गठबन्धनमा भागबण्डा: प्रदेश १ मा कहाँ कसको दाबी ? (सूचीसहित) – Nepal Press

गठबन्धनमा भागबण्डा: प्रदेश १ मा कहाँ कसको दाबी ? (सूचीसहित)

काठमाडौं । पाँचदलीय सत्ता गठबन्धनले मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गर्ने निर्णयसँगै साउन मसान्तभित्र सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल बनाइसकेको छ ।

कार्यदल बन्नुअघि दलहरूले आ आफ्नो संयन्त्रबाट प्रदेशगत रिपोर्टहरू लिइरहेका छन् । सत्ता घटकका नेकपा माओवादी केन्द्र र नेकपा एस र जसपालाई भागबण्डामा कांग्रेसको भर छ ।

सरकारको नेतृत्व गरिरहेको कांग्रेसले केन्द्रीय समिति बैठकबाट आफ्नो बहुमत सुनिश्चित हुनेगरी तालमेल गरेर जाने निर्णय गरिसकेको छ । यद्यपि गठबन्धनभित्रै कांग्रेसको बहुमत रोक्न समाजवादी केन्द्रको पहलसमेत भइरहेका बेला गठबन्धनका साना दलले सीट बाँडफाँटमा आ-आफ्नो पोजिसन बनाउन थालेका छन् ।

शीर्ष बैठकबाट गठित कार्यदलले काम थाल्नुअघि नै प्रदेश १ बाट माओवादी केन्द्र, नेकपा एस र जसपाले आ-आफ्नो हैसियत अनुसार सीट दाबी गर्न केन्द्रीय कार्यालयलाई अनौपचारिक रिपोर्ट पठाएका छन् ।

ती दलका प्रदेश संयन्त्रका पदाधिकारीहरूसँगको कुराकानीमा उनीहरूले अधिकतम सिट लिनका लागि नेतृत्वलाई आग्रह गरेका छन् । विगतको विजयी सीट र स्थानीय तहको चुनावको आधारमा समेत दाबी गरिएको नेताहरूको भनाइ छ ।

१४ जिल्ला रहेको प्रदेश १ मा प्रतिनिधिसभामा जम्मा २८ सीट छ । तीमध्ये माओवादीले १०, नेकपा एसले ७ सीट र जसपाले २ सीट दाबी गरेका छन् । ८ ठाउँमा यी तीन दलको दाबी छैन ।

प्रदेश १ मा सबैभन्दा धेरै मोरङमा ६, झापामा ५ र सुनसरीमा ४ निर्वाचन क्षेत्र छ । इलाम र उदयपुरमा २/२ वटा छ भने बाँकी ९ जिल्लामा १/१ वटा संघीय निर्वाचन क्षेत्र रहेको छ ।

कहाँ कसको दाबी ?

माओवादीले प्रतिनिधिसभातर्फ २०७४ सालमा झापा १, मोरङ ४ र ५,भोजपुर, उदयपुर २ र सोलुखुम्बुमा जितेको थियो ।यसपटक ती क्षेत्र सुरक्षित गर्दै एमालेले जितेका थप केही निर्वाचन क्षेत्रमा उसको दाबी छ । स्थानीय तह चुनावबाट माओवादी ताप्लेजुङ, पाँचथर, खोटाङजस्ता ठाउँमा विगतको भन्दा धेरै बलियो बनेको नेता इन्द्र आङ्बो बताउँछन् ।

माओवादी स्रोतका अनुसार उसले प्रतिनिधिसभाका २८ मध्ये १० सीटमा बलियो दाबी प्रस्तुत गरेको छ । माओवादीले दाबी गरेकामा पाँचथर, झापा १ र ५, मोरङ ४ र ५, सुनसरी १, उदयपुर १ साथै भोजपुर र खोटाङ छन् ।

भोजपुर छाड्नुपरे खोटाङ लिने र खोटाङ नपाए भोजपुर नछाड्ने माओवादीको नीति छ । झापाको हकमा क्षेत्र नम्बर ४ र ५ मध्ये एउटा रोज्ने नीति छ । ५ मा एमाले अध्यक्ष केपी ओलीसँग माओवादीका युवा नेता रन्जित तामाङले चुनाव लड्ने घोषणा गरेका छन् ।

यता नेकपा एकीकृत समाजवादीका इलाम १ र तेह्रथुममा प्रतिनिधिसभा सदस्य छन् । इलाममा झलनाथ खनाल र तेह्रथुममा स्वास्थ्यमन्त्री भवानी खापुङको सीट सुरक्षित गर्दै थप ५ निर्वाचन क्षेत्रमा नेकपा एसले दाबी गर्न लागेको नेताहरूले बताएका छन् ।

आफू एमालेभन्दा बलियो शक्ति रहेको प्रदेश १ का इन्चार्ज घनेन्द्र बस्नेतको दाबी छ । उनले नेकपा एसलाई गठबन्धन दलहरूले राम्रो भाग दिएमा एमालेलाई पत्तासाफ गर्न सकिने बताए ।

नेकपा एसले इलाम १, मोरङ ३, उदयपुर २, सुनसरी २ र भोजपुर र खोटाङमा सशक्त दाबी पेस गरेको छ । सुसरी २ मा पिताम्बर तिम्सिना, उदयपुर २ मा जगन्नाथ खतिवडा र भोजपुरमा मुख्यमन्त्री राजेन्द्र राईको व्यवस्थापन गर्नुपर्ने दबाबमा नेकपा एस छ ।

त्यस्तै जसपाले मोरङ ५ र सुनसरी १ मा दाबी गरेको छ ।

जसपाले अशोककुमार राईका लागि सुनसरी १ र अमरेन्द्र यादवका लागि मोरङ ५ मा दाबी गरेको हो । उपेन्द्र यादवका छोरा अमरेन्द्र विराटनगर महानगरपालिकामा गठबन्धनबाट उपमेयर उठेपनि एमालेकी शिल्पा कार्कीसँग पराजित भएका थिए । यो क्षेत्रबाट उपेन्द्रले एकपटक जितिसकेका छन् ।

नेपाली कांग्रेसले भने दाबी गरेको छैन । अरुलाई दिनुपर्ने ठाउँमा भएकाले अहिले यति सिट भनेर दाबी गर्नुको अर्थ नहुने कांग्रेसका प्रदेश सभापति उद्धव थापाले बताएका छन् । यद्यपि स्थानीय चुनावको आधार बनाएर कांग्रेसले २८ मध्ये कम्तीमा २० सीट नछाड्ने नेताहरूको भनाइ छ ।

कांग्रेसका प्रभावशाली नेताहरू तराईका जिल्लामा छन् । महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाका साथै प्रदेश सभापति उद्धव थापा झापाबाट प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, सुजाता कोइराला, महेश आचार्य, गुरुराज घिमिरे, अमृत अर्याल, भीम पराजुली, डिला संग्रौलाजस्ता नेताहरू मोरङमा छन् ।

ज्ञानेन्द्रबहादुर कार्की, मिन विश्वकर्मा, विजय गच्छदार, राजीव ढुंगानालगायतका नेता सुनसरीबाट प्रतिस्पर्धा गर्दैछन् भने नारायण खड्का उदयपुरमा निर्विकल्प छन् । सहमहान्त्री भिष्मराज आङ्देम्बेको जिल्ला पाँचथरमा भने माओवादीले पनि दाबी गरेको छ ।

अर्का नेता रामहरी खतिवडाको क्षेत्र ओखलढुंगामा गठबन्धनका अन्य दलको दाबी छैन । माओवादी र जसपाले प्रदेशसभामा भने दाबी गर्ने भएका छन् । उता सोलुखुम्बुमा प्रभावशाली नेता बलबहादुर केसीको दाबी छ, तर मापदण्डद अनुसार माओवादीले सोलु नछाड्ने बताइरहेको छ ।

कांग्रेस नेताहरूका अनुसार नेकपा एसलाई झलनाथका लागि इलाम १ र भोजपुर वा खोटाङमध्ये एक सीटमात्र छाड्न सकिने अवस्था छ । यद्यपि पिताम्बर तिम्सिनाका लागि नेकपा एसले सुनसरी २ लाई प्रतिष्ठाको विषय बनाउने देखिन्छ ।

ताप्लेजुङ वा पाँचथरमध्ये एक दिएर झापामा कांग्रेस एक्लै लड्ने प्रयास नेताहरूको छ । झापामा माओवादीलाई प्रदेशसभा मात्र दिएर मोरङमा पनि मिलाउनुपर्ने अवस्था छ ।

दाबी अनुसार सीट बाँडफाँट गर्न सकस पर्दा गत चुनावमा जितेको, भर्खरै सकिएको स्थानीय चुनावमा प्राप्त मत परिणामलाई आधार बनाउनुपर्नेमा कांग्रेसको जोड छ । यसो गर्दा नेकपा एसलाई इलाम १ झलनाथ खनाल र तेह्रथुममा भवानीप्रसाद खापुङमात्र पर्छन् ।

त्यस्तै माओवादीले ६ सीटमात्र जितेको थियो । जसपाले प्रदेश १ मा कहिँ जितेको छैन । मापदण्डलाई आधार मान्दा यी दल भने मान्न तयार छैन ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल जोखिम मोलेर उम्मेदवार दिन नहुनेप्रति सबै सचेत हुनुपर्ने बताउँछन् । ‘तालमेल गरेपछि जित्नेगरी दाबी गर्नुपर्छ । जुवाको खालमा बसेर च्याँखे थापे जसरी सीट मागेर हुन्न धरातलीय यथार्थ पनि हेर्नुपर्छ’,  पौडैलले नेपाल प्रेससँगको कुराकानीमा भनेका छन् ।

यस्तो छ ७४ को परिणाम

२०७४ को संघीय चुनावमा प्रदेश १ मा नेकपा एमालेले १६ सीट जितेको थियो । कांग्रेसले ५ सीट, माओवादीले ६ सीट र राप्रपाले १ सीट जितेको थियो ।

नेकपा एमाले

१. ताप्लेजुङ- योगेशकुमार भट्टराई

२. पाँचथर- वसन्तकुमार नेम्वाङ्ग

३. इलाम १- झलनाथ खनाल (हाल नेकपा एस)

४. इलाम २- सुवासचन्द्र नेम्वाङ

५. झापा २- पवित्रा निरौला (खरेल)

६. झापा ४- लालप्रसाद साँवा लिम्बू

७. झापा ५- केपी शर्मा ओली

८. संखुवासभा- राजेन्द्रप्रसाद गौतम

९. तेह्रथुम- भवानीप्रसाद खापुङ (हाल नेकपा एस)

१०.धनकुटा- राजेन्द्रकुमार राई

११. मोरङ १- घनश्याम खतिवडा

१२. मोरङ ३- भानुभक्त ढकाल

१३. मोरङ ६- लालबाबु पण्डित

१४. सुनसरी १- जयकुमार राई

१५. खोटाङ्ग- विशाल भट्टराई

१६. ओखलढुंगा -यज्ञराज सुनुवार

नेपाली कांग्रेस

१. मोरङ २- मिनेन्द्रप्रसाद रिजाल

२. सुनसरी २- सिताराम महतो

३. सुनसरी ३- विजयकुमार गच्छदार

४. सुनसरी ४- ज्ञानेन्द्रबहादुर कार्की

५. उदयपुर १- डा. नारायण खड्का

नेकपा माओवादी केन्द्र

१. झापा १- सुरेन्द्रकुमार कार्की

२. भोजपुर -सुदन किराती

३. मोरङ ४- अमनलाल मोदी

४. मोरङ ५- शिवकुमार मण्डल (केवट)

५. सोलुखुम्बु- हेमकुमार राई

६. उदयपुर २- सुरेशकुमार राई

राप्रपा

१. झापा ३- राजेन्द्रप्रसाद लिङदेन

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर