सचिवहरु हेरफेर, को कहाँ सरुवा भए ? – Nepal Press

सचिवहरु हेरफेर, को कहाँ सरुवा भए ?

आधा दर्जन मन्त्रालयका सचिवको सरुवा, अन्तिम टुंगो भोलिसम्म लाग्ने

काठमाडौँ । सरकारले अर्थलगायत आधा दर्जनभन्दा बढी मन्त्रालयका सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद वैठकले सचिव हेरफेरको निर्णय गरेको हो ।

चर्चामा रहेका अर्थसचिव मधुकुमार मरासिनीसहित उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सरुवा भएको स्रोतले बतायो । स्रोतका अनुसार अर्थ मन्त्रालयका सचिव मरासीनीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

अर्थ मन्त्रालयमा राजस्व सचिवको जिम्मेवारीमा रहेका कृष्णहरी पुस्करलाई अर्थ सचिवको जिम्मेवारी दिइएको छ । राजस्व सचिवमा भने कसैलाई तोकिएको छैन ।

एक मन्त्रीले भने, ‘राजस्व सचिवको जिम्मेवारी कसलाई दिने भन्ने बारेमा टुंगिसकेको छैन । प्रधानमन्त्रीसँग सल्लाह गरेर मुख्यसचिवले टुंग्याउनुहुन्छ ।’

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.दामोदर रेग्मीको उपराष्ट्रपतिको कार्यालयमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेका सचिव यादवप्रसाद कोइरालाको राष्ट्रपति कार्यालय, राष्ट्रपति कार्यालयका सचिव डा. तोयनारायण ज्ञवालीको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ ।

यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई कुन मन्त्रालयमा पठाउने भन्नेबारे टुंगो लागिसकेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयका सचिव सूर्यप्रसाद गौतमलाई पर्यटन मन्त्रालयमा सरुवा गर्नका लागि पहल भइरहेको बुझिएको छ ।

बागमती प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौला सिंहदरबारमा सरुवा मिलाउनका लागि काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति कार्यालयका सचिव डा. ज्ञवाली पनि उद्योग सचिवमा जानका लागि पहल गरिरहेको बुझिएको छ । तर, कसको सरुवा कहाँ भयो भन्ने बारेमा अन्तिम टुंगो भने भोलिसम्म मात्रै लाग्नेछ ।

मन्त्रिपरिषद् बैठकले नै प्रशासनतर्फ बढुवा गरेका सचिव दीपक काफ्लेको लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ । त्यहाँ रहेका सचिव डिल्लीराम शर्मालाई सिंहदरबार तानिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर