रेशमको क्षेत्रमा क-कसको दाबी ? नागरिक उन्मुक्ति सबैमाथि हाबी – Nepal Press

रेशमको क्षेत्रमा क-कसको दाबी ? नागरिक उन्मुक्ति सबैमाथि हाबी

कैलाली । संसदीय निर्वाचनको मिति घोषणा भएपछि दलहरूले आन्तरिक जोडघटाउ सुरू गरिसकेका छन् । सँगै उम्मेदवारीका लागि दाबी पनि उत्तिकै छ ।

सत्ता गठबन्धन र नेकपा एमालेले आफूहरूको जीत सुनिश्चित भएको दाबी गरिरहेका बेला कैलालीको निर्वाचन क्षेत्र नम्बर १ मा भने यी दुवैलाई परिणाम हत्याउन सहज देखिँदैन ।

कैलालीमा प्रतिनिधिसभातर्फ पाँच निर्वाचन क्षेत्र रहेको छ । यीमध्ये रेशम चौधरीको क्षेत्र कैलाली १ चर्चामा छ । टीकापुर घटनामा दोषी ठहरिएका चौधरीले २०७४ को चुनावमा प्रहरीको फरार सूचीमै रहँदा चुनाव जितेका थिए । अहिले काठमाडौंस्थित डिल्लीबजार कारागारमा रहेको रेशमले पत्नी रञ्जिता श्रेष्ठको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी खोलेर मंसिर ४ को चुनावको तयारीमा उनलाई नै अघि सार्नेगरी तयारीमा लागेका छन् ।

पाँच वर्ष पहिले वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई झन्डै २१ हजारको फराकिलो मतान्तरले हराएको यस क्षेत्रमा अहिले पनि गठबन्धन र एमाले दुवैका उम्मेदवारलाई जित्न हम्मेहम्मे पर्ने देखिएको छ ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी वाम गठबन्धनबाट एमाले उम्मेदवार मदनकुमारी शाह (गरिमा)ले १३ हजार ४०६ मतमात्र पाइन् । कांग्रेसकी ईश्वरी न्यौपाने तेस्रो स्थानमा रहिन् । उनको मत ११ हजार २०३ छ ।

२०७४ सालको निर्वाचनमा विजयी भए पनि चौधरी जनप्रतिनिधि रहन पाएनन् । प्रहरीको फरार अभियुक्त सूचीमा रहेका बेला वारेसनामामार्फत उम्मेदवारी दिएर विजयी भएका रेशम चौधरीले १४ फागुन २०७४ मा आत्मसमर्पण गरे ।

२०७५ फागुन २२ गते जिल्ला अदालत कैलालीले चौधरीलाई जन्मकैदको फैसला सुनायो । २०७७ पुस २ मा उच्च अदालतले पनि चौधरीको हकमा जिल्ला अदालतको फैसला सदर गर्‍यो । चौधरी थुनामै रहेको समयमा २०७५ पुस १९ गते संसदमा शपथग्रहण गराइएको थियो ।

प्रतिनिधिसभा निर्वाचनमा भारी मतले विजयी भएर पनि जनप्रतिनिधि बन्न नपाएका चौधरीको क्षेत्रमा अहिले पनि उनका उम्मेदवारलाई अन्य पार्टीले टक्कर दिनसक्ने अवस्था छैन ।

यहाँबाट रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीमार्फत उनकै पत्नी रञ्जिता श्रेष्ठ निर्वाचनमा होमिने तयारी गरिएको छ । उनीविरुद्ध सत्ता गठबन्धनले साझा उम्मेदवार र एमालेले एकल उम्मेदवार दिने तयारी गरिरहेका छन् ।

वैशाख ३० गते भएको स्थानीय निर्वाचनको मत परिणामले पनि नागरिक उन्मुक्ति पार्टी अझै हौसिएको छ । कैलालीका १३ स्थानीय तहमध्ये ४ वटा पालिका प्रमुख र तीन वटा पालिका उपप्रमुखमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका थिए ।

नागरिक उन्मुक्ति पार्टीले जितेका सबैजसो पालिका रेशम चौधरीको निर्वाचन क्षेत्रमा पर्दछन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा पर्ने टीकापुर, जोशीपुर, जानकी र भाजनी (केही क्षेत्र) को प्रमुखमा नागरिक उन्मुक्तिले बाजी मारेको हो । टीकापुरबाहेकका अन्य तीन पालिका उपप्रमुख पनि नागरिक उन्मुक्तिले जितेको छ ।

२०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा यहाँ सबैभन्दा बलियो नागरिक उन्मुक्ति नै रहेको छ ।

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले १७ हजार १९३ मत पाउँदा कांग्रेस उम्मेदवारले ११ हजार ६७८ मत पाएका थिए । एमाले उम्मेदवारले १० हजार ३२२ मत पाउँदा माओवादीले ६ हजार ९३० मत पाएको देखिएको छ ।

त्यस्तै राप्रपाले ३ हजार ५६१ मत, जसपाले २ हजार ३०२ र नेकपा एकीकृत समाजवादीले २ हजार २३२ मत हो । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव मदनकुमारी शाह गरिमा पनि यसै क्षेत्रकी हुन् । तर, यहाँ नेकपा एकीकृत समाजवादी कमजोर छ ।

२०७४ सालको मत परिणाम र वैशाख ३० गतेको परिणामले यहाँ सबै मिल्दा पनि नागरिक उन्मुक्ति बलियो रहेको त्यसका प्रवक्ता दामोदर पण्डित बताउँछन् ।

‘यो क्षेत्र रेशम चौधरीको जन्मथलो र कर्मथलो हो । २०७४ साल जस्तै अहिले पनि यहाँ उहाँको उम्मेदवारविरुद्ध उठ्नेहरूको जमानत जफत हुने अवस्था छ’, प्रवक्ता पण्डितले भने, ‘२०७४ सालको परिणामलाई २०७९ को स्थानीय तहको परिणामले अझै बढी प्रमाणित गरेको छ ।’

क-कसको छ दाबी ?

सत्ता गठबन्धनका अनुसार कैलाली क्षेत्र नम्बर १ कांग्रेसले रोज्ने तयारी गरेको छ । जिल्लामै जोखिममध्येको क्षेत्रका रुपमा हेरेको कांग्रेसले यहाँ पहिलो प्राथमिकतामा रामजनम चौधरीलाई राखेको छ । चौधरी यसअघि कैलाली ३ नम्बर क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार गौरीशङ्कर चौधरीसँग पराजित भएका थिए । हाल चौधरी एमालेमा छन् ।

रामजनम २०४८ सालदेखि २०७४ सालसम्म अपराजित नेता हुन् । नेपाली कांग्रेसले उनलाई कैलाली क्षेत्र नम्बर १ मा यस पटक उम्मेदवार बनाउने योजना बनाएको छ । उनीसँगै अहिले यहाँ कांग्रेसबाट प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलको पनि चर्चा छ ।

रावल अघिल्लो पटक प्रदेशसभामा ९ हजार ४३४ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नेपबहादुर थारु (चौधरी)ले ८ हजार ९०६ मत पाएका थिए ।

अघिल्लो पटक प्रदेशसभामा विजयी भएर दलको नेतासमेत भएका रावल पनि अहिले संघीय निर्वाचनको चर्चामा छन् । उनी अहिले सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री छन् । उनी सरकारका प्रवक्ता पनि हुन् ।

उनीहरु दुईका अलावा पूर्व संविधानसभा सदस्य बुद्धिसागर चौधरी र जनक चौधरी पनि चर्चामा छन् । ‘यहाँ अरूले दाबी गरेको जस्तो छैन । अहिले नेपाली कांग्रेसका उम्मेदवारले चुनाव जित्छन्’, कांग्रेस कैलालीका सचिव नृप सुनार भन्छन्, ‘सक्षम र बलिया उम्मेदवार हाम्रा छन् । हामी चुनाव जित्छौँ ।’

प्रतिनिधिसभामा यहाँ एमालेबाट धेरैको चर्चा छैन । २०७४ सालको स्थानीय तह निर्वाचनमा टीकापुर नगरपालिकामा विजयी भएका एमालेका उम्मेदवार तपेन्द्र रावल र एमालेका नेता सम थापा अहिले चर्चामा छन् । कमजोर संगठन भएका कारण निर्वाचनमा बाजी मार्न सहज नभएको एमालेकै स्थानीय नेता कार्यकर्ताहरू बताउँछन् ।

‘यहाँ एमालेको संगठन बलियो छैन । केन्द्रले कसलाई टिकट दिन्छ त्यो हेर्न बाँकी छ’, स्थानीय एक नेताले भने, ‘एमालेमात्र होइन कांग्रेसले पनि यहाँ उम्मेदवार उठाउनेमात्र हो । जित्ने त नागरिक उन्मुक्तिले हो ।’

एमाले कैलालीका सचिव डेजी पाण्डेयले भने यस पटक कैलालीको क्षेत्र नम्बर १ एमालेले जित्ने दाबी गरे । ‘हामीले अन्तरिक तयारी गरिरहेका छौं । यो क्षेत्रमा यस पटक एमालेले झण्डा गाड्छ’, उनले भने ।

प्रतिनिधिसभामा एमाले र गठबन्धनलाई पनि धक्का दिनसक्ने आँकलन गरिएको नागरिक उन्मुक्ति पार्टीका तर्फबाट यो क्षेत्रमा रञ्जिता श्रेष्ठ उम्मेदवार बन्ने तयारी छ । उनी रेशम चौधरीकी पत्नी र नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष हुन् । उनले केही दिन पहिले नेपाल टकमा यस क्षेत्रमा आफू उम्मेदवार बन्ने बताइसकेकी छन् । नागरिक उन्मुक्ति पार्टीको उच्च स्रोतले भने उनी अन्य कुनै क्षेत्रबाट पनि उम्मेदवार बन्नसक्ने जनाएको छ ।

‘कैलाली क्षेत्र नम्बर १ हाम्रो मुद्दा स्थापित गर्ने र गराउने क्षेत्र हो । यहाँबाट जो उम्मेदवार उठे पनि जीत सुनिश्चित छ’, नागरिक उन्मुक्ति पार्टीको उच्च स्रोतले भन्यो, ‘अध्यक्षज्यू यहीबाट लड्ने कुरा निश्चित भएको छैन । उहाँ अन्य कुनै क्षेत्रबाट पनि उम्मेदवार बन्न सक्नुहुन्छ । ’

२०७४ मा राजपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका रेशम चौधरीले मात्रै जितेनन् क्षेत्र नम्बर १ (क) मा पनि राजपाका उम्मेदवार विजयी भएका थिए । १२ हजार १८४ मतसहित प्रदेशसभामा राजपाका कृष्ण चौधरी विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जनकराज चौधरीले ९ हजार ३०८ मत पाएका थिए ।

अघिल्लो पटक प्रतिनिधिसभा र एक प्रदेश सभामा बाजी मारेका रेशम चौधरीका समर्थकहरू अहिले त्योभन्दा राम्रो नतिजा आउनेमा विश्वस्त छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर