इपिसेन्टर गोरखा- प्रचण्ड, बाबुराम र नारायणकाजीको चासो, कांग्रेसबाट को ? – Nepal Press

इपिसेन्टर गोरखा- प्रचण्ड, बाबुराम र नारायणकाजीको चासो, कांग्रेसबाट को ?

काठमाडौं । आगामी मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएसँगै राजनीतिक सरगर्मी बढेको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले चुनावी तालमेलको खाका बनाउने तयारी थालिसक्दा केही जिल्ला भने चर्चाको केन्द्रमा छन् ।

कुनै वेला माओवादी सशस्त्र युद्धको प्रभाव केन्द्र र उद्गम थलो मानिने गोरखा मंसिरमा हुने महानिर्वाचनमा पनि ‘इपिसेन्टर’ नै बन्ने निश्चित छ । किनकि २ निर्वाचन क्षेत्र रहेको गोरखामा स्थानीय निर्वाचनमा सफल देखिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको समेत सरोकार जोडिएको छ । सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका पनि आधा दर्जन बढी प्रभावशाली नेताहरुको ध्यान गोरखामा केन्द्रित छ ।

प्रचण्डको चासो गोरखातिर !

नेकपा माओवादी केन्द्रले गत स्थानीय निर्वाचनमा सबैभन्दा सकारात्मक नतिजा हासिल गरेको जिल्ला हो- गोरखा । गोरखाका ११ मध्ये ९ स्थानीय तहमा माओवादीले जीत हासिल गरेको थियो । यही कारण गोरखामा माओवादी अध्यक्ष प्रचण्डको चासो बढेको देखिन्छ ।

हरेकजसो निर्वाचनमा क्षेत्र परिवर्तन गर्दै आएका प्रचण्डलाई केही निकटस्थहरुले चितवको सट्टा गोरखाबाटै चुनाव लड्न सुझाव दिएका छन् । चितवनका शहरी मतदाता स्वीङ हुनसक्ने र गठबन्धनको दह्रो साथ चाहिने भएकाले चितवनभन्दा प्रचण्डका लागि गोरखा कम्फरटेबल हुने जिल्ला नेताहरुको भनाइ छ ।

गोरखामा संगठनकै बलमा माओवादी एक्लैले चुनाव जित्ने अवस्था रहेको र कांग्रेसको समेत साथ हुँदा प्रतिस्पर्धाविहीन अवस्थामा प्रचण्ड चुनाव लड्न पाउनेछन् । माओवादीकै दोस्रो वरियताका नेता नारायणकाजी श्रेष्ठ पनि गोरखाबाटै प्रतिनिधिसभा सदस्य बन्न चाहन्छन् । अघिल्लो निर्वाचनमा डा.बाबुराम भट्टराईसँग पराजित श्रेष्ठ नेकपा अस्तित्वमा रहँदा राष्ट्रियसभा सदस्य निर्वाचित भए । अहिले राष्ट्रियसभाबाट राजीनामा दिएर पनि गोरखा २ बाट चुनाव लड्ने तयारी श्रेष्ठले गरेका छन् ।

२०६४ यता निरन्तर निर्वाचित हुँदै आएका पूर्वप्रधानमन्त्री भट्टराई गोरखा २ बाट स्वाभाविक दावेदार हुन् । पाँचदलीय गठबन्धन कायमै रहँदा भट्टराई गोरखा २ बाट उम्मेदवार बन्न सक्छन् । तर, त्यसका लागि उनले प्रचण्ड र नारायणकाजीसमेतलाई रिझाउनुपर्ने देखिन्छ । अब बाबुराम सत्ता गठबन्धनको छैटौं घटक हुँदैछन् ।

गोरखाबाट निर्वाचन लड्नेबारे प्रचण्डले मुख खोलिसकेका छैनन् । तर, विगतमा शिक्षक हुँदा गोरखामै काम गरेका उनलाई गोरखाबाट उम्मेदवार बनाउन माओवादी नेताहरुको प्रयास भने जारी छ । भूमिगत हुनुअघिसम्म प्रचण्डले गोरखाको आरुघाटमा पढाएका थिए ।

‘अध्यक्ष कमरेडले रोल्पा, काठमाडौं, सिरहा, चितवनलगायतका ठाउँबाट चुनाव लडिसक्नुभयो । एकपटक गोरखालाई पनि अवसर दिनुपर्‍यो भनेर हामी लागेका छौं’, गोरखा माओवादीका एक नेताले भने ।

गोरखाबाटै माओवादीले जनयुद्धमा जाने निर्णय गरेको थियो ।

बाबुरामलाई परेको बाधा

अघिल्लो निर्वाचनमा वाम गठबन्धनबाट अन्तिम घडीमा अलग्गिएका बाबुरामलाई गोरखा २ मा कांग्रेसले समर्थन गरेको थियो । त्यतिबेला नयाँ शक्ति पार्टीको उम्मेदवार बनेर कांग्रेसको आडमा जिते पनि त्यसयता बाबुराम कांग्रेसप्रति सहिष्णु नदेखिएको गुनासो जिल्लाका कांग्रेसीहरुको छ । स्थानीय चुनावमा पनि बाबुरामले अन्तिम घडीमा पालुङटारमा एमालेसँग तालमेल गरेको आरोप छ ।

चुनाव जितेको केहीलगत्तै उनले कांग्रेसलाई ‘संग्रहालयमा राख्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । गत स्थानीय निर्वाचनमा बाबुरामले आफ्नो जिल्लामा गठबन्धन दलसँग नभई नेकपा एमालेसँग तालमेल गरेका थिए । यी विविध कारणले गठबन्धनभित्रै बाबुरामको दाबीलाई नजरअन्दाज गर्ने सम्भावना देखिन्छ ।

यस क्षेत्रमा प्रचण्डले नै इच्छा गरेको अवस्थामा बाबुरामको बाधा अझै बढ्नसक्छ । यसै पनि जसपामा रहँदा जति राजनीतिक तागत अब बाबुरामसँग नरहेको बुझाई गठबन्धनमा रहेको छ । कांग्रेसभित्र पनि बाबुरामलाई अवरोध गर्न चाहनेहरु सक्रिय नै छन् । यस्तो अवस्थामा गोरखासँग निरन्तर जोडिएका बाबुरामको बाधा कसरी फुक्ला ? अझै केही समय प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

गोरखा १ मा कांग्रेसीको कसरत

विगतको परिणाम र पछिल्लो राजनीतिक दृश्य हेर्दा कांग्रेसका नेताहरुको मुख्य दावी गोरखा क्षेत्र नम्बर २ मा देखिन्छ । गठबन्धनमा तालमेल हुँदा क्षेत्र नम्बर १ माओवादी वा समाजवादीको भागमा पर्ने निश्चित ठानेका कांग्रेस नेताहरु क्षेत्र नम्बर १ मै प्रतिस्पर्धीका रुपमा रहेका छन् ।

अघिल्लो पटक गोरखा १ मा उम्मेदवार रहेका चीनकाजी श्रेष्ठको उम्मेदवारीको टुंगो क्षेत्र नम्बर २ सँग जोडिएको छ । क्षेत्र नम्बर २ मा गठबन्धनबाट नारायणकाजी श्रेष्ठ उम्मेदवार बनेमा जातीय कारणले चीनकाजीलाई पनि बाधा पर्नसक्छ ।

गोरखा क्षेत्र नम्बर १ मा दावेदारका रुपमा युवा नेता राजेन्द्र बजगाईं र योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्ले पनि रहेका छन् । अघिल्लोपटक प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा गरेका बजगाईंलाई उम्मेदवार बनाउन कांग्रेसको संस्थापनइतर पक्षले दबाब बढाउनेछ ।

गोरखा कांग्रेसमा संस्थापनइतर पक्ष बलियो भएकै कारण बजगाईंको सम्भावना बढी छ । भूगोलको राजनीतिमा सक्रियता कम भए पनि भावी अर्थमन्त्रीका रुपमा हेरिएका अर्थविद् वाग्ले पनि कांग्रेसको रोजाइमा पर्नसक्छन् । यद्यपि वाग्ले चितवन १ बाट उम्मेदवार बन्ने सम्भावना छ ।

कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रियसभा संसदीय दलका पूर्वनेता सुरेन्द्रराज पाण्डे पनि यसपटक प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा छन् । यद्यपि तालमेल हुँदा क्षेत्र नम्बर २ कांग्रेसले नपाउने सम्भावना रहेकाले पाण्डेलाई समस्या पर्नसक्छ । माओवादीले नारायणकाजीलाई नै उम्मेदवार बनाएको अवस्थामा रिक्त हुने राष्ट्रियसभा सदस्यको पद कांग्रेसले पाउने गरी सहमति हुने सम्भावना पनि उत्तिकै छ ।

अघिल्लो निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित प्रकाशचन्द्र दुवाडीले पनि यसपटक प्रतिनिधिसभा सदस्य बन्न सोही क्षेत्रबाट तयारी गरेका छन् ।


प्रतिक्रिया

2 thoughts on “इपिसेन्टर गोरखा- प्रचण्ड, बाबुराम र नारायणकाजीको चासो, कांग्रेसबाट को ?

  1. गोरखा २मा प्रकाश चन्द्र उठ्दा ठीक छ ,अरु खासै केही गर्लान् जस्तो लाग्दैन उठ्ने जिते पनि सुत्ने हारे पनि सुत्ने हुन

  2. गाेर्खा -2 बाट कुनै पनि राजनितिक दल भन्दापनि ब्याक्तिगत रुपमा डा भट्टराईलाई भाेट हाल्नु हुन सम्पुण गाेर्खालि दाजुभाइहरुलाई आवान गर्दछु ।

Leave a Reply to चिरञ्जीवी पोखरेल Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर