हर्क साम्पाङले ‘फेक पोस्ट’ चिनेनन् ! यस्तो छ मञ्जुसँग ‘फेसबुक वार’ को अन्तरकथा – Nepal Press

हर्क साम्पाङले ‘फेक पोस्ट’ चिनेनन् ! यस्तो छ मञ्जुसँग ‘फेसबुक वार’ को अन्तरकथा

बराह सहकारीको लफडाले निम्त्याएको पराकम्पन

इटहरी । गत आइतबार धरानका मेयरको कार्यकक्ष तोडफोड भयो । तोडफोडको आरोपमा बुधबार केही व्यक्तिहरु पक्राउ परे । सतहमा हेर्दा यो घटना क्षणिक आक्रोशको परिणाम देखिन्छ । तर, यसको जरो खोतल्न एक वर्ष अगाडि फर्किनुपर्छ ।

२०७८ पुस २३ गते धरानको बराह सहकारीले १२ औं साधारणसभा गर्‍यो । साधारणसभाले सहकारी नाफामा रहेको देखायो । आफूले बचत गरेको पैसा माग्दा नदिएको र गैरसहकारी क्षेत्रमा लगानी गरेको भन्दै बचतकर्ताले आन्दोलन चर्काए । उक्त आन्दोलनाई तत्कालीन सामाजिक अभियानकर्मी हर्क साम्पाङले नैतिक समर्थन गरे ।

आन्दोलनपछि बराह सहकारी व्यवस्थापनले बचतकर्ताको पैसा फिर्ता गर्ने भाका दियो । तर, भाकाबमोजिम पैसा फिर्ता गरेन । त्यसपछि पटक–पटक भाका सारेर पनि सहकारीले पैसा दिएन ।

यसैबीच स्थानीय चुनाव भयो । धराने जनताले स्वतन्त्र उम्मेदवार साम्पाङलाई मत दिएर जिताए । यो मत दिनेको एउटा हिस्सा बराह सहकारी पीडितहरु पनि थिए । २०७९ जेठसम्मको विवरणमा बराहका बचतकर्ताहरु १३ हजार ५५४ र शेयर धनीहरु ४ हजार ९९१ देखिन्छ ।

गत वैशाखको स्थानीय चुनावपछि धराने राजनीतिको कोर्र्स बदलियो । इतिहासमा पहिलोपटक स्वतन्त्रले मेयर जित्दा देशव्यापी नै तरंग आएको थियो । दलविहीन पञ्चायतमा समेत विभिन्न भूमिगत दलका उम्मेदवारले मात्रै जित्ने धरानमा पहिलोपटक स्वतन्त्र मेयर निर्वाचित भएका थिए ।

धराने राजनीतिक कोर्स बदलिए पनि बराह पीडितहरुको दुःख भने उस्तै रह्यो । उनीहरुले फेरि आन्दोलन गरे । पहिलो आन्दोलनमा नौतिक समर्थन गरेका हर्क साम्पाङ नेतृत्वकै स्थानीय सरकारविरुद्ध उनीहरु उत्रिए । स्थानीय सरकारसँग सहकारीको नियमन गर्ने अधिकार भएको भए पनि मेयर साम्पाङले चासो नदिएको उनीहरुको आरोप छ । आठ अर्ब रकम हिनामिना भएको भन्दै आक्रोशित बचतकर्ताहरुले मेयर साम्पाङलाई नै मुख्य तारो बनाए ।

गत आइतबार भएको तोडफोडमा मेयर साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघा दुवैविरुद्ध आक्रोश देखिएको थियो । स्वभावैले ‘स्ट्रेट फरवार्ड’ बोल्ने साम्पाङले ‘मलाई सोधेर पैसा राख्न दिएको हो ?’ भनेपछि आन्दोलनकारी बिच्किएका थिए । त्यही झोकमा उनीहरुले मेयरको कार्यकक्ष तोडफोड गरे । झ्यालको सीसा फुटाए । उपमहानगरपालिका परिसर तनावग्रस्त बन्यो ।

साम्पाङ पनि के कम । तोडफोडपछि बराह संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीको तस्वीर सामाजिक सञ्जालमा राखेर उनले लेखे, ‘बराह पीडितलाई उचालेर तोडफोडको अगुवाइ गर्ने कथित संघर्ष समिति संयोजक खगेन्द्र नेपालीज्यूलाई धराने जनताको करोडौं सलाम ।’

यो पोस्ट सामान्य थियो । तर, उक्त पोस्टमा उनले स्थानीय चुनावका बेला एमालेकी मेयर उम्मेदवार मञ्जु भण्डारीलाई आफूले भोट हाल्ने सन्देशसहित नेपालीले बनाएको पोस्टर प्रयोग गरेका थिए । यो पोष्टर राखेर साङपाङले सहकारीको आन्दोलन एमालेले चर्काएको संकेत गरेको बुझ्न सकिन्छ ।

भूपू सैनिक परिवारदेखि विभिन्न पेशा र राजनीतिक दलमा आबद्ध सबै समुदायका व्यक्तिहरु बराह सहकारीबाट पीडित छन् । आफूले दुःख गरेर कमाएको पैसा जोखिममा परेको पीडा उनीहरुसँग छ । धरानका २० वटै वडामा संघर्ष समिति बनेको छ । त्यसका संयोजक नेपाली हुन् ।

नेपालीलाई एमाले र मञ्जु भण्डारीले प्रयोग गरेकोजस्तो संकेत साम्पाङले गरेपछि सामाजिक सञ्जालमा उनको समर्थकहरु उग्र भए । उनीहरुले भण्डारीको चरित्रहत्याका कमेन्टहरु गरे ।

त्यसको प्रतिवाद गर्दै भण्डारीले सामाजिक सञ्जालमा लेखिन्, ‘धरानका मेयर हर्क साम्पाङ ज्यू, बराह पीडितहरुसँगका तपाईंका प्रसंग जोडेर मेरो फोटो दुरुपयोग गर्ने र एमालेलाई लाञ्छित गर्ने काम किन गर्नुहुन्छ ? तपाईंलाई साइबर अपराधको बारेमा जानकारी नै नभएको त कसरी भनौं ? नगर सरकारका प्रमुखले लोकप्रियताको नाममा होस गुमाउँदा नगरवासीको शीर निहुरिनेमा सजग बन्नुभयो भने मात्रै धरानवासीको मर्यादा उँचो हुन्छ ।’

भण्डारीले साम्पाङलाई साइबर अपराधको बारेमा जानकारी होला भनेको तीन दिनभित्रै एक साइबर अपराध फेसबुकमा देखियो । नीलो अक्षरमा नाम लेखिएको मञ्जु भण्डारीको नक्कली फेसबुक आईडीबाट एउटा पोस्ट सार्वजनिक भयो । धरानको आदिवासी भावना खल्बल्याउने नियतका साथ बनाइएको उक्त फेक पोस्टको एक अन्तिम लाइनमा उत्तेजित वाक्य लेख्दै भनिएको छ, ‘यस्तै हो भने आगामी दिनमा हाम्रो पार्टी एमालेले धरानको कुनै समितिमा राई लिम्बूहरुलाई स्थान नदिने कुरा अग्रीम रुपमा बताउँदैछु ।’

नाममा नीलो रंग हुनु र लाइक सेक्सनमा ‘यु एण्ड फ्रेण्डस् नेम’ आएपछि फेक भएको प्रस्ट देखियो । तर, मेयर साम्पाङले आफ्नो पेजमा यो फेक पोस्ट शेयर गरे । शेयर गर्दै उनले लेखेका छन्, ‘धन्यवाद मञ्जु मेडम । तर तपाईंको यो अभिव्यक्तिले राई, लिम्बू, क्षेत्री, बाहुन भनेर धरानलाई भाँड्न खोजे पनि हाम्रो सामाजिक एकता तपाईंले सोचेजस्तो कमजोर छैन ।’

बिहीबार बिहानबाट भाइरल भएको पोस्टविरुद्ध भण्डारीले साइबर व्युरोमा निवेदन दिइसक्दा र विज्ञप्ति निकालिसक्दा पनि साम्पाङले फेक पोस्ट हटाएका छैनन् । बरु आफूविरुद्ध आएको अर्को फेक पोस्ट शेयर गरेर दुःख व्यक्त गरेका छन् ।

जातीय तनाव सिर्जना हुने आफूलाई लान्छना लाएको फेक फेसबुक पोस्टको स्किन सट राख्दै उनले लेखेका छन्, ‘यो फेक आईडीको खेलले हैरान बनायो । साह्रै द्वन्द्व बढायो । प्लिज यसो नगरौं । असमझदारी ज्यादा भयो ।’

आफूविरुद्धको फेक पोस्टमा हैरानी महसुस गरेका मेयरले भण्डारीविरुद्धको फेक पोस्टलाई भने रियल जस्तै गरेर प्रतिक्रिया देखाएका छन् ।

यसरी मेयरको कार्यकक्ष तोडफोडदेखि फेक फेसबुक आईडी आतंकले धरानमा तनाव बढिरहँदा यो सबैको जरा बराह सहकारीले भने विज्ञप्ति जारी गरेर बैंकिङ तरलता तथा मन्दीका कारण पैसा दिन नसकेको जनाएको छ ।

बराह सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्मा र बराह ग्रुप अफ कम्पनी प्रालिका अध्यक्ष शिवकुमार लामिछानेले संयुक्त विज्ञप्ति जारी गरेर यस्तो अपिल गरेका हुन् ।

बराह सहकारीले देखाएको २०७९ जेठ २१ सम्मको तथ्यांकले ५७ करोडभन्दा बढी निक्षेप रकम तथा ६७ करोडभन्दा बढी रकम ऋण लगानी रहेको देखाएको छ । यो तथ्यांक आठ अर्ब रकम डुबेको दाबी गरेका पीडितहरु मान्न तयार छैनन् । उनीहरुले बराहले बचतको पैसा सहकारीको तथ्यांकमा नदेखाएर यस्तो ‘चीट’ गरेको आरोप आएका छन् ।

उसो त बराहको १२ औं साधारणसभामै यो समस्यामा लिखत भएको छ । सहकारीको १२ औं साधारणसभाको पुस्तिकाको पेज २७ मा सहकारीको लेखासम्बन्धी रिपोर्टको चार नम्बर बुँदामा लेखिएको छ, ‘पाउनुपर्ने हिसाब अत्यधिक रहेको देखिएकाले सो रकम अविलम्ब फर्छ्योट गर्नुपर्ने देखिन्छ ।’


प्रतिक्रिया

3 thoughts on “हर्क साम्पाङले ‘फेक पोस्ट’ चिनेनन् ! यस्तो छ मञ्जुसँग ‘फेसबुक वार’ को अन्तरकथा

    1. Fake post गर्न fake id चाहिदैन। Mobile play store मा fake fb post fake chat जस्ता सयौको संख्यामा application हरु पाइन्छ। त्यसबाट सजिलै fake post र fake chat दुरुस्तै बनाउन सकिन्छ।

  1. मन्जु भण्डारिले धेरै चोख्खिन पर्दैन, जुन घाम झैँ छर्लङ्गै छ

Leave a Reply to बिवेक Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर