कमल-दीपक : पहिले एक अर्काका सहारा, अहिले दुई किनारा – Nepal Press

कमल-दीपक : पहिले एक अर्काका सहारा, अहिले दुई किनारा

हेटौँडा । आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएसँगै चुनावी जोड घटाउ सुरु भएको छ । सरकारले एकै चरणमा निर्वाचन सम्पन्न गर्ने निर्णय गरे पनि दल र नेता कार्यकर्ताहरूले आफ्नो तयारीमा जुटेका छन् ।

निर्वाचन तय भएसँगै मकवानपुर क्षेत्र नम्बर १ मा यसपटक रोचक भिडन्त हुने देखिएको छ । यो क्षेत्रमा राजनीतिको चार दशक बढी समय एक अर्काको सहयोगी र सारथि बनेर बिताएका दुई जना कमल थापा र दीपकबहादुर सिंह आमनेसामने हुँदै छन् ।

पञ्चयातकालीन व्यवस्थाबाट २०४७ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) स्थापना भएपछि सो पार्टीमा समेत सँगै रहेका थापा र सिंह यो पटक एक अर्काका प्रतिस्पर्धी हुने सम्भावना बढेको हो ।

राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापा र राप्रपाका केन्द्रीय सदस्य रहेका सिंह यो पटक फरक पार्टी र फरक चुनाव चिह्नबाट चुनाव लड्दा रोचक दृश्य देखिनेछ ।

थापाले क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गरिसकेका छन् । यता, सिंह पनि स्थानीय निर्वाचनमा पराजित भएपछि संघीय निर्वाचनको तयारीमा जुटेका छन् ।

२०५१ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर १ बाट विजयी भए बाहेक थापा अहिलेसम्म प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित हुन सकेका छैनन् । सिंहले अहिलेसम्म प्रतिनिधिसभामा भाग लिएका छैनन् । तर सिंह उम्मेदवार भएको संविधानसभा तथा हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा भने पराजित भएका थिए ।

गत वर्ष काठमाडाैंमा भएको राप्रपाको केन्द्रीय महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि राप्रपा छाडेर राप्रपा नेपाल गठन गरेसँगै थापा र सिंहको धार अलग भएको हो । सिंहले लिङ्देनलाई साथ दिँदै लामो समयको थापासँगको साथलाई तोडेका थिए ।

मकवानपुरमा रहेका यी दुई पूर्व पञ्च मात्र यस्ता नेता हुन जो निर्वाचनमा खडा हुँदा मात्र राप्रपाको मत देखिने गरी आउने गर्दछ । पछिल्लो समय अझ सिंहले आफ्नो मतलाई बढाएका छन् । लिंङ्देन नेतृत्वमा लागेपछि सिंहको मत हेटौँडामा बढेको छ । गत स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकामा मात्रै सिंहले २० हजार मत कटाएका थिए । मकवानपुरको क्षेत्र नम्बर १ मा हेटौँडा उपमहानगरपालिकाको १९ वडा मध्ये १५ वटा वडाहरू पर्छन् भने बकैया गाउँपालिका, बागमती गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको ४ वटा वडाहरू पर्दछन् ।

एमालेसँग तालमेल गर्ने कमल थापाको दाउ

एक्लै निर्वाचनमा जित्ने सम्भावना नदेखेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेसँग चुनावी तालमेल हुन सक्ने अभिव्यक्ति दिइरहेका छन् । तालमेलमा एमाले सकारात्मक भएका मकवानपुरको क्षेत्र नम्बर १ आफूले दिने दाउमा थापा छन् ।

यस अघिको निर्वाचनमा पनि थापाले कांग्रेससँग तालमेल गरेर निर्वाचन लडेका थिए । तर थापालाई एमालेका कृष्णप्रसाद दाहालले पराजित गरेका थिए । पराजित भएसँगै थापाले कांग्रेसले धोका दिएको र राजनीतिक चरित्र प्रस्तुत नगरेको आरोप लगाएका थिए ।

थापा–सिंह भिड्दा एमाले–कांग्रेसलाई फाइदा

प्रतिनिधिसभाको निर्वाचनमा कमल थापा र दीपकबहादुर सिंह भिड्दा त्यसको फाइदा भने नेकपा एमाले तथा नेपाली कांग्रेसलाई हुने देखिन्छ ।

राप्रपाको परम्परागत भोट थापा र सिंहलाई बाँडिने अवस्थामा एमाले र कांग्रेसलाई राहत मिल्नेछ । तर थापा र सिंह यदि कांग्रेस या एमालेसँग सहकार्यमा गए भने यस क्षेत्रमा दुई पक्षको मात्र भिडन्त हुनेछ ।

स्थानीय तहको निर्वाचनमा राप्रपाले हेटौँडामा मात्र आफूलाई केन्द्रित गर्दा उसको क्षेत्रभरको कुल मतलाई आङ्कलन गर्न सकिने अवस्था छैन । राप्रपा नेपालले त केहि स्थानमा एमालेसँगको तालमेल गरेर सदस्यमा मात्र उम्मेदवारी खडा गरेको कारण राप्रपा नेपालको मतको अवस्थाका बारेमा पनि अनुमान लगाउन सकिने अवस्था छैन ।

समग्रमा थापा र सिंह एक जना मात्र उठ्ने हो भने २० देखि २५ हजार मत आउने आङ्कलन गर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर