नेपाल बैंकका म्यानेजर ५० लाख लिएर बेपत्ता, परिवार र बैंक दुवै प्रहरीमा – Nepal Press

नेपाल बैंकका म्यानेजर ५० लाख लिएर बेपत्ता, परिवार र बैंक दुवै प्रहरीमा

रुपन्देही । नेपाल बैंक लिमिटेड बर्दिया गुलरिया शाखाका प्रबन्धक धबेन्द्र न्यौपानेले रकम हिनामिना गरी सम्पर्कविहीन भएपछि केन्द्रीय कार्यालयले उनलाई निलम्बन गरी छानबिन प्रक्रियालाई अगाडि बढाएको छ ।

प्रारम्भिक आंकलनअनुसार बैंकमा खाता रहेका विभिन्न व्यक्तिको नामबाट रकम निकालेर श्रीमतीको नाममा बाहिर लगेको करिब ५० लाख रकमबारे सूचना बाहिर आएपछि उनी सम्पर्कविहीन भएका हुन् । विभिन्न ग्राहकले जम्मा गरेको ५० लाख रुपैयाँ कनेक्ट आइपीएसबाट अपचलन गरेको र यही विषयलाई आधार मानेर केन्द्रीय कार्यालयले उनलाई निलम्बन गरेको हो ।

न्यौपानेले प्रयोग गर्दे आएको मोबाइल स्विच अफ छ । कालिकोट तिलगुफा नगरपालिका–५ का ३२ वर्षीय न्यौपाने हाल बाँके जानकी गाउँपालिका–३, कोरिएनपुर बस्दै आएका छन् ।उनले गरेका अपचलन केन्द्रीय कार्यालयले सूचना पाएपछि काठमाडौंबाट छानबिन गर्न अनुसन्धान टोली जानुअघि उनी सम्पर्कविहीन भएका हुन् ।

नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले गत बुधबारदेखि न्यौपाने सम्पर्कविहीन भएको बताए । बैंकका लुम्बिनी प्रदेश लेखनाथ भुसालले यो विषय केन्द्रबाट नै फलोअप भएको जानकारी दिए ।

न्यौपानेले कति रकम हिनामिना गरेका थिए अनुसन्धानको लागि खटिएको टोली फर्किएपछि मात्रै भन्न सकिने नेपाल बैकले जनाएको छ । यसअघि नेपाल बैंकको सुर्खेतस्थित वीरेन्द्रनगरको शाखामा कार्यरत न्यौपानेलाई गत चैत २४ गते गुलेरिया शाखाको म्यानेजरको बनेर आएका थिए ।

नेपाल बैंकमा सहायक शाखा प्रबन्धकबाट नाम निकालेका उनले सुर्खेतबाटै सेवा सुरु गरेका थिए । विरेन्द्रनगरकै शाखामा पनि उनले रकम हिनामिना गरेको सूचना आएको बैकका कर्मचारीले बताएका छन् ।

न्यौपाने रकम हिनामिना गरी सम्पर्कविहीन भएको भन्दै जिल्ला प्रहरी कार्यालय बर्दियामा नेपाल बैंकले जाहेरी दिएपछि न्यौपानेको खोजी गरिरहेको बर्दिया प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताए । बैंकका नेपालगन्जस्थित सिटी अफिसका अधिकृत रुपेशकुमार श्रीवास्तवले न्यौपानेको खोजीका लागि प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । बैंकका रकम हिनामिना भएको जानकारी पाएपछि ग्राहकहरू आफूले जम्मा गरेको रकम खोजीका लागि धाउन थालेका छन् ।

उता न्यौपानेको खोजीका लागि परिवारले समेत जाहेरी लिएर साउन १४ गते नै जिल्ला प्रहरी कार्यालयमा पुगे पनि साउन १८ गते मात्रै दर्ता भएको थियो । अनुसन्धान सकिएपछि केन्द्रीय कार्यालयले बैंकिङ अपचलन मुद्दामा उनलाई कारबाही गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

One thought on “नेपाल बैंकका म्यानेजर ५० लाख लिएर बेपत्ता, परिवार र बैंक दुवै प्रहरीमा

  1. Ahileko abstha ma bank harule sahakari bank saraha 15% 16% biyaj liyera loan liyeka Rini Lai dubaune koshis ma xan . Loan naliyeka, bank balance garera baseka manxe haruko Paisa bank, sahakari ka karma chari harule uthaudai hiddai garna thale. Yo sab ek. Le arko Lai dubaune khel Chali raheko xa. Yasma nepal sarkarle Gambhir samashyako rupma heri uchit kadam chalnu parxa xittai.

Leave a Reply to Nb kshetri Cancel reply

Your email address will not be published. Required fields are marked *