पटवा, विल्टाउ, विन, मलाह, लोहार र गोढया जातीलाई भत्ता नदिन सरकारको परिपत्र – Nepal Press

पटवा, विल्टाउ, विन, मलाह, लोहार र गोढया जातीलाई भत्ता नदिन सरकारको परिपत्र

काठमाडौँ । सरकारले पटवा, विल्टाउ, विन (मुखिया), मलाह (सनही),लोहार र गोढया जातिको व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता नदिन सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधवार ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै ती जाती दलित जातीको अनुसूचीमा सूचिकृत नभएका कारण भत्ता नदिन परिपत्र गरेको हो ।

दलितमा सूचीकृत नभए पनि पटवा, विल्टाउ, विन (मुखिया), मलाह (सनही), लोहार र गोढया थर भएका व्यक्तिलाई अधिकांश स्थानीय तहले सामाजिक सुरक्षा भत्ता दिँदै आएका थिए भने कतिपय स्थानीय तहले भत्ता दिने कि नदिने भनेर सुझाव माग गरेपछि विभागले परिपत्र गरेको हो ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ ले राष्ट्रिय दलित आयोगको दलित जाती अनुसूची विवरण बमोजिमका जात र थरका व्यक्तिलाई दलित जाति अन्तर्गत उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने व्यवस्था गरेको छ ।

स्थानीय तहले ती जातीलाई सामाजिक सुरक्षा भत्ता दिने कि नदिने भन्ने अन्योलमा रहेको भन्दै विभागमा राय सुझाव माग गरेपछि सूचना जारी गरिएको विभागका महानिर्देशक तीर्थराज भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार यस अघि ती जातीका व्यक्तिलाई स्थानीय तहले सामाजिक सुरक्षा भत्ता दिइरहेका थिए । तर केहीले दिने, केहीले नदिने भइरहेको अवस्थामा विभागलाई राष्ट्रिय दलित आयोगले आयोगमा सूचीकरण भएका जातीलाई मात्रै भत्ता दिनु भनेपछि विभागले यस्तो परिपत्र गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *