‘सयभन्दा बढी सीटमा कांग्रेस उम्मेदवार नभए एमाले हराउन सकिन्न, गठबन्धनमा च्याँखे थापेर सीट नमागौं’ – Nepal Press
नेपाल टक

‘सयभन्दा बढी सीटमा कांग्रेस उम्मेदवार नभए एमाले हराउन सकिन्न, गठबन्धनमा च्याँखे थापेर सीट नमागौं’

प्रधानमन्त्रीमा मेरो पनि दाबी छ, प्रचण्डजी पहिले सांसद भएर आउनुपर्‍यो अनि दाबी गर्न सुहाउँछ

काठमाडौं । निर्वाचन घोषणासँगै चुनावी तालमेलको खाका बनाउन र सीट बाँडफाँट गर्न सत्तारुढ गठबन्धनले तयारी थालेको छ । पाँचदलीय गठबन्धनमा चुनावी तालमेलबारे अलमल नभएपनि कसले कति सीट पाउने भन्नेमा दर्‍हो रस्साकस्सी चल्ने निश्चित छ । चुनावको मिति घोषणा हुनुअघि नै सार्वजनिक मञ्चहरूमा गठबन्धनका नेताले दिएको अभिव्यक्तिबाटै सीट बाँडफाँट गठबन्धनका लागि पेचिलो बन्ने निश्चित छ । गत स्थानीय तहमा पनि ७५३ मध्ये २०० भन्दा केही बढी स्थानीय तहमा मात्रै गठबन्धनको पूर्णचुनावी तालमेल भएको थियो । प्रतिनिधिसभाको आगामी निर्वाचन, चुनावी तालमेल र भावी राजनीतिबाट पाँचदलीय गठबन्धनको समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग गरिएको संक्षिप्त कुराकानी प्रस्तुत छ नेपाल टकमा-

– निर्वाचनको मिति घोषणा भएको छ । यसबारे के भन्नुहुन्छ ?

सरकारले निर्वाचनको तिथि घोषणा गरेको छ । यो स्वागतयोग्य निर्णय हो । यो निर्वाचनले संविधानलाई थप संस्थागत गर्ने, जनताको लोकतान्त्रिक अधिकारको रक्षा गर्ने र देशविकासका लागि प्रष्ट जनादेश दिनेछ । मंसिर ४ गते एकै चरणमा हुने निर्वाचन चुनौतीपूर्ण छ । यो निर्वाचनमा तालमेल गरेरै जाने निर्णय पाँचदलीय गठबन्धनले गरिसकेको छ । तालमेललाई प्रभावकारी बनाउन र सीट बाँडफाँट गर्न कार्यदल बनाएका छौं । अब कार्यदलमार्फत वस्तुस्थिति केलाउने र सीट बाँडफाँट गर्ने वैज्ञानिक विधि पहिल्याउने काम हुन्छ ।

– चुनावी तालमेल गर्दा सीट बाँडफाँटको आधार चै के हुन्छ ?

सीटको बाँडफाँट हरेक निर्वाचन क्षेत्रको धरातलीय यथार्थका आधारमा हुन्छ । यो तत्कालै टुंगिदैन । अब बल्ल छलफल सुरू हुन्छ । पार्टीहरूको दावी पनि अब आउँछ । दाबीले मात्रै चुनाव नजितिने भएकोले सीट बाँडफाँट गर्दा हरेक निर्वाचन क्षेत्रको अवस्था, विगतको मत र अहिले कसले चुनाव जित्न सक्छ भन्ने परिस्थितिको समीक्षा गर्नुपर्छ । संख्यात्मक दाबीको अर्थ हुँदैन । जहाँ जसले चुनाव जित्ने सम्भावना बढी छ उसैले उम्मेदवार दिनुपर्छ ।

– गठबन्धनभित्रै वामपन्थीबीच मोर्चा बन्ने चर्चा छ । त्यसबारे कांग्रेसको धारणा के हो ?

त्यस्तो मोर्चा बनाएर के गर्ने ? कांग्रेसको विरूद्ध मोर्चा बनाउने कि के हो ? मैले बुझेको छैन । ओलीको विरुद्ध लड्न त ५ दलकै मोर्चा छँदै छ नि । अब कोसँग लड्न मोर्चा बनाउने कुरा भएको हो मलाई थाहा भएन । त्यस्तो मोर्चाको आवश्यकता र औचित्य छैन । अहिलेसम्म त्यस्तो मोर्चा नबनेकोले अहिले नै धेरै नभनौं । अहिलेसम्म त ५ दलको गठबन्धन नै मिलेर जाने कुरा हो ।

– सीटको बाँडफाँटमा त गठबन्धनमा रहेका दलहरूको बार्गेनिङ चर्को हुने देखिन्छ नि ?

अब सबै मिलेर केपी ओली र एमालेलाई नै जिताउने हो भने जति बार्गेनिङ गरेपनि हुन्छ । धरातलीय यथार्थ नहेरी दाबी गर्नुको कुनै अर्थ छैन । अब ओलीलाई नै बुझाउने हो भने अर्कै कुरा नत्र त जहाँ जसले जित्नसक्छ त्यहाँ उसैले उम्मेदवारी दिनुपर्छ । सीट बाँडेर मात्रै चुनाव जितिन्न । सीट धेरै लिने, चुनाव थोरै जित्ने हुनुभएन । उम्मेदवारी लिएर मात्रै के गर्ने ? जित्नुपर्यो नि । परिणाम दिनेगरी चुनावी तालमेल हुनुपर्छ । दाबी पनि त्यसरी नै गर्नुपर्यो । जुवाको खालमा बसेर च्याँखे थापेजस्तो गरेर सीट मागेर हुँदैन । रिस्क लिने कुरा छैन । तालमेल गरेपछि जित्नेगरी गर्नुपर्छ ।

– कांग्रेसको दाबी चैँ कति सीटमा रहन्छ त ?

कांग्रेसका उम्मेदवारले मात्रै जित्न सक्ने सीटको संख्या नै १०० भन्दा बढी छन् । ती क्षेत्रमा कांग्रेसको उम्मेदवार नभए एमालेलाई हराउन सकिँदैन । कुन पार्टीको कति भोट छ भन्ने त स्थानीय चुनाव र अघिल्लो चुनावको तथ्यले पनि बोल्छ नि । जुन पार्टीको धेरै भोट छ त्यही पार्टी लड्नु उपयुक्त हुन्छ नि । अहिले कांग्रेसलाई यति नै सीट चाहिन्छ भनेर म भन्दिन । छलफल गर्दै जाँदा , हरेक निर्वाचन क्षेत्रको धरातलीय यथार्थ हेर्दै जाँदा बल्ल कति सीटमा कुन पार्टी लड्ने भन्ने टुंगिन्छ । संख्यामा भन्दा हाम्रो जोड परिणाममा केन्द्रित छ ।

– चुनावपछि को प्रधानमन्त्री बन्ने भन्ने चर्चा पनि चलिरहेको छ । प्रचण्डको दाबी आइसक्यो । चुनावपछिको प्रधानमन्त्री प्रचण्ड हुने सहमति बनेको हो ?

अहिले नै प्रधानमन्त्री को बन्ने भन्ने कुरा हतार हुन्छ नि । प्रचण्डजी पहिले सांसद भएर आउनुपर्‍यो । संसदमा कुन पार्टीको हैसियत के हुन्छ, हेर्नुपर्‍यो । उहाँको मात्रै दाबी लाग्ने त होइन । प्रधानमन्त्रीमा हाम्रो पनि दाबी छ नि ।


प्रतिक्रिया

2 thoughts on “‘सयभन्दा बढी सीटमा कांग्रेस उम्मेदवार नभए एमाले हराउन सकिन्न, गठबन्धनमा च्याँखे थापेर सीट नमागौं’

  1. देशको डेढ वर्ष त्यसै खेर गयो। अव पनि गठबन्धनको कुनै उद्देश्य छैन। भारतको आदेश बमोजिम एमाले र ओलि हराउने बाहेक। यिनलाई जिताएका 5 वर्षमा देशवर्बाद हुने मात्र होईन देशै बेचिन सक्छ। जनता सचेत हुनुपर्छ अन्यथा दु:ख पाईन्छ।

  2. हरे राम जति जे गरे पनि यमाले लाइ हराय पनि प्रधान मंत्री रामचन्द्र सर ले पाउने हैन मलाइ लाग्छ रास्टपति पनि पाउदैनन् किन कि चुनाब पछि झन् बार्गेनिङ्ग धेरै हुन्छ

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर