स्रोतविनाका आयोजना माधव नेपालबाट शिलान्यास गराएको रामकुमारीको आरोपपछि मेटमणिले दिए स्पष्टीकरण – Nepal Press

स्रोतविनाका आयोजना माधव नेपालबाट शिलान्यास गराएको रामकुमारीको आरोपपछि मेटमणिले दिए स्पष्टीकरण

काठमाडौं । नेकपा एसकी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले आफ्नै पार्टीका अध्यक्ष माधवकुमार नेपालले शिलान्यास गरेका आयोजनामाथि प्रश्न उठाएपछि शहरी विकास मन्त्रालयले स्पष्टीकरण दिएको छ ।

एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा झाँक्रीले गौरमा अध्यक्ष नेपालले शिलान्यास गरेका आयोजनाको कुनै स्रोत नभएको दाबी गरेकी थिइन् ।

अन्तरवार्तामा उनले भनेकी छन्, ‘हिजो केपी ओली प्रधानमन्त्री हुँदा अध्ययन र स्रोतबिनाका आयोजना शिलान्यास गरेको भनेर मैले चर्को विरोध गरेकी थिएँ । अहिले मेरो नेताले पनि त्यस्तै काम गर्नुभयो मेरो असहमति रहन्छ । जस्तै हिजो हाम्रो अध्यक्षले गौरमा दुई–तीन वटा धर्मशाला र सभागृहको शिलान्यास गर्नुभयो । तर, यी आयोजनाको न कार्यक्रम छ, न बजेट छ, न स्रोतको सुनिश्चितता छ, न टेन्डर आह्वान भएको छ । कुन स्रोतबाट काम गर्ने भन्ने नै थाहा छैन, तर शिलान्यास गर्नुभयो । कुरा त त्यही भएन र ?’

यस विषयमा शहरी विकास मन्त्रालयले आज एक विज्ञप्ति जारी गरेको छ । मन्त्रालयका प्रवक्ता प्रदीप परियारद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्रोत सुनिश्चित भइसकेका आयोजना पूर्व प्रधानमन्त्री नेपालबाट शिलान्यास भएको दाबी गरिएको छ ।

विज्ञप्ति अनुसार गौर सभा हलका लागि रु २० करोड र राम जानकी विवाह मण्डपका लागि ८ करोड गरी २८ करोड रुपैयाँ मन्त्रालयबाट बजेट उपलब्ध भइसकेको छ ।

दुई वर्षभित्र सम्पन्न हुने गरी स्रोत सुनिश्चितता सहित मन्त्रालयबाट २०७९ श्रावण ८ गते बहु वर्षीय खरिद गुरुयोजना स्वीकृत भएको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर