सत्ताले फोर्न नसकेको ढुंगो अर्थात् खुवालुङ – Nepal Press
नाटक समीक्षाः

सत्ताले फोर्न नसकेको ढुंगो अर्थात् खुवालुङ

०७७ फागुन ८ मा विराटनगर पुगेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘पानीजहाजले चतराबाट ११ मिनेटमा भोजपुर पुर्‍याउँछ र ल्याउँछ । त्यहाँ बाधा भएको एउटा ढुंगोलाई क्रेन लगाएर फुटाउँदैछौं । र नदीको बाटो क्लियर गर्दैछौं ।’

ओलीले संकेत गरेको ढुंगो किराती समुदायको आस्थाको केन्द्र हो । त्यही ढुंगोलाई मियो बनाएर निर्मित मिथक र कथनहरुबाटै किराती सभ्यता र ऐतिहासिकताको फेहरिस्त निस्किन्छ ।

तर, ओलीको त्यस्तो अभिव्यक्तिपछि राई समुदाय आक्रोशित बन्यो । सामाजिक संजालमा टिकटिप्पणी भए । वर्षमा दुईपटक टुँडिखेलमा दौरा सुरुवाल र गुन्यूचोलो लगाएर ‘छ्याङ’ खानकै लागि मात्रै पुग्ने पुस्ताले पनि ‘खुवालुङ’बारे थाहा पाए । विरोध चर्कियो, आन्दोलन भए । खुवालुङ नै पुगेर अभियन्ताहरुले नाराबाजी गरे । अन्ततः प्रदेश १ सरकारले बजेट विनियोजन गरिसकेका ढुंगो फुटाउने ‘प्रोजेक्ट’ रोकियो । र किरातीहरुको मुन्दुमी मान्यता र विश्वासमा बाँचेको ‘खुवालुङ’ जोगियो ।

दूधकोशी–सुनकोशी, अरुण र तमोर नदीको संगमस्थल त्रिवेणीको जलाशयमा अवस्थित त्यही खुवालुङमाथि अहिले मण्डला थिएटरमा नाटक मन्चन भइरहेको छ । राजन मुकारुङद्धारा लिखित र किरण चाम्लिङद्धारा निर्देशित ‘खुवालुङ’ले किरात सभ्यताको विस्तार, माटो र प्रकृतिमाथिको आदिवासी विस्वास, जीवन दृष्टिकोणका अवयवहरुलाई केलाउने प्रयास गरेको छ ।

आउनुहोस्, नाटक चिरफारमा जानुअघि ‘खुवालुङ’को रोचक मिथकलाई एकफेर मज्जाले नियालौं ।

‘खुवा’ अर्थात् राज्य, सीमा, क्षेत्र र ‘लुङ’ भन्नाले ढुंगो । संस्कृतिविद् चन्द्र हतुवाली ‘किरात राई संस्कृति’ पुस्तकमा लेख्छन्, ‘प्राचीन किरात बसोेबास क्षेत्रको सीमा ढुंगोका रुपमा खुवालुङलाई लिइन्छ ।’

धनकुटा, भोजपुर र उदयपुरको सिमानामा पर्ने खुवालुङबारे मुन्दुममै पनि जब बिजुवाले सृष्टिको कथा भन्न सुरु गर्छन्, खुवालुङको प्रसंग आउने गर्छ । खुवालुङ आएपछि बिजुवाले गीत र नाचको लय बदल्छन् ।

राजनीतिक र पुरातात्विक महत्व बोकेको मैनामैनीगढी अहिले पनि उदयपुरमा छ । भनिन्छ, सप्तकोसी किनार क्षेत्रमा किरातीले राज्य गर्दा उदयपुरको बेलकागढी केन्द्र थियो । अहिले बेलकागढी उदयपुर जिल्लाको बेलका नगरपालिकामा पर्छ भने खुवालुङ बेलकाको सिमानामा पर्छ ।

मिथक अनुसार किरातीहरुका पुर्खा मुकुबुङ(भोटे), हर्कबुङ(किरात) र रिब्लुङ(थारु) तीन दाजुभाइ थिए । उनीहरु मधेसतिरबाट नदीको किनार पछ्याएर हिँड्दै खुवालुङ आइपुग्दा त्यहाँको ढोका बन्द थियो । तर, जेठो मुकुबुङले जुरेली चराको भोग दिएपछि ढोका खुल्यो र नदी तरे ।

माइलो हर्कबुङले पार गर्न सकेनन्, पारी पुगेका दाइलाई सोध्दा ‘चेलीको रगत पार्नू’ भने । अनि चेलीको खुट्टाको कान्छी औंला काटेर रगत दिएपछि ढोका खुल्यो र तरे । तर, चेलीको खुट्टामा रगत रोकिएन । तुरुन्तै चेलीको मृत्यु भयो । चेलीको रगत केराको पातमा खसेको थियो । त्यो पात बाख्राले खायो । त्यसैले राईहरुले बाख्रालाई कुलपित्रमा चलाउँदैनन् । बाख्राको मासु खान नहुने पनि जनविस्वास छ ।

खुवालुङबाट फैलिएका किराती पुर्खाहरु तमोर पछ्याउनेहरु लिम्बु भए । अरुण पछ्याउनेहरु मेवाहाङ, याम्फु, लोहोरुङ आदि भए । दुधकोशी पछ्याउनेहरु राईहरु अर्थात् खम्बुहरु भए । सुनकोशी पछ्याउनेहरु सुनुवार, जिरेल, सुरेल भए ।

यही मिथकलाई टेकेर अहिले ‘खुवालुङ’ चलिरहेको छ । राजनीति छेउछेउ बगेर जोगिएको खुवालुङ अर्थात् ढुंगोको कथा पनि राजनीतिक घटनाक्रमबाटै विकास गरिएको छ । मेयर, ठेकेदारहरु जहाजमा चढेर सयर गरिरहेको वेला अचानक जहाजमा बाधा आइपर्छ । जहाज अगाडि जान नसक्ने अवस्थामा पुग्छ । दूरबिनले हेर्दा थाहा हुन्छ, त्यहाँ ढुंगो छ । र उक्त ढुंगो फुटाएर बाटो क्लियर गर्न नेपथ्यबाट आदेश प्राप्त हुन्छ ।

दृश्यमा हाँसीमजाकमै त्यत्रो विश्वास र आस्था बोकेको ढुंगो फुटाउन निर्णय गरिएको छ । हाँसीमजाक किन ? हाम्रा राजनीतिक नेतृत्व कहिल्यै आदिवासी तथा भूमिपुत्रमाथि गम्भीर बन्यो ? कहिल्यै सीमान्तकृत र राज्यको पहुँचबाट टाढा रहेकाहरुप्रति उदार बन्यो ?

मजाक–मजाकमै उनीहरु निर्णय गर्दछन् । मजाक–मजाककै उनीहरु रंगशालाका नाममा आदिवासी चिहान उधिन्न उद्दत बन्छन् । रमाइलोमै उनीहरु आदिवासीको देउथानमा डोजर कुदाउँछन् । राज्यसत्ता जहिल्यै अनुदार किन ?

चेफा बगाइरहेका बाजे–नातीलाई किनारमा साक्षी राख्दै ढुंगो फुटाउन उद्दत राज्यसत्तामाथि गम्भीर सवालहरु छाडेर नाटक मिथकभित्र प्रवेश गर्छ । नाटकमा मिथकमा झैं दाजुभाइ छन् । मिथकमा भनिए झैं उनीहरुको आफ्नै मौलिक परम्परा छ । जीवनशैली र विश्व दृष्टिकोण छ । मूलभूत पाटो त उनीहरु माटोलाई असाध्यै श्रद्धा गर्छन् ।

नाटकमा सम्बन्ध छ, प्रेम छ, जिम्मेवारी छ । नाटकमा रमाइलो छ, गम्भीरता छ । नाटकमा बाहिरबाट कोही उनीहरुको खोरियामा हमला गर्न आइपुग्छ । शत्रु पक्षका मुख्य नाइकेलाई नियन्त्रणमा लिइन्छ । सबै आक्रोशित भएर मार्न तम्तयार बन्छन् । तर, नाटककी मुख्य पात्र तथा चेली हाङसामाले मार्न दिँदिनन् । मुन्दुममा मान्छेलाई मार्नेबारे नलेखिएको बताउँछिन् । उनलाई मनले होइन, दिमागले सोच्न सबैले सुझाउँछन्, तर हाङसामा मान्दिनन् । र शत्रु–नाइकेको ज्यान बच्छ ।

हाङसामा एक उदाहरण मात्रै हुन्, आदिवासीहरु मनले बढ्ता सोच्ने भएकाले घुमुवा शत्रुहरुले कत्लेआम गरेका इतिहास प्रशस्तै छन् । प्रकृतिको पूजा गर्नु, कसैको कुभलो नचिताउनु, आपसमा रमाइलो गरेर बाँच्नु उनीहरुको पुख्र्यौली जीवनशास्त्र हो । उनीहरुको यही निर्दोषिताको फाइदा उठाउँदै घुमन्तेहरुले कत्लेआम गरे । नाटकको अन्त्यमा हाङसामा पनि त्यही शत्रु–नाइकेलाई बचाउन खोन्दा खुवालुङमा बग्छिन् । माछासँगै उकालो जान चाहेकी हाङसामालाई माछासँगै उभौलीमा आउनू, उधौलीमा चरासँगै जानु भनिन्छ ।

कान्छो भाइ सुत्केरी श्रीमतीसँग नदी तर्न सक्दैन । डोरीलाई पानीले बगाइसकेको हुन्छ । र ऊ उतै सृष्टि गरिखान्छु भन्छ । मिथक अनुसार त्यो कान्छा नै अहिलेको थारु हो ।

नाटक केही लामो छ । तर, दर्शकलाई बोर महसुस गराउँदैन । स्लो चलिरहेको दृश्यमा अचानक फास्ट ट्रयाक आइपुग्छ । उक्त ट्रयाकसँग नाटकले गति लिन्छ । विशेष गरेर संगीतको उत्कृष्ट संयोजनले दर्शकलाई खिचिरहन्छ । तर, पाश्र्व संगीतमा अझैं स्पष्टसँग किराती संस्कृति झल्किने बाजाहरु प्रयोग गरिएको भए हुन्थ्यो ।

शान्तसँग बजिरहेको पाश्र्व संगीतमा अचानक बाघ आउँछ । एक दृष्यमा हाङसामाको विजयोत्सवमा पाश्र्वमा ‘ङर्र ङर्र’ गरेर बाघ घुर्छ । बाघ नघुरेको भए पनि हाङसामाले विजय प्राप्त गरेकी थिइन् नै !

नाटक मिथकको बाटो समात्न बिर्सेर मधेसतिरै चारकोसे झाडीतिर अलमलिन्छ । नदीमा बगिरहेको पानीसँगै तिरमिर तिरमिर अलमलिन्छ । मिथकको लय छाड्नुमा नाटकलाई अझै सुन्दर बनाउनका लागि पनि निर्देशकले जोखिम लिएका हुन सक्छन् । तर, मिथक बिगार्ने अधिकार मिथकलाई नै छ । अथवा त्यसको जिम्मा समयलाई छँदैछ । निर्देशकले मिथक बिगार्ने प्रयास गरेर थोरै खल्लो महसुस अवश्य गराएका छन् ।

कलाकारहरुको जीवन्त अभिनयले नाटकलाई बलियो पक्कै बनाएको छ । दर्शकलाई हरेक पात्रसँगै खुवालुङको ढुंगोमा मिसिन बाध्य बनाउने कलाकार नै हुन् । उनीहरु विशेष धन्यवादका लायक अवश्य छन् । सँगै पर्दा पछाडि बसेर नाटकलाई सुन्दर बनाउने प्राविधिकहरुका्े भूमिका बडो कलात्मक लाग्छन् । नाटकमा गीत र त्यसका लयहरुले माझकिँरातमा बसेर नाटक हेरेको महसुस गराइरहन्छ ।

दर्शकलाई विशेष गरेर कस्ट्युमले खिच्छ । अनि कस्ट्युम अनुसारको लाइटले । सानो स्टेजमा डेढ–दुई घण्टाको परिधिमा जुगको कथा र अहिलेको कथा सँगै देखाउनु चुनौतीपूर्ण छ । तर, चुनौती मोलेका किरण चाम्लिङको नतिजा सुखद छ । राजनीतिक रुपमा नाटक यति सचेत छ कि त्यो ‘सचेतता’ नै नाटकको सबैभन्दा ठूलो शक्ति हो । आग्रह, पूर्वाग्रह नराखी राजनीतिक प्रवृत्तिलाई नाटकले छेडेको प्रश्न ती आदिवासीले चलाउने तीरभन्दा तीखा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *