‘सेयर बजारमा छिर्ने यो सही समय हो’ (भिडिओ) – Nepal Press
नेपाल टक

‘सेयर बजारमा छिर्ने यो सही समय हो’ (भिडिओ)

सेयर बजार विज्ञ डा. केशव श्रेष्ठ भन्छन्-कम्तीमा ५ वर्ष टिक्ने धैर्य राख्नुस्

काठमाडौं । आर्थिक वर्ष २०७९/८० सुरु भएसँगै सेयर बजारमा सुधार देखिन थाल्यो । त्यसपछि आएको मौद्रिक नीतिले बजारलाई अझै सहयोग गर्‍यो । साउनमा अधिकांश दिन बढेको सेयर बजार थोरै दिनमात्र घटेको छ । यद्यपि बजार धेरैमाथि भने गइसकेको छैन । कुनै बेला ३२०० विन्दुसम्म पुगेको बजार अहिले २१०० विन्दु वरिपरि घुमिरहेको छ । अहिले बजार धेरै तल र धेरै माथि जान नसक्नुको कारण, बजारको आगामी गन्तव्य, सेयर लगानीकर्ताले जान्नैपर्ने विषयलगायतमा केन्द्रित रहेर पुँजी बजारका विज्ञ डा. केशव श्रेष्ठसँग नेपालप्रेसकर्मी एलिजा उप्रेतीले गरेको कुराकानी नेपाल टकमाः

– पछिल्लो समय धेरैजसो दिन सेयर बजार बढिरहेको छ । अब बजार उकालो यात्रातर्फ लागेको हो ?

मौद्रिक नीति आएपछि ४/१२ को नीतिमा ४ को सीमा हटाएपछि सकारात्मक प्रभाव परेको देखिएको छ । अर्कोतर्फ २५ लाखसम्मको कारोबारको कुरामा जोखिम भारित भनेर १०० प्रतिशत राखिएको छ । त्यसभन्दा माथिकोमा फेरि १५० प्रतिशत नै कायम छ । २५ लाखसम्मको ऋण दिने प्रावधान अलि खुकुलो भएकाले सकारात्मक प्रभाव पार्‍यो र त्यसले एउटा मोमेन्टम ल्यायो । अहिले बजार अलिकति माथि गएको हो । तर, समग्रमा बजारको प्रकृति हेर्दा अझै केही समय साइडलाइनमै रहन्छ भन्ने हो । साइडलाइनमा रहँदै गर्दा राज्य र नियामकको लागि एउटा अवसर पनि हो । थप सकारात्मक नीतिगत, व्यवहारिक विषय ल्याउँदै गर्दा बजारले विस्तारै मोमेन्टम लिँदै बुलिस ट्रेन्ड लिनसक्छ । तर, यस्तै अवस्थामा बजार माथि जान्छ भन्ने लाग्दैन ।

– अहिलेको सेयर बजारको अवस्थाले उकालो पनि नलाग्ने धेरै ओरालो पनि नलाग्ने स्थिति हो भन्न खोज्नुभएको हो ?

हो ओरालोबाट बटम लागेर माथि उकालो चढ्दै गरेको हो । मौद्रिक नीतिले थोरै इन्धन भरिदिएको अथवा सर्पोट गरेको छ । तर, अझै केही समय तलमाथि भइरहन्छ । अलिकति माथि जाने अलिकति तल आउने अवस्था भइरहन्छ । धेरै बढ्ने थोरै घट्ने हुँदा त्यसलाई हामी स्वस्थ करेक्सन भन्छौं । त्यो हुनु पनि नराम्रो होइन । तर, यत्तिकैको भरमा मोमेन्टम समातिहाल्यो, बुलिसयात्रा समातिहाल्यो भन्ने मलाई लाग्दैन ।

– तपाईंहरुको प्राविधिक विश्लेषणले सेयर बजारमा यस्तो खालको स्थिरता कति समयसम्म रहने देखाउँछ ?

प्राविधिक विश्लेषणले अहिले बजारमा भएका फोर्सहरु चित्रमा कसरी आएको छ भनेर बजारको इतिहासलाई देखाउनेमात्र हो । प्राविधिक विश्लेषणले भविष्यमा थोरै पूर्वानुमान गर्नसक्छ । तर, मार्केट बनाउने होइन । मार्केटले प्राविधिक विश्लेषणको चार्टहरु बनाउने हो । प्राविधिक विश्लेषणलाई अल्पकालको विश्लेषण गर्दा सय, दुईसय प्वाइन्ट तलमाथि हुने हो । जबसम्म अर्थतन्त्रमा बुम आउने, अर्थतन्त्रलाई ठोस सहयोग गर्ने नीति तथा कार्यक्रम आउँदैन तबसम्म सेयर बजार उचालिएर माथि जान्छ भन्ने आशा गर्न सकिँदैन ।

पहिलेको जस्तो हल्लाको भरमा बजार माथि जाने र त्यसलाई थप अफवाह सृजना गर्दै बजार बढाइराख्ने प्रवृत्ति अब चल्दैन । अधिकांश लगानीकर्ताले यो प्रवृत्ति बुझिसकेका छन् । सेयर बजारलाई माथि लैजान हल्ला र सानातिना नीतिभन्दा पनि अर्थतन्त्रमै राम्रो टेवा दिने गतिविधि हुनुपर्छ । त्यही कारण सेयर बजारलाई अर्थतन्त्रको ऐना भन्ने गरिन्छ ।

– सरकारले चालु वर्षको लागि बजेट, नीति तथा कार्यक्रम सबै ल्याइसकेको छ । यसबाट मात्र पुँजी बजार सुधार हुनसक्तैन भन्ने तपाईंको भनाइ हो ?

बजेटमा राम्रा कुरा राखिन्छन् । तर, कार्यान्वयनमा जादैनन् । त्यही हरेक वर्ष दोहोरिन्छ । बजेटमा योजना बनाउनेमात्र हो । तर, त्योभन्दा जरुरी छ कार्यान्वयन गर्न । अहिलेकै सरकारका नीतिमा पुँजी बजारमा धेरै राम्रा कुरा परे भन्ने नै छैन । केही कुराहरु परेका छन् । त्यसलाई टेकेर के गर्न सकिन्छ, त्यही गर्ने हो । एकैपटक कायापलट गर्नुपर्छ भन्ने पनि छैन । तर, सक्ने जति गर्नुपर्छ । यो वर्षको बजेट, नीति तथा कार्यक्रमले बजारलाई ठूलै टेवा दिएर अगाडि बढाउने देखिँदैन ।

– नेपालको पुँजी बजार सीमित ठूला लगानीकर्ताको मुठ्ठीमा छ । उनीहरुले चाहेको वेला किन्नुपरे बजार घटाउने, बेच्नुपरे बढाउने चलखेल गर्छन् भन्ने आरोप छ । यसलाई कसरी बुझ्नुभएको छ ?

सेयर बजारमा यस्ता कुरा धेरथोर भइहाल्छ । यो बजार भनेकै मनी मसल्सले प्रभाव पार्ने र चल्ने खेल हो । तर, आजभन्दा १० वर्ष अगाडिको सिनारियोमा यो कुरा मिल्थ्यो । त्यतिवेला १०/२० जनाले मात्र बजार हाँक्ने गर्थे । अहिले पनि मनी मसल्सको प्रभाव त छ । तर, यही नै मेकर ब्रेक फ्याक्टर चाहिं होइन । कुनै वेला ४२ खर्ब पुँजीकरण भएको बजार अहिले पनि २९/३० खर्बको छ । पुँजी बजारको साइजलाई दुई÷चार जना अर्बपतिले तलमाथि पार्ने भन्ने दीर्घकालमा हुन सक्तैन । हो, दुईचार दिन लो क्याप भएका कम्पनीलाई कर्नरिङ गर्नसक्ने अवस्था हुन्छ । यस्तो ठाउँमा मनी मसल्सले खेल्नसक्छ । समग्रमा नेप्सेलाई नै हाँकेर नेपालको पुँजी बजारलाई नै यो ट्रेन्डमा लैजान्छु भन्ने अवस्था छैन । यसकारण तपाईंको प्रश्नमा अर्ध-सत्यता छ । हुँदै नभएको होइन ।

कुनै पनि व्यक्ति, विश्लेषकले आएर कुनै कम्पनीको नाम नै तोकेर यो लिनुस् बुम हुन्छ, म ग्यारेन्टी लिन्छु भन्यो भने त्यसबाट एकदम टाढा बस्नुपर्छ । यदि त्यस्तो हुने भए सबैभन्दा पहिला उसले सारा संसार जित्ने गरी कमाउँथ्यो । अनिमात्र ज्ञान बाँड्न आउँथ्यो होला । उसको पोर्टफोलियो हेर्‍यो भने ऊ नै घाटामा हुन्छ ।

यतिसम्म पनि सुनिन्छ कि आजको बजारमा कुन समूहको कुन कम्पनीलाई कहाँ पुर्‍याइदिने भन्ने मिटिङका साथ बजार खुल्छ भन्ने सुनिन्छ । तर, हामीले के पनि बिर्सनु हुँदैन भने अहिले साना-ठूला गरेर ५२ लाख लगानीकर्ता मार्केटमा छन् । त्यस्ता ठूला खेलाडीले तलमाथि झार्नेबित्तिकै ल हामी आउँछौं भनेर ससाना तर धेरै लगानी लिएर बजार छिर्छन् । यसले बजारमा फेरि स्थायित्व आउँछ ।

– लगानीकर्तामा यस्तो मानसिकता देखिएको छ कि बजार बढ्दा चुप लाग्छन् । तर, घट्दा रोइलो गर्ने, आन्दोलन धर्ना सबै गर्ने, नाफाको भागीदार आफू एक्लै हुने तर घाटाको भागीदार हुन नचाहने यस्तो प्रवृत्तिले बजार बढ्छ र ?

बढ्दा खुशी, घट्दा दुःखी हुने भनेको मानवीय स्वभाव नै हो । रोइकराइ गरेर बजार बढाउन आन्दोलन गरेको होइन । तर, आन्दोलनमा राखिएका एजेण्डाहरु पुँजी बजारलाई सहयोग गर्ने खालको, अल्पकालीन र दीर्घकालीन हिसाबले अगाडि जान राम्रा एजेण्डाहरु छन् भने त्यो ठीकै हो । आन्दोलनमा आउनेसम्मको अवस्था बजार घटेकै कारण भयो होला । तर, बजारै बढाउन आन्दोलन गरेको चाहिं होइन । बजार बढाउन आन्दोलनमा एजेण्डा राखिएको हुन्छ । लगानीकर्ताले लगानीको जिम्मा आफैं लिनुपर्छ । कसैलाई नसोधी लगानी गरेको छ भने त्यसको जिम्मा पनि लगानीकर्ताले नै लिनुपर्‍यो । नाफा गरेको रकम कसैलाई बाँडेका हुँदैनौं भने घट्दा सरकार अथवा अरु कसैले बढाउन पनि सक्तैन र सम्भव पनि हुँदैन ।

– सेयर बजारमा प्रवेश गर्न चाहनेहरुका लागि अहिलेको अवस्था सही छ ?

दीर्घकालका लागि (५ वर्षसम्म) पोर्टफोलियो बनाएर बस्न सक्छु, ३० प्रतिशतसम्मको प्रतिफल ठीक छ भन्ने मानसिकता हो भने अहिले असाध्यै राम्रो अवस्था हो । तर, एक डेढ वर्ष अगाडिकै जस्तो केही रकम लिएर पसौं र त्यसमा दोब्बर-तेब्बर फाइदा गरौं भन्ने हो भने एकदमै गलत अवस्था हो । अल्पकालीन र दर्घिकालीन लगानीकर्ताको रणनीति फरक हुन्छ । दीर्घकालीन लगानीकर्ताले उचित प्रतिफलमा चित्त बुझाउन अहिलेको इन्ट्री प्वाइन्ट राम्रो हो ।

– दोस्रो बजारमा पनि प्रवेश गरिसक्नुभएको र नयाँ लगानी गर्न तयार भएका लगानीकर्ताले ध्यान दिनुपर्ने आधारभूत कुरा के के हुन् ?

खासगरी केको आधारमा बजार चल्छ, राम्ररी बुझेर पस्नुपर्छ । अध्ययन, तालिम लिएर बजारमा पस्नुस् । आजको भोलि नाफा खोज्दैनौं । तर, सेयर बजारले मलाई राम्रो कमाएर दिन्छ भन्ने मानसिकताका साथ बजार पस्नुस् । एउटा उद्योग चलाउन पनि ५/७ वर्षको कन्स्ट्रक्सन अवधि नै हुन्छ । कति वर्षसम्म संघर्ष गरेपछि बल्ल मुनाफा लिने हो । सेयर बजारलाई पनि एउटा उद्योगको मानसिकता लिएर पसौं न । सेयर बजारले दीर्घकालमा निराशै गर्ने, साँवा नै सकियो भन्ने चाहिं पार्दैन । तर, कम्तीमा पनि पाँच वर्ष टिक्ने धैर्य हुनुपर्छ । दलालको जस्तो यता पल्टाउँछु उता लान्छु । दुई चार जना आउँछन् अनि कमिसन पाइन्छ भन्ने आशा नराख्नुस् ।

– कस्तो कस्तो अवस्थामा लगानीकर्ताहरु ठगिन र जोगिन सक्छन् ?

कुनै पनि व्यक्ति, विश्लेषकले आएर कुनै कम्पनीको नाम नै तोकेर यो लिनुस् बुम हुन्छ, म ग्यारेन्टी लिन्छु भन्यो भने त्यसबाट एकदम टाढा बस्नुपर्छ । यदि त्यस्तो हुने भए सबैभन्दा पहिला उसले सारा संसार जित्ने गरी कमाउँथ्यो । अनिमात्र ज्ञान बाँड्न आउँथ्यो होला । उसको पोर्टफोलियो हेर्‍यो भने ऊ नै घाटामा हुन्छ । अहिले संगठित हिसाबले ट्रयापमा पार्ने प्रचलन छ । एउटाले सामाजिक सञ्जालमा हल्ला गर्छ, यो किनौं त्यो किनौं भन्छ । संगठित हिसाबले भनेपछि हो कि भन्ने लगानीकर्तामा भ्रम पर्न जान्छ । गोयबल्सको थ्योरी पनि लागु हुन्छ कालोलाई सेतो भनेर आम मानसिकतालाई भजाएर ट्रयापमा पार्ने प्रचलनबाट जोगिनुपर्छ । होला कहिलेकाहीं कमाउन पनि सकिन्छ । तर, दीर्घकालमा भने टोपी लगाएर फसेर बसिन्छ ।

सेयर बजार ३२०० को लाइनमा पुग्दा यस्तै अफवाहबाट लगानी गरेका मानिसहरु अहिलेसम्म उठ्न सकेका छैनन् । सकेसम्म आफ्नै ज्ञानले काम गर्नुपर्छ । सकिएन भने विश्वसनीय सलाहकारका अनुसार किन्नुपर्छ । नत्र थोरै कमाउँदा धेरै गुमाइसकेको हुन्छ ।

– अब सेयर बजारमा ३२०० को ऐतिहासिक विन्दुको गन्तव्य फेरि फर्किएला ?

यहाँ पुग्न फाउण्डेसन सर्पोट बलियो हुनुपर्छ । यो भनेको अर्थतन्त्र नै बलियो हुनुपर्छ । तर, सेयर बजार अर्थतन्त्र बलियो भएर माथि जान्छ भन्ने पनि छैन ।

आजभन्दा पाँच वर्षपछि राम्रो हुन्छ भनेपछि आजै दीर्घकालीन कारोबारी बजार पस्छन् । सेयर बजारको मूल्यांकन सधैं भविष्य केन्द्रित हुन्छ । यदि नीति राम्रो भयो भने, राम्रो कामको थालनी भयो भने आशमा लगानी गर्छन् । यसमा सबैभन्दा ठूलो राज्य र नियामक निकायले कसरी अगाडि बढाउँछन् भन्ने हो । राम्रो काम गरे एक वर्षमै यो विन्दु भेट्छ । तर, त्यसलाई माथि लैजान आधार तय हुनुप¥यो नि ! अहिले यही आधार नपाएको अवस्था हो ।

– सामान्यतया हामीले सेयर बजारको चार वर्षे साइकल हुन्छ भनेर सुन्दै आएको धेरै भयो, चार वर्षमा फर्किन्छ अथवा चार वर्षमा तल झर्छ भन्ने कुरा । सेयर बजारको यो साइकलमा कतिको सत्यता छ ?

पहिला-पहिला भए सत्य हो । पहिला फिजिकल कारोबार धेरै हुँदा यस्तो थियो । अब यो लागु हुँदैन । अब प्रविधि आइसकेको छ । सबै कुरा अटोमेटेड भइसकेको छ । आजभन्दा १० वर्षअघि बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा गर्ने लगानी र अहिलेका ५२ लाख लगानीकर्ताले गर्ने लगानीमा गुणात्मक परिवर्तन आइसकेको छ । अब ४ वर्ष बियरिस र चार वर्ष बुलिस भन्ने लागू हुँदैन ।

हामीले डेढ वर्षको बुल देख्यौं अहिले फेरि बियरिस हेर्दैछौं । अहिलेको बजार भनेको बियरिस नै हो । अब यो बियरिस पनि चार वर्ष रहन्छ भनेर सोच्यौं भने अर्को गल्ती हुन्छ । प्रविधिको प्रक्रियागत परिवर्तनका कारणले यी कुरा गलत हुन्छन् । डेढ वर्षको बुलमा रमाइसकेका हामीले ३/४ महिनायता बियरिस हेरिरहेका छौं ।

– पाँच अर्बभन्दा बढी कारोबार गर्नेलाई पुँजी बजारमा भित्र्याउने, लगानीकर्ताको सुरक्षाको लागि कोष खडा गर्ने जस्ता विषय समेटेर धितोपत्र बोर्डले नीति तथा कार्यक्रम ल्यायो । यसले बजारमा त केही सपोर्ट मिल्ला नि ?

बोर्डले सधैं ल्याउने नीति तथा कार्यक्रम हो । यसपटक अलि बढी प्रचार भयो । तर, केही तपाईंले भनेजस्तै राम्रा कुरा पनि समेटेको छ । नीति कार्यक्रममा पर्नुले सम्बन्धित निकायको भिजनमा चाहिं रहेछ है भन्ने देखाउँछ । यसको कार्यान्वयन पछि मात्र असर देखिने हो ।

पहिला पनि एनसेललाई टार्गेट गरेर यस्ता कुराहरु ल्याइएको भनिएको थियो । अहिलेसम्म एनसेल पब्लिक कम्पनीमा गइसकेको छैन । नीति तथा कार्यक्रममा धेरै अगाडि राखियो । तर, कार्यान्वयनमा जान ढिला भयो ।


प्रतिक्रिया

One thought on “‘सेयर बजारमा छिर्ने यो सही समय हो’ (भिडिओ)

  1. विष्लेषण राम्रो लाग्यो।

Leave a Reply to मदन हर्ष बज्राचार्य Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर