सबैखाले कर्जाको ब्याजदर बढ्ने ! – Nepal Press

सबैखाले कर्जाको ब्याजदर बढ्ने !

काठमाडौं । वाणिज्य बैंकहरुको आधार दर बढेको छ । केही बैंकको आधार दर नै दोहोरो अंकमा पुगेको छ । आधारदरको प्रत्यक्ष सम्बन्ध कर्जाको व्याजदरसँग हुन्छ ।

आधार दरमा केही प्रिमियम जोडेर बैंकका ऋणीसँग व्याज निर्धारण गरेर बैंकहरुले व्याजदर निर्धारण गर्दै आएका छन् । तर बैंक तथा वित्तीय संस्थाहरुले प्रिमियम धेरै लिएर ब्याज चर्को बनाउने गरेको गुनासो पनि ऋणीबाट आउने गरेको छ ।

आधार दर कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने आधार मात्र हो । यही आधार नै महंगो हुँदा त्यसमा थपिने प्रिमियमले झन ऋणीको ढाड सेक्ने देखिन्छ ।

नबिल बैंकका डेपुटी सिइओ मनोज ज्ञवालीले आधारदर बढेसँगै सम्पूर्ण कर्जाको ब्याजदर बढ्ने बताउँछन् । उनका अनुसार आधार दरलाई टेकेर बैंकहरुले आफू अनुकुलको प्रिमियम थप्न पाउँछन् ।

अहिले सबैभन्दा बढी आधारदर कुमारी बैंक, सनराइज बैंक र सिटिजन्स बैकको रहेको छ । यी बैंकको आधारदर दोहोरो अंकमा छ । अहिले कुमारी बैंकको आधारदर १०.५७ प्रतिशत छ । यसले ५ प्रतिशत प्रिमियम थप गरे यसका ऋणीलाई साढे १५ प्रतिशत कर्जाको व्याजदर पर्न जान्छ । तर बैंकहरुले कति प्रिमियम थप्ने भन्ने सिमा निर्धारण नभएको ज्ञवालीको भनाइ छ ।

वित्तिय विवरण प्रकाशित गरेको बैंकहरुले आधारदर बढाएको प्रतिवदेन सार्वजनिक गरेका छन् । अहिले सबैभन्दा कम आधार दर राष्ट्रिय वाणिज्य बैंकको छ । यसको आधार दर ७.७३ प्रतिशत छ । अन्य बैंकको तुलनामा कम भएपनि गत वर्षको यही बैंकको तुलनामा अहिले भने बढेको छ । आधार दर कम भएका कारण यो बैंकको ऋणीलाई अन्य बैकको तुलनामा कम ब्याज पर्न जान्छ ।

यता नेपाल राष्ट्र बैंकले पनि चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ब्याजदर वृद्धिको लागि अनुमति दिइसकेको छ । बैंकर्सहरुले निक्षेपको ब्याजदर वृद्धिका लागि शुक्रबार मात्र छलफल गरेका थिए । उनीहरुले एकसाता ब्याज नबढाउँने सहमति गरेका छन् ।

अहिले बैंकहरुले मुद्दती निक्षेपमा ११.०३ प्रतिशतसम्म ब्याज दिएका छन् । ऋणको ब्याज यो भन्दा माथि छ । अहिले आधार दर बढेको बैंकहरुको ऋणको ब्याजदर स्वत्तः बढ्ने छ ।

बैंकहरु ब्याजदर वृद्धिको प्रतिस्पर्धामा बेला बेलामा उत्रने गरेका छन् । यस्तो प्रत्रिस्पर्धालाई केन्द्रीय बैंकले अप्रत्यक्ष रुपमा हस्तक्षेप पनि गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर