निक्षेप सुरक्षणको सीमा ५ लाख पुर्‍याइयो – Nepal Press

निक्षेप सुरक्षणको सीमा ५ लाख पुर्‍याइयो

काठमाडौं । सरकारले निक्षेप सुरक्षणको सीमा बढाएर ५ लाख पुर्‍याउन निर्णय गरेको छ । अर्थमन्त्रीमा पुन: नियुक्तिसँगै जनार्दन शर्माले गरेको पहिलो निर्णयलाई हिजोको मन्त्रिपरिषद् बैठकले कार्यान्वयनका लागि बाटो खोलेको हो ।

निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ३ लाखको निक्षेप सुरक्षणलाई ५ लाख बनाइएको बताए । अर्थमन्त्रीले पदभार ग्रहण गर्दै ५ लाख बनाउने बताएका थिए । बजेटको बुँदा नम्बर ३३३ नम्बरमा पनि निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित संरक्षण कार्यक्रम र लघु बीमा सहयोग कार्यक्रमको दायरा विस्तार गर्ने र निक्षेप बीमा ३ लाखबाट ५ लाख रूपैयाँ पुर्‍याउने उल्लेख छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थामा प्राकृतिक व्यक्तिका नाममा खोलिएका बचत तथा मुद्दती खातामा राखेको निश्चित सीमासम्मको रकम संस्था समस्याग्रस्त घोषणा भई फिर्ता गर्न नसकेमा उक्त सीमासम्मको निक्षेप रकम फिर्ता गर्ने गरी सुरक्षण गराउने काम नै निक्षेप सुरक्षण हो । हाल प्राकृतिक व्यक्तिका नाममा बैंक तथा वित्तीय संस्थाको बचत तथा मुद्दती खातामा रहेको ३ लाखसम्मको रकमको सुरक्षण गरिँदै आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर