डोटीको एक सीटमा दुई बहादुरको दाबी, गठबन्धनको टिकटमा को होला हावी ? – Nepal Press

डोटीको एक सीटमा दुई बहादुरको दाबी, गठबन्धनको टिकटमा को होला हावी ?

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति मंसिर ४ गते तोकिएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको आज बसेको बैठकले निर्वाचनमा तालमेल गरेर जाने औपचारिक निर्णय गरेको छ । यससँगै सीट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल पनि बनेको छ ।

यो कार्यदललाई सीट बाँडफाँटमा केही यस्ता सीटले तनाव दिनेछ, जुन भागबन्डा गर्नु ‘फलामको च्यूरा चपाउनु’ सरह हुने निश्चित छ ।

त्यसैमध्येको एक सीट हो- डोटी । प्रतिनिधिसभाको एउटामात्र निर्वाचन क्षेत्र रहेको डोटी नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर र नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य प्रेमबहादुर आलेमगरको जिल्ला हो ।

दुबै नेता आ-आफ्नो पार्टीमा निकै प्रभावशाली मानिन्छन् । नेपाल विद्यार्थी संघको केन्द्रीय राजनीतिबाट उदाएका बलायर २०४६ को आन्दोलनको अगुवाइ गरिरहेका गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायतका शीर्ष नेताको सुरक्षा कमाण्ड सम्हालेर चर्चामा आएका पात्र हुन् ।

संसदीय राजनीतिमा ढिलो गरी प्रवेश पाएका बलायर संविधानसभा सदस्य र भौतिक पूर्वाधार तथा यातायातमन्त्री भइसकेका छन् भने अघिल्लो पटक पार्टीको केन्द्रीय सदस्य थिए ।

विद्यार्थी राजनीतिताका गणेमान सिंह र कृष्णप्रसाद भट्टराईनिकट रहेका बलायर पछिल्लो समय प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिन्छन् । देउवाले पार्टी विभाजन गरेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाउँदा उनी देउवासँगै गएका थिए । गृह प्रदेश सुदूरपश्चिममा देउवालाई दरिलो शक्ति प्रदान गर्ने तीन विश्वास पात्रमध्येका उनी एक हुन् । अर्का दुई कञ्चनपुरका एनपी साउद र रमेश लेखक मानिन्छन् ।

१४औं महाधिवेशनमा गृह प्रदेशलाई देउवाकै कब्जामा राख्ने रणनीतिअनुसार बलायरलाई प्रदेश सभापति बनाइएको चर्चा छ । उनी कांग्रेसका ७ प्रदेश सभापतिमध्ये सबैभन्दा सिनियर र प्रभावशाली मानिन्छन् ।

उता नेकपा एसमा प्रभावशाली भूमिकामा रहेका आलेको बलायरको जस्तो इतिहास छैन । तर, पछिल्लो समय उनी चर्चामा आएका र कतिपय अवस्थामा लोकप्रियता पनि कमाउँदै आएका व्यक्ति हुन् । २०५४ सालको स्थानीय निकाय निर्वाचनअघि उनी कांग्रेसकै कार्यकर्ता थिए ।

सो निर्वाचनमा कांग्रेसले गाविस उपाध्यक्षको टिकट नदिएपछि उनी नेकपा एमाले प्रवेश गरेका थिए । पछि एमालेबाट वडा सदस्य जिते । सो निर्वाचनमा राप्रपासँग एमालेले तालमेल गरेको थियो । तालमेलबाटै उनले जिल्ला विकास समितिको निर्वाचनमा जिविस सदस्य (क्षेत्रपाल) पदमा लड्ने सौभाग्य पाए र जिते ।

त्यहीबाटै उनको राजनीतिक जीवनले ‘लिक’ समातेको थियो ।

त्यसपछि उनले एमालेबाटै २०६४ को संविधानसभा निर्वाचनमा डोटी क्षेत्र नम्बर २ बाट टिकट पाए र हारे । सोही क्षेत्रमा २०७० मा फेरि टिकट पाएर निर्वाचित भए । २०७४ को प्रतिनिधिसभामा तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवारका रुपमा एमालेको उम्मेदवार भएर उनी दोस्रो पटक निर्वाचित भएका थिए ।

त्यसपछि २०७७ पुसमा तत्कालीन केपी शर्मा ओलीको सरकारका पालामा वन तथा वातावरणमन्त्री र पछिल्लो समय देउवा नेतृत्वको वर्तमान सरकार (हेरफेरअघिसम्म) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका थिए ।

अघिल्लो पटक मन्त्री हुँदा आफ्नै अभिव्यक्तिका कारण विवाद झेलेका आलेले दोस्रोपटक केही कामहरूमा चर्चा कमाएका थिए ।

नेकपा एमाले विभाजनका क्रममा आठ सांसदको ‘शक्ति’ आफूसँग रहेको भन्दै ‘बार्गेनिङ’ गरेको आरोप आलेमाथि छ । तर, आठ–आठ सांसदहरू आफूअनुसार चलाउनसक्ने शक्ति पुष्टि भएपछि उनको प्रभाव नेकपा एसभित्रै ह्वात्तै बढेको छ ।

बलायर ‘भर्सेस’ आले, समानता र प्रतिस्पर्धा

राजनीतिक संघर्षका हिसाबमा फरक पृष्ठभूमि देखिए पनि बलायर र आलेबीचमा केही समानता छन् । उनीहरू दुबै हक्की र निडर स्वभावका छन् । दुबैले पहिलो संविधानसभा निर्वाचन २०६४ मा पहिलोपल्ट संसदीय निर्वाचन ‘फेस’ गरेका हुन् । दुबैले पहिलो स्पर्धामा हारको स्वाद चाखेका थिए । दोस्रो स्पर्धामा दुबै विजयी भए ।

त्यसवेला डोटीमा दुई निर्वाचन क्षेत्र थियो । क्षेत्र नम्बर १ बाट लडेका बलायर एमाले उम्मेदवार हर्कबहादुर सिंहसँग पराजित भएका थिए । क्षेत्र नम्बर २ बाट लडेका आले तत्कालीन नेकपा (माओवादी) का उम्मेदवार खेम बमसँग पराजित भएका थिए ।

पराजित भएपछि दुबैजनाले हरेश खाएनन् । आफ्नो निर्वाचन क्षेत्रमा जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेर काममा जुटिरहे । बलायरले तत्कालका लागि केन्द्रीय राजनीतिको ‘मोहत्याग’ गरी पार्टीको जिल्ला सभापति भएर काम गरेका थिए ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा त्यसैको फल दुबैले पाए । बलायर १ नम्बर क्षेत्रबाट फराकिलो मतान्तरले जित्दा आलेले सहज संविधानसभाको यात्रा तय गरेका थिए ।

नेपालको संविधान २०७२ निर्माणपछि आले सांसदकै रुपमा रहँदा बलायर देउवा प्रधानमन्त्री हुँदा यातायातमन्त्री भएका थिए ।

अघिल्ला दुई निर्वाचनमा फरक निर्वाचन क्षेत्रमा भिडेका यी दुबैलाई प्रतिनिधिसभा निर्वाचन २०७४ ले प्रतिस्पर्धी बनाइदियो । संविधानअनुसार निर्वाचन क्षेत्र समायोजन गर्दा डोटीमा प्रतिनिधिसभाको एउटामात्रै क्षेत्र कायम भयो । त्यसपछि दुबै २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भिडेका थिए ।

नतिजा वाम गठबन्धन आलेका लागि ‘फलिफाप’ भयो भने बलायरका लागि ‘अभिसाप’ ! आलेले यो निर्वाचन १ हजार ६३२ मतान्तरले जिते । आलेले ३२ हजार ५१० मत पाउँदा बलायरले ३० हजार ८७८ मत बटुलेका थिए ।

स्थानीय तह २०७४ को नतिजाअनुसार वाम गठबन्धन कांग्रेसभन्दा ७ हजार ६८० मतले अगाडि थियो । नौ स्थानीय तहको निर्वाचनको नतिजामा वाम गठबन्धनका दलहरू एमालेका अध्यक्ष/प्रमुखका उम्मेदवारहरूले २७ हजार ८९०, माओवादी केन्द्रका उम्मेदवारहरूले ७ हजार १६४ र राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरूले १ हजार १६८ मत पाएका थिए । जसको कुल योगफल ३६ हजार २२२ थियो । कांग्रेसका अध्यक्ष÷प्रमुखका उम्मेदवारहरूले २८ हजार ५४२ मत ल्याएका थिए ।

बलायरले यस्तो फराकिलो अन्तर घटाउन सफल भए पनि आलेविरुद्ध जीत निकाल्न भने सकेनन् ।

अहिलेको संयोग र उम्मेदवारीको संशय

अघिल्लो निर्वाचनका प्रतिस्पर्धी बलायर र आलेलाई अहिलेको ‘संयोग’ले ‘विलखबन्द’मा पारेको छ । दुबै अहिले पाँचदलीय सत्ता गठबन्धनभित्रै छन् । गठबन्धन दलको आजको बैठकको निर्णय दुरुस्तै लागू हुने हो भने मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा डोटीबाट प्रत्यक्षमा गठबन्धनबाट यी दुईमध्ये एकजनामात्रै उम्मेदवार हुनेछन् ।

प्रत्यक्षतर्फ नै चुनाव लड्ने चाहना दुबैको छ । तर, गठबन्धनले दुबैलाई विलखबन्दमा पारेको छ । गणितीय र शक्ति केन्द्रका हिसाबले बलायर निकै अगाडि छन् । आलेलाई गठबन्धन हुँदा बन्नसक्ने एउटा मापदण्डले मात्रै झिनो सम्भावना देखाउँछ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको गणितीय तथ्यांकका आधारमा डोटीमा अहिले कांग्रेस निकै बलियो छ ।

गठबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा एस र राष्ट्रिय जनमोर्चाले आफ्नो हैसियतभन्दा धेरै मागेको भन्दै कांग्रेसले स्थानीय निर्वाचन एक्लै लडेको थियो । त्यसपछि माओवादी केन्द्र, नेकपा एस र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका थिए । केही ठाउँमा राप्रपासँग पनि उनीहरूको तालमेल थियो । प्रतिपक्षी दल एमाले पनि एक्लै लडेको थियो ।

यसरी लड्दा जिल्लाका ९ स्थानीय तहमध्ये कांग्रेसले ७ तहमा प्रमुख एवं अध्यक्ष जित्दा, एउटामा उपाध्यक्ष जितेको छ । कांग्रेसले उपाध्यक्ष जितेको बोगटान फुड्सिल गाउँपालिकामात्रै माओवादी केन्द्रले जित्दा एउटा जोरायल गाउँपालिका एमालेले जितेको थियो ।

आलेको दल नेकपा एसले यो निर्वाचनमा जिल्लाका ६५ वडामध्ये जम्मा १ वडाध्यक्षमात्रै जित्न सफल भएको थियो । कांग्रेसले ३९ वटा वडा जितेको छ । वडाध्यक्षमा एमालेले १८, माओवादी केन्द्रले ५ र एउटा वडा स्वतन्त्रले जितेको छ । ती जितेका स्वतन्त्र पनि कांग्रेसकै बागी हुन् ।

जीतमा मात्रै होइन, जनमतमा पनि कांग्रेसले आफूलाई निकै बलियो गरी प्रदर्शन गरेको छ । प्रमुख र अध्यक्ष पदमा कांग्रेसले अन्य सबै दलका उम्मेदवारहरूले पाएकोभन्दा दुई हजार बढी मत ल्याएको छ । कांग्रेसका प्रमुख÷अध्यक्ष पदका उम्मेदवारहरूले ३५ हजार ८०१ मत बटुल्दा बाँकी सबै दलका उम्मेदवारहरूले ३३ हजार ५७८ मत पाएका छन् ।

यसमा आलेको दल नेकपा एसका उम्मेदवारहरूले जम्मा ३ हजार ३६२ मत बटुलेका छन् । यस्तै एमालेका प्रमुख/अध्यक्षका उम्मेदवारहरूले २४ हजार ३५ मत बटुल्दा माओवादी केन्द्रका उम्मेदवारले ६ हजार ११८, राप्रपाका उम्मेदवारले १३६ र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले २७ मत बटुलेको देखिन्छ ।

यसरी सबै दलभन्दा २ हजार २२३ मतले कांग्रेस अगाडि छ ।

यसरी गणितीय रुपमा अब्बल देखिएका बलायर शक्ति केन्द्रका हिसाबमा पनि बलिया छन् । उनी प्रधानमन्त्री देउवाका विश्वास पात्र रहेकाले उनको सीट सुरक्षित गरेर नै देउवाले गठबन्धन गर्ने कांग्रेस वृत्तको दाबी छ ।

यद्यपि बलायरको रुचि केमा छ भन्नेमा पनि भरपर्ने हुन्छ । उनी पछिल्लो समय प्रदेश सभापति रहेकाले मुख्यमन्त्री पदमा पनि जानसक्ने अड्कल गरिएको छ । संघीय सरकारमा पहिल्यै प्रभावशाली मन्त्रालय सम्हालिसकेका उनी अझ आउँदा मन्त्री पद पाइन्छ÷पाइन्न ग्यारेन्टी छैन ।

सुदूरपश्चिमकै भूगोलबाट देउवाकै अर्का विश्वासपात्रहरू एनपी साउद र रमेश लेखक, देउवापत्नी डा. आरजु देउवा राणा पनि सम्भावित मन्त्रीको लाइनमा रहेकाले बलायरको संघीय मन्त्री पद सुनिश्चित नरहेको टिप्पणी हुने गरेको छ । तर, प्रदेशमा जाँदा मुख्यमन्त्री निश्चितप्रायः रहेकाले उनी प्रदेशमै पनि जानसक्ने अड्कल एकथरिको छ ।

तर, उनले आफै भने त्यो सम्भावना खारेज गर्ने गरेका छन् । ‘म सुदूरपश्चिममा कांग्रेसको मुख्यमन्त्री बनाउन गएको हुँ । मुख्यमन्त्री हुन गएको होइन’, केही दिनअघि कांग्रेसको डोटी-काठमाडौं सम्पर्क समितिको अधिवेशनमा बोल्दै उनले भनेका थिए, ‘पार्टीले दिए फेरि प्रतिनिधिसभामै लड्छु ।’

उनले गठबन्धन हुँदा पनि डोटीको प्रतिनिधिसभा सीट कांग्रेसको हुने दाबी गरेका थिए । ‘डोटी कांग्रेसकै भागमा हुन्छ । ढुक्क हुनुस् । पार्टीले अन्यायपूर्ण निर्णय गर्दैन, गर्न पनि दिइँदैन’, उनले भनेका थिए ।

पार्टीका प्रदेश सभापति पनि भएको र संघर्षशील प्रभावशाली नेता भएकाले उनले रोजेअनुसार नै निर्वाचन क्षेत्र पाउने भएकाले प्रतिनिधिसभा वा प्रदेशसभा के लड्ने भन्ने निर्णय बलायरमै निर्भर रहेको कांग्रेस उच्च स्रोतले बतायो ।

उता कांग्रेसबाहेकका दलहरु गठबन्धनमा भागबन्डा मिलाउँदा ‘पहिला जसले जहाँ जितेको थियो उसैलाई दिने र एमालेले जितेको ठाउँमा भागबन्डा मिलाउने’ मापदण्डका लागि कांग्रेसमाथि दबाब बढाइरहेका छन् ।

यही मापदण्डअनुसार आफ्नो सीट सुरक्षित गर्ने दाउमा आले छन् । यसबाहेक उनी अनेक किसिमले प्रधानमन्त्री देउवा दम्पतीलाई रिझाएर डोटी आफ्नो पक्षमा पार्ने प्रयासमा लागेको स्रोत बताउँछ । उनी ‘बलायरलाई तल झारिहाल्छु, मैं लड्ने हो’ भनेर हिँडिरहेको उक्त स्रोतको दाबी छ ।

यी दुई नेताको शक्ति संघर्ष र दाउपेचमा आशन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत डोटीको निर्वाचन निकै रोचक बन्ने सम्भावना प्रवल बनेको छ ।


प्रतिक्रिया

One thought on “डोटीको एक सीटमा दुई बहादुरको दाबी, गठबन्धनको टिकटमा को होला हावी ?

  1. एक वडा अध्यक्ष जितेका लाई कसरी संघ मा टिकेट हुन्छ ।कांग्रेस को जस्ले पाए नि हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर