२५ वर्षअघि अमेरिकी सभामुखको त्यो ताइवान भ्रमण, उसबेला पनि झस्किएको थियो चीन – Nepal Press
पेलोसी भ्रमण

२५ वर्षअघि अमेरिकी सभामुखको त्यो ताइवान भ्रमण, उसबेला पनि झस्किएको थियो चीन

इटहरी । गत अगस्ट २ (साउन १७) मा अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरिन् । एक चीन नीति मान्ने अमेरिकाकी सभामुखले चीनले भन्दै आएको एक चीन नीतिविरुद्ध हुने ताइवान भ्रमण गरेरै छाडिन् । ८२ वर्षकी अमेरिकाको सत्ताधारी दल डेमोक्रेटिक पार्टीकी सभामुख पेलोसीले एसियाली चार देश भ्रमणको सूची सार्वजनिक गरेकी थिइन् । अमेरिकी हवाई सेनाको विमानमा सबैभन्दा पहिले सिंगापुर पुगेकी उनी मलेसिया, दक्षिण कोरिया हुँदै जापान जाने घोषित कार्यक्रम थियो ।

तर, उनी सुटुक्क अगस्ट २ को साँझ ताइवान ओर्लिन् । ताइवान ओर्लिने संकेत भने धेरै अगाडिदेखि थियो । ताइवानका स्थानीय मिडियाले पेलोसीको एसिया भ्रमण हुनासाथ ताइवान सूचीमा नराखिए पनि ताइवानका होटल बुक भएको समाचार सार्वजनिक गरेका थिए । पेलोसीले पनि ताइवान जाने प्रतिबद्धता देखाएकी थिइन् । पेलोसी मूलतः चीनविरोधी कडा अभिव्यक्तिका कारण अमेरिकामा लोकप्रिय र चीनमा अलोकप्रिय छिन् ।

पेलोसीको भ्रमणले एसियाली क्षेत्रमा अशान्तिका संकेतहरु देखाएका छन् । चीनले ताइवानलाई बल प्रयोग गरेर चिनियाँ मूल भूमिसँग मिसाउनेस्तरकै सैन्य अभ्यास गरेको छ । ताइवान घेर्ने गरी ६ स्थानमा चीनले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली सैन्य अभ्यास गरेको छ । ताइवानतर्फ चीनले मिसाइलसमेत हानेको छ । जापानी आर्थिक क्षेत्रमा समेत चीनको मिसाइल पुगेको जापानी दाबी छ ।

विश्वका सात विकसित औद्योगिक राष्ट्रका परराष्ट्रमन्त्रीहरुले चीनको सैन्य अभ्यासको विपक्षमा वक्तव्य जारी गरेका छन् । चीनले ती देशका राजदूतहरुलाई बेलाएर विरोध गर्दै स्पष्टीकरण सोधेको छ । अमेरिकाले पनि चिनियाँ राजदूत बोलाएर विरोध जनाएको छ । अझ रोचक कुरा अमेरिकी अखबारहरुले पेलोसीको ताइवान भ्रमणपछि चिनियाँ रक्षा मन्त्रालयका अधिकारीहरुले अमेरिकी समकक्षीहरुको फोन रिसिब गर्न छोडेका छन् ।

यस विषयमा हालसालै अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिन्कनले समेत यो दुःख मानेका छन् । चीनले अमेरिकासँग जलवायु परिवर्तनदेखि लागुऔषध क्षेत्रमा गर्दै आएका विभिन्न क्षेत्रको सहकार्य तोडेको छ । एक कोणमा अहिले चीन र अमेरिकी कूटनीति सञ्चार लगभग बन्दै जस्तो भएको छ । हुन त जुलाई २८ मा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई घण्टा टेलिफोन कुराकानी भएको थियो । पेलोसीको सम्भावित ताइवान भ्रमणमा विरोध जनाउँदै सीले चेतावनी दिएका थिए, ‘आगोसँग खेल्नेहरु जलेर खरानी हुनेछन् ।’

सीको यस्तो चेतावनी पेलोसीले वेवास्ता गरिन् । उनको सभामुख पदको अन्तिम क्षणमा उनले आफू ताइवानको पक्षमा भएको देखाउन भ्रमण गरेरै छाडिन् । भ्रमण अगाडि अमेरिकी राष्ट्रपति जो बाइडेनले पेलोसीलाई यो भ्रमणको उचित समय नभएको भनेका समाचार आएका थिए । तर पनि पेलोसीले आफ्नो अडान छोडिनन् । त्यसैको फलस्वरुप चीन र अमेरिकी कूटनीतिक संकट पछिल्लो समयकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ ।

यस्तो थियो २५ वर्ष अगाडिको अमेरिकी सभामुखको भ्रमण कथा

पेलोसीको भ्रमण अमेरिकी अधिकारीले ताइवानमा गरेको २५ वर्ष अगाडिको भ्रमणपछिको उच्चस्तरीय भ्रमण हो भनेर धेरै मिडियामा आइसकेको छ । तर, भ्रमण कस्तो थियो ? प्रसंग के थियो ? यस्ता कुराहरु कमैमात्र चर्चामा आएका छन् । २५ वर्ष अगाडि ताइवान पुग्ने अमेरिकी सभामुख थिए न्यूट गिङरिच ।

तत्कालीन रिपब्लिकन पार्टीका सभामुख गिङरिच सन् १९९७ अप्रिल २ (२०५३ चैत २०) मा ताइवान ओर्लिएका थिए । उनी सत्ताधारी दलका सभामुख नभएकाले उनको भ्रमणलाई व्यक्तिगत भ्रमण मानिएको थियो । अमेरिकी सदनका १२ सदस्यहरु लिएर ताइवान भ्रमणमा गएका गिङरिचले चीनको समेत भ्रमण गरेका थिए । उनको भ्रमण तालिकामा हङकङ, चीन, ताइवान, जापान र दक्षिण कोरिया थियो । भ्रमणको दौरानमा उनले ताइवानका प्रथम प्रजातान्त्रिक पद्धतिबाट चुनिएर आएका राष्ट्रपति लि तेङ हुईसँग भेट गरेका थिए । गिङरिचको भ्रमणको समयमा अमेरिकी सभामुख र ताइवानी राष्ट्रपति दुवै पुरुष थिए ।

पेलोसीको भ्रमणको समयमा अमेरिकी सभामुख र ताइवान राष्ट्रपति दुवै महिला भएको संयोग बन्यो । अहिले ताइवानकी राष्ट्रपति साई इङ वेन छिन् । गिङरिचले २५ वर्ष अगाडि ताइवान भ्रमणमा चीनले ताइवानलाई आक्रमण गरेमा अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका थिए । सन् १९७९ मा ताइवानसँगको कूटनीतिक साइनो तोडेर अमेरिकाले चीनलाई मान्यता दिएको १७ वर्षपछि अमेरिकी सभामुखले दिएको यो वक्तव्यले ताइवान खुशी भयो । चीन बिच्कियो । तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले गिङरिचको भनाइ ‘व्यक्तिगत’ भएको भनेपछि चीन शान्त भएको थियो ।

हाल सक्रिय राजनीतिबाट अलग बसेर पुस्तक लेखनमा लागेका गिङरिचले चीनले उनी ताइवान जाने नै भएपछि सीधै ताइवान नगएर ट्रान्जिटको रुपमा मात्रै बनाउन आग्रह गरेको मिडियामा बताएका छन् । गिङरिचले २५ वर्ष अगाडि तीन घण्टामात्रै ताइवानमा बिताएका थिए । पेलोसीले २० घण्टा बिताइन् । अमेरिकाको चीनसँग कूटनीतिक साइनो जोडिएको १७ वर्षपछि भएको भ्रमण हङकङ बेलायतबाट चीनमा आउनुभन्दा तीन महिना अगाडि उनी ताइवान पुगेका थिए । सन् १९९७ जुलाई १ (२०५४ असार १७) मा हङकङ चीनको अधिनमा बेलायतबाट फिर्ता भएको थियो ।

पेलोसीको भ्रमणको रोचक कुरा २५ वर्ष अगाडि ताइवान चीनको विरोधका बावजुद ताइवान पुगेका ७९ वर्षका पूर्वसभामुख गिङरिचले पेलोसीलाई चीन जान सिफारिस गरेका थिए । अमेरिकामा चीनलाई बिच्क्याएर ताइवान जानु ठीक कि बेठीक भन्ने बहस हुँदा गिङरिचले फक्स न्यूजदेखि विभिन्न अमेरिकी मिडियासम्ममा बोल्दै जान सुझाएका थिए ।

२५ वर्ष अगाडि चीनसँग अमेरिका नजिकिन खोजेको युग थियो । २५ वर्ष अगाडि विपक्षी दलका सभामुखको भ्रमण थियो । त्यही कारण मुद्दा त्यति धेरै उचालिएन । तर, २५ वर्षपछिको अमेरिकी सभामुखको भ्रमणमा अमेरिका-चीन सम्बन्धमा देखिने दरार आएको युग छ । र, २५ वर्षपछिको सभामुख विपक्षी दलकी नभएर सत्ताधारी दलकै भएकाले समस्यामाथि समस्या थपिएको धेरै टिप्पणीकारहरुले तर्क गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर