सरकार फेरिएसँगै लुम्बिनीमा बेथिति मौलायो : पोखरेल – Nepal Press

सरकार फेरिएसँगै लुम्बिनीमा बेथिति मौलायो : पोखरेल

रुपन्देही । नेकपा एमालेका महासचिव एवं लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पालामा नमुना बनेको लुम्बिनी प्रदेशमा सरकार फेरिएसँगै बेथिति मौलाएको टिप्पणी गरेका छन् ।

प्रदेश सरकारले फैलाएको बेथितिका कारण आम जनतामा प्रदेश संरचनामाथि नै प्रश्न उठ्न थालेको भन्दै उनले प्रदेशलाई ठीक ढंगले चलाउन नसक्दा व्यवस्थाप्रति नै नकारात्मक टिप्पणी हुने अवस्था आउनु दुःखद रहेको बताए ।

एमाले रुपन्देहीले आइबतार भैरहवामा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दृढ संकल्पका साथ चुनावमा खटिन कार्यकर्ताहरुलाई निर्देशन दिए ।

स्थानीय तह निर्वाचनमा हिजोका दिनमा एक्लाएक्लै चुनाव लड्दा २९४ सीट जितेकोमा अहिले गठबन्धनसँग लड्दा २०६ जितेको आधारमा दृढ संकल्पका साथ चुनाव लड्दा जित्न सकिन्छ भन्ने आधार प्रस्ट भएको उनको भनाइ छ ।

महासचिव पोखरेलले चौतर्फी घेराबन्दीका बीचमा चुनावको सामना गरेर अगाडि आएको स्मरण गर्दै विपक्षीहरूको चाहना एमालेलाई एक्ल्याउने नै भएकाले सोहीअनुसारको रणनीति बनाउन आवश्यक रहेको बताए ।

गत स्थानीय तहको निर्वाचनमा कतिपय एक्लै जित्ने पालिकाहरुमा कांग्रेस एक्लै लडेको र जसका कारण २० प्रतिशत स्थान जितेको उल्लेख गर्दै महासचिव पोखरेलले भने, ‘कुनै एक दललाई साथ लिने ठाउँमा एउटालाई लिएर लड्यो । यो संख्या ४० प्रतिशत र धेरै कमजोर ठाउँमा सबैलाई मिलाएर लड्यो । यस आधारमा आउने चुनावमा उनीहरुमा समस्या पर्नेछ ।’

उनले काँग्रेसले आंशिक गठबन्धन गरेको ठाउँमा एमालेको मत ३१ प्रतिशत, पूर्ण गठबन्धन गरेको ठाउँमा ४१ प्रतिशत, एक्लाएक्लै लडेको ठाउँमा २६ प्रतिशत रहेकाले यो मतका आधारमा चुनाव जित्न सकिने तथ्यांकले देखाएको दावी गरे ।

उनले कतिपय जित्ने ठाउँ पनि एमालेले गुमाएको उल्लेख गर्दै त्यसमा रहेका आन्तरिक कारणको गम्भीर समीक्षा गर्नुपर्ने बताए । महासचिव पोखरेलले जनतासँग साक्षात्कार नगरिकन चुनाव जित्न नसकिने भन्दै कार्यकर्तालाई यसमा सुधार गर्न र जनतासँगको साक्षात्कार बढाउन आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर