तलब र कानूनमा विभेद गरिएको भन्दै अर्थमन्त्रालयमा नासुको आन्दोलन (भिडिओ) – Nepal Press

तलब र कानूनमा विभेद गरिएको भन्दै अर्थमन्त्रालयमा नासुको आन्दोलन (भिडिओ)

काठमाडौं । असमान रुपमा तलबमान बढाएको भन्दै नायब सुब्बाहरु आन्दोलनमा उत्रिएका छन् । सिहंदरबारमा कार्यरत नासुहरु आज अर्थ मन्त्रालयमा भेला भएर असमान तलववृद्धिको विरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले आज पेन डाउन गरेर काम ठप्प बनाएका थिए । नेपाल निजामती कर्मचारी युनियनले आन्दोलनका कार्यक्रमअन्तर्गत मंगलबार देशैभरका नासु बिदामा बस्ने चेतावनी दिएका छन् ।

असमान तलब वृद्धिका विरूद्ध र प्रस्तावित संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने मागका सन्दर्भमा आन्दोलन गरिरहेको नेपाल निजामती कर्मचारी युनियनको भनाइ छ ।

निजामतीतर्फका नायव सुब्बाहरूले नासुमारा ऐन चाहिदैन, नासुलाई बढुवामा हेप्न पाइँदैन, कुनै एक पदमा कार्यरत कर्मचारी अधिकतम १० वर्षमा माथिल्लो पदमाा बढुवा हुने व्यवस्था गरलगायतका माग राखेर चरणबद्ध संघर्ष गरिरहेका छन् ।

मर्यादाक्रम मिलाउने नाममा सरकारले बजेटमा घोषणा गरेभन्दा तलब ९ प्रतिशतसम्म बढी बनाउन प्रस्ताव गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमामाथि तल्ला तहका कर्मचारीले विरोध गर्दै सबैको समान ढंगले तलब बढाउनुपर्ने माग गरेका छन्  ।

चालु वर्षको बजेटबाट सरकारले कर्मचारीको तलव १५ प्रतिशतले बढाएको थियो तर अर्थ मन्त्रालयले शाखा अधिकृतभन्दा माथिको तलव भने २४ प्रतिशतसम्म बढाउन प्रस्ताव गरेको हो ।

अर्थ मन्त्रालयले अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको थियो । आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराउने तयारी भएको थियो ।
बढाइएको तलबमापनअनुसार शाखा अधिकृतहरुले अब साउनबाट २४ प्रतिशत , उपसचिवहरूले २३.३ प्रतिशत, सहसचिवहरूले २३.३ प्रतिशत र सचिवहरूले १८.४ प्रतिशत बढी तलब पाउनेछन् । तर सरकारबाटै यसरी कर्मचारीभित्रै विभेदपूर्ण तरिकाले तलब मापन गरिएपछि असन्तुष्टि सुरु भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *