पाँच महिनापछि सेती प्रादेशिक अस्पतालमा पहिलो संक्रमितको मृत्यु – Nepal Press

पाँच महिनापछि सेती प्रादेशिक अस्पतालमा पहिलो संक्रमितको मृत्यु

कैलाली । कैलालीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुष रहेको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

बिहीबार मात्र अस्पताल भर्ना भएका ती पुरुषमा अल्कोहोलिक हेपाटाइटिसको समस्या थियो तर परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पनि देखिएको श्रेष्ठले बताए । सूचना अधिकारी श्रेष्ठका अनुसार उनले कोरोना भाइरसविरुद्धको खोप पनि लगाएका थिएनन् ।

सेती प्रादेशिक अस्पतालमा बिहीबार लामो समय पछि कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । पछिल्लो पटक यहाँ फागुन १३ गते एक जनाको मृत्यु भएको थियो । त्यस यता आज पहिलो पटक मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

पछिल्लो केही दिन यता सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ । हिजो मात्रै प्रदेशमा ६१ जना संक्रमित फेला परेका थिए । अहिले सेती अस्पतालमा मात्रै १३ जना संक्रमितको उपचार भइरहेको छ । ती मध्ये एक जना आइसियुमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर