बुवाको रोल गर्न महँगो रकम अफर गरिएकाेबारे हमालको प्रतिप्रश्न- यो बाबु हुने उमेर हो मेरो ? – Nepal Press

बुवाको रोल गर्न महँगो रकम अफर गरिएकाेबारे हमालको प्रतिप्रश्न- यो बाबु हुने उमेर हो मेरो ?

काठमाडौं । अभिनेता राजेश हमाल बुधबार टीभी रियालिटी शो ‘मेरो डान्स कप यूएसए’ सिजन ४ को अतिथि बनेर पुगेका थिए । कार्यक्रममा सञ्चारकर्मीसँग उनले हँसीमजाक सँगसँगै चलचित्र ‘प्रेमगीत ३’ लाई शुभकामना र हालै चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भुवन केसीलाई आफ्नो जिम्मेवारी कुशलतापूर्वक बहन गर्न सुझाव दिए । उक्त भलाकुसारीमा हमाललाई बावुको रोल गर्न आएको प्रस्तावबारे प्रश्न गरिएको थियो ।

एकदमै महँगो रकम दिँदा पनि चलचित्रमा हिरोको पिता वा बाबु बन्न आएको अफरलाई तपाईंले सीधै अस्वीकार गर्नुभयो रे नि भन्ने प्रश्नमा राजेशले हाँस्दै उत्तर दिए, ‘बाबु त हुन्छु तर म बाआमाको बाबु हुन्छु। छोराछोरीको बाबु चाहिँ हुँदिनँ । यो बाबु हुने उमेर हो मेरो ? तलदेखि माथिसम्म हेर्नुहोस् न ! अलिकति अँध्यारो भयो, लाइट कम भयो भन्दैमा तपाईंले यस्तो भन्ने ?’

केही समय अगाडि हमालले महँगो रकम अफर गर्दा पनि बुवाको लागि आएको रोल अस्वीकार गरेको खबर बाहिरिएको थियो ।

ठट्टामा उडाउँदै उत्तर दिएपछि उनले फेरि सच्याउँदै थपे, ‘कलाकारको लागि भूमिका यो त्यो भन्ने हुँदैन । भूमिका राम्रो छ, सशक्त छ, मुख्य क्यारेक्टरवाला छ र एउटा गहनता बोकेको छ भने कलाकारले जुन भूमिका पनि गर्छ । सशक्त चाहिँ हुनुपर्‍याे ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर