गाडीसमेत अनधिकृतरुपमा चलाइरहेको भन्दै अमितले लफडा गराएका थिए । तर यी तीनवटै विषय ‘मिलापत्र’मा टुंगिएको यी दुईबीचको घटनाक्रमलाई नजिकैबाट हेरेका अधिकारीहरु बताउँछन् । दुवै पक्षबाट व्यापक शक्तिको प्रयोग भएको बताइन्छ ।

अमितले अदालतमा दिएको निवेदनमा उल्लेख भएअनुसार कन्चनले अंशबापतको अपार्टमेन्ट लिनुअघि उनले ती महिलालाई सन् २०१४ मा एक लाख ९० हजार, सन् २०१५ मा जनता मिडिया प्रालिको नाममा ३ लाखको सेयर खरिदसहित ६ लाख १३ हजार, सन् २०१६ मा जनता मिडिया प्रालिको एक लाखको सेयर खरिदसहित ३ लाख ७७ हजार, सन् २०१७ मा जनता मिडिया प्रालिको एक लाखको सेयर खरिदसहित २२ लाख ४५ हजार रुपैया र सोही वर्ष कन्चनको नाममा १२ लाख रुपैयाँमा स्यान्ट्रो कार किनिदिएको उल्लेख गरेका छन् ।

यस्तै डिभाइन नेटवर्क प्रालिको १५ लाख रुपैयाँको सेयर कन्चनलाई किनिदिएको र सन् २०१८ मा कन्चनकी आमालाई २५ लाख रुपैयाँ दिएको सम्पत्ति रोक्का फुकुवाको निवेदनमा उल्लेख छ ।

अमितले यत्रो सम्पत्ति कहाँबाट कसरी कमाए भन्नेबारे अनेक आशंका र प्रश्नहरु उठ्दै आएपनि उनी छानबिनको दायरामा आउन सकेका थिएनन् ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले ४ साताअघि अमितलाई काठमाडौंबाट पक्राउ गर्दा माथिको निर्देशन रहेको बताइन्छ । विदेशी मुद्रा कारोबारसम्बन्धी संकास्पद भूमिका देखिएको भन्दै प्रहरीले अमितलाई पक्राउ गरेको थियो ।

उनी डिजिटल करेन्सी अर्थात क्रिप्टोको कारोबारमा संलग्न रहेको दाबी प्रहरीको थियो । सुरुमा अभद्र कसुरमा हिरासतमा राखिएका अमितको मोबाइल र ल्यापटपको फरेन्सिक परिक्षणपछि विदेशी मुद्राको अनअधिकृत कारोबारमा अनुसन्धान थप अगाडि बढाइएको थियो ।

सरकारी वकिल कार्यालयले राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ अनुसार माग दाबी लिएर आइतबार अमितविरुद्द जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ । यस दफाअनुसार प्रचलित कानूनबमोजिम बैंकबाट इजाजतपत्र नलिई विदेशी मुद्राको कारोबार गरेमा सम्बन्धित विगो जफतसहित बिगोको तीन गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

त्यसअघि प्रहरीले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १०३ को उपदफा ’घ’ अनुसार सजाय माग गर्न सरकारी वकिल कार्यालयलाई राय दिएको थियो ।

उक्त उपदफामा इजाजतबिना विदेशी विनिमयसम्बन्धी कारोबार गर्न नहुने र त्यसो गरेमा बिगो जफत गरी बिगोबमोजिम जरिवाना र एक वर्षसम्म कैद हुनसक्ने व्यवस्था छ ।

अमित पछिल्लो पटक पक्राउ पर्नुका पछाडि यसअघि उनको नेक्ससमा रहेका अधिकारीहरु अहिले पावरलेस हुनु र विदेशी मुद्रा कारोबारमा राष्ट्र बैंकले निगरानी र कडाई बढाउनुलाई मुख्य कारण मानिएको छ ।

प्रहरीका अनुसार अमितको नाममा कमन वेल्थ बैंक अफ अष्ट्रेलियाबाट एक लाख ९४ हजार २८५ अष्ट्रेलियन डलर र रोयल बैंक अफ क्यानडाबाट एक लाख ८७ हजार ४२१ क्यानेडियन डलर कारोबार भएको देखिएको छ । यस्तै रोयल बैंक अफ क्यानडाबाट सेयर कारोबारसमेत देखिएको प्रहरीको दाबी छ ।

श्रेष्ठको एभरेष्ट बैंकबाट २ करोड ६ लाख ६ हजार ६९२ र एनआइसी एसियाबाट ६५ लाख २४ हजार ९१० रुपैयाँ कारोबार देखिएको प्रहरीले जनाएको छ । यस्तै नबिल बैंकमा ६७ हजार ५९६ क्यानेडियन डलर र ६५ लाख नेपाली रुपैयाँ रहेको पाइएको छ । उनको कलंकी र लाजिम्पाटमा जग्गा छ ।

काठमाडाैं प्रहरीले कार्यालयले अमितको सम्पत्ति श्रोत शंकास्पद देखिएको भन्दै सम्पत्ति शुद्धिकरण विभागलाई पनि अनुसन्धान गर्न पत्राचार गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर