विभेद नहुने गरी आदिवासी समुदायको सूचीकरणका लागि पहल हुनुपर्छ : मन्त्री श्रेष्ठ – Nepal Press

विभेद नहुने गरी आदिवासी समुदायको सूचीकरणका लागि पहल हुनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले राज्यका सबै ठाउँमा हुने विभेद अन्त्य हुने गरी आदिवासी समुदायको सूचीकरणका पहल गर्नुपर्ने बताएका छन् ।

आदिवासी जनजातिहरूको सूचीकरणको समस्या र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले के गर्दा राज्यमा पहुँच, पहिचान र प्रतिनिधित्व व्यवस्थित हुन्छ त्यसैका आधारमा अगाडि बढ्नुपर्ने बताए ।

एउटै जातिमा पनि फरक भाषा भएकै आधारमा अलग हौँ भन्ने संस्कृतिको विकास हुन थालेको भन्दै उनले आदिवासीहरूको इतिहासको सम्मान कसरी हुन्छ सबैले सोचेर अगाडि बढ्नु आजको आवश्यकता रहेको बताए ।

उनले भने, ‘कतिपय जातिहरूमा एकीकरणको अभियान अहिले छ कतिपयमा अलग अलग जाने अभियान छ । खस आर्य थकाली समुदायमा सूचीकरण फरक फरक भएको छ । हिजो जे भए पनि यो हुनु वैज्ञानिक तरिकाले ठिक थियो या थिएन भन्ने कुराको समीक्षा गर्नुपर्छ । भाषा अलग हुने बित्तिकै अलग जाति हुन्छ कि हुँदैन ? राज्यको सबै ठाउँमा हुन सक्ने विभेदको अन्त्य गर्दै हाम्रो इतिहास कायम हुनुपर्छ । ’

अहिले नेवार, राई, मगर र थारु समुदायभित्र पनि अलग अलग भाषा चलनचल्तीमा रहेको स्मरण गर्दै मन्त्री श्रेष्ठले एउटै समुदायका विविध भाषाहरूलाई संरक्षण गर्दै सूचीकरण समस्या कसरी सामान गर्ने भन्ने तर्फ सबैले ध्यान दिनुपर्ने बताए ।

२८ औँ आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रम मन्त्री श्रेष्ठले भने, ‘यसको समाधान के ? यसको समाधानका लागि राज्यको सबै ठाउँमा हुन सक्ने विभेदको अन्त्य गर्दै सबैको समताका लागि काम गरौँ ठिक नीति लिएर काम गरौँ भन्ने लाग्छ । सबैले एक किसिमको सोचाइ धारणाको विकास हुनुपर्छ । के गर्दा राज्यमा पहुँच, पहिचान र प्रतिनिधित्व व्यवस्थित हुन्छ त्यसका आधारमा अगाडि बढौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर