झिंगेदाउको सुटिङमा किन भयो केकी र आँचलबीच कपाल लुछालुछ ? तीन वर्षपछि आरोप-प्रत्यारोप ! – Nepal Press

झिंगेदाउको सुटिङमा किन भयो केकी र आँचलबीच कपाल लुछालुछ ? तीन वर्षपछि आरोप-प्रत्यारोप !

काठमाडौं । नेपालमा कोरोना आउनुअघि नै सुटिङ सुरु भएको ज्ञानेन्द्र देउजाद्वारा निर्देशित चलचित्र ‘झिंगेदाउ’ को आज ट्रेलर सार्वजनिक गरियो । ट्रेलर रिलिजका लागि आयोजित प्रेसमिटमा उपस्थित थिए नायिकाद्वय केकी अधिकारी र आँचल शर्मा ।

यस चलचित्रमा केकी र आँचलले देउरानी–जेठानीको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा उनीहरुबीच झैंझगडादेखि कपाल भुत्लाभुत्लीका दृष्यहरु छन् । आजको प्रेसमिटमा यही भुत्लाभुत्लीको प्रसंगमा केन्द्रीत भयो । नायिकाद्वयले तीन वर्षअघिको सुटिङका क्रममा आफूलाई दुख्ने गरी भुतालेको भन्दै एक–अर्काप्रति गुनासोको भारी बिसाए ।

सञ्चारकर्मीले उनीहरुलाई सोधेका थिए, ‘त्यो भुत्लाभुत्लीको सुटिङपछि तपाईंहरुबीच बोलचाल नै बन्द भएको कुरा सत्य हो ?’

केकीले ठट्यौलो जवाफ दिइन्, ‘ठीक भन्नुभयो । त्यो अन्तिम दिनको सुटिङ थियो । त्यसपछि हामी आआफ्नो काममा व्यस्त भयौं । ३–४ दिनसम्म हाम्रो बोलचाल नै हुन पाएन ।’

त्यसपछि आँचलले आफ्नो अनुभव सुनाइन् ।

‘खासमा म सुरुदेखि डराएकी थिएँ । मेरो हात अलि साह्रो छ, त्यसैले केकीजीलाई दुख्ने हो कि भनेर बिस्तारै भुतालेकी थिएँ । तर, केकीजीले चाहिँ साँच्चै बल लगाएर भुताल्नुभयो । निर्देशकले पनि उहाँलाई नै दुख्यो कि भनेर सोध्दा मेरो अलिक चित्त दुखेको थियो ।’

यता केकीले चाहिँ आँचलले बिस्तारै भुताले पनि आफूलाई राति निकै दुखेको बताइन् । त्यो भुत्लाइका कारण आफ्नो कपाल झर्ने समस्या बढेको उनको भनाइ थियो ।
केकीले भनिन्, ‘मैले कपाल खौरिएर फेरि पलाएपछि पनि झर्ने समस्या समाधान भएको छैन ।’

तस्वीरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर