चौधरी र सुमार्गीकै पैसा फसेपछि गौतमश्रीलाई जोगाउन प्रचण्ड सक्रिय, समस्याग्रस्तमा राख्न सिफारिस – Nepal Press

चौधरी र सुमार्गीकै पैसा फसेपछि गौतमश्रीलाई जोगाउन प्रचण्ड सक्रिय, समस्याग्रस्तमा राख्न सिफारिस

सम्पत्ति शुद्धिकरणमा पर्ने डरले करोड माथिका बचतकर्ताको भागदौड

काठमाडौं । सर्वसाधारणको अर्बौं रकम हिनामिना गरेको आरोप लागेको गौतमश्री बहुउद्देश्यीय सहकारीका सञ्चालकलाई कारवाहीबाट उन्मुक्ती दिन चलखेल सुरु भएको छ । उक्त सहकारीलाई ‘समस्याग्रस्त’ मा दर्ज गरेर केही ठूला व्यापारिक घरानाको पैसा फिर्ता गराउन ठूलै शक्तिकेन्द्र लागिपरेको छ ।

सहकारीका सञ्चालकहरु वचतकर्ताको पैसा फिर्ता नगरी कार्यालय बन्द गरेर ‘फरार’ भएपछि पिडितहरुले सहकारी विभाग गुहारेका थिए । एक हजारभन्दा बढीले विभागमा लिखित उजुरी दिएका छन् । सहकारीका प्रमुख रामवहादुर गौतम बल्ल सम्पर्कमा आएका छन् र उनले बिस्तारै समस्या व्यवस्थापन हुने बताएका छन् ।

२५ वर्षदेखि सञ्चालनमा रहेको यस सहकारीमा २५ हजारभन्दा बढी वचतकर्ताले रकम जम्मा गरेका छन् । यसमा केही हाइप्रोफाइल व्यक्तिहरु पनि जोडिएका छन् । स्रोतका अनुसार नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल निकट व्यवसायीहरुको गौतमश्रीमा ठूलो रकम वचत छ । व्यवसायी अजयराज सुमार्गीको मात्रै ८ करोड निक्षेप रहेको स्रोतले बतायो ।

यसैगरी नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीले पनि ९ करोड रुपैयाँ यस सहकारीमा जम्मा गरेको बुझिएको छ । गौतम पछिल्लो समय माओवादी पार्टीमा सक्रिय छन् । उनलाई प्रयोग गरेर माओवदाीका केही युवा नेताले राम्रो आर्जन गरेका छन् भने उनले पनि माओवादी नेताहरुमार्फत फाइदा लिएको काभ्रेका माओवादी कार्यकर्ताहरु बताउछन् ।

आफूनिकट व्यवसायीको पैसा फँसेपछि प्रचण्डले चासो दिएका छन् । सञ्चालकलाई पक्राउ गरेर थुन्नेभन्दा पनि सहकारीलाई ‘समस्याग्रस्त’ मा हालेर ती व्यवसायीको पैसा फिर्ता गराउन प्रचण्ड लागिपरेको स्रोतले दावी गर्यो । चौधरी पनि आफ्नो निक्षेप उठाउनको लागि यही विकल्पमा सहमत भएका छन् । तर, पहुँचविहीन सर्वसाधारणले जम्मा गरेको निक्षेप भने के हुने भन्ने अन्योल छ ।

स्रोतका अनुसार गौतमश्री सहकारीका सञ्चालक रामबहादुर गौतमले समस्याग्रस्त सहकारीमा हाल्न पाए जेल जान नपर्ने भएकाले प्रचण्डसँग लबिङ गरेका थिए । गौतमको प्रचण्डसँग पहिल्यैदेखि उठबस छ ।

सहकारी विभागले गौतमश्री सहकारीलाई समस्याग्रस्त सहकारीमा राख्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सिफारिस गरिसकेको छ । अब बाँकी निर्णय सहकारी मन्त्रालयले गर्ने छ ।मन्त्रालय माओवादी मातहत नै छ ।

सहकारी विभागका उप–रजिष्ट्रार तथा सूचना अधिकारी टोलराज उपाध्यायले समस्याग्रस्त सहरकारीमा राख्न मन्त्रालयलाई सिफारीस गरेको बताए । गौतमश्री सहकारीका सञ्चालक सम्पर्कमा नआएको कारण समस्याग्रस्त सहकारीमा सिफारिस भएको उनको भनाइ छ ।

गौतमश्री सहकारीमा करिब ७ अर्ब निक्षेप जम्मा रहेकोमा एकै व्यक्तिको २५ करोडसम्म रहेको बताइन्छ । तर १ करोडभन्दा धेरै निक्षेप भएका व्यक्तिहरु सहकारी विभागमा उजुरी दिन गएका छैनन् । उनीहरु आफैं अख्तियार र सम्पत्ति सुद्धीकरणमा पर्ने डरले उजुरी हाल्न नगएको स्रोत बताउँछ ।

पछिल्लो समय सहकारी संस्थाहरुको ठगी बढ्दै गएको छ । केही समयअघि ठगीको आरोपमा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गरेको थियो । उनी पुर्पक्षका लागि थुनामा छन् । तामाङविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी परेको थियो । सिभिल सहकारीबाट तामाङले ८ अर्बभन्दा बढी पैसा हिनामिना गरेको भन्दै सीआईबीमा विभिन्न समूहले उजुरी दिएका थिए ।

सहकारी विभागका उप–रजिष्ट्रार उपाध्याय कानूनका छिद्र प्रयोग गरेर सर्वसाधारणलाई सहकारीले ठगी गरिरहेको बताउँछन् । विकास बैंकभन्दा पनि धेरै पुँजी भएका सहकारीहरुले नै ठगी गरेको भन्दै गुनासो आउने गरेको उनको भनाइ छ ।

उपाध्यायले भने, ‘यो वर्ष मात्रै ३ सयभन्दा धेरै सहकारीबाट ठगी भएको भनेर उजुरी परेको छ । ठूलो परिमाणमा भने ओरियन्टल, सिभिल र गौतमश्री सहकारीबाट सर्वसाधारण ठगीमा परेका छन् ।’

देश संघीयतामा गएपछि प्रदेश र स्थानीय तहले नै आफ्नो क्षेत्रभित्र भएका सहकारीहरुलाई नियमन गर्ने भनिएको छ । त्यसैले सहकारी विभागलाई आफ्नो क्षेत्रभन्दा बाहिर गरेर सम्पत्ति र बैंक खाता रोक्का गर्ने अधिकार हुदैन । देशैभरबाट आएका उजुरीहरु प्रदेश वा स्थानीय तहमध्ये कसको क्षेत्रमा पर्ने हो उसैलाई उजुरी पठाउने गरिएको उपाध्यायले बताए ।

को हुन् रामबहादुर गौतम ?

गौतमश्रीका सञ्चालक रामबहादुर गौतम सुरुमा मामुली व्यवसायी थिए । उनी खासाबाट सामान ल्याएर कुलेश्वरमा रहेको पसलमा बेच्ने गर्थे । पछि उनले चीनबाट पानी तान्ने मेसिन लगागायतका सामान ल्याएर बेच्न थाले र राम्रो कमाइ गरे ।

उनले आफ्नो व्यापार विस्तार गर्दै गए । राम्रो सामान विक्री गर्दै गएपछि चिनजान पनि बढ्दो थियो । त्यसैलाई सदुपयोग गर्दै उनले आफ्नै थर राखेर ‘गौतम श्री सहकारी’ खोले । सहकारीसँगै उनले गौतमश्री मार्ट पनि सञ्चालन गरेका थिए । तर अहिले उनी वचतकर्ताबाट भागेर हिँड्ने अवस्थामा पुगेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर