‘पहिल्यै आवश्यकता र समस्या पहिचान गरिसकेकाले अब सहकार्यमा नमुना पालिका बनाउँछौं’ – Nepal Press
हाम्रा प्रतिनिधि

‘पहिल्यै आवश्यकता र समस्या पहिचान गरिसकेकाले अब सहकार्यमा नमुना पालिका बनाउँछौं’

रुपन्देही । स्थानीय तहको निर्वाचनमा पाल्पाको बगनासकाली गाउँपालिकाकी नवनिर्वाचित अध्यक्ष हुन् सरस्वती दर्लामी (चिदी) । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित ४० वर्षीय चिदी लुम्बिनी प्रदेशकै एक्लो महिला गाउँपालिका अध्यक्ष हुन् ।

यसअघि गाउँपालिकाको उपाध्यक्षको अनुभव संगालेकी उनी हक्की, निडर र शालिन व्यक्तित्वको रूपमा स्थापित छन् । २०३८ मंसिर २० गते अर्घाखाँचीको पाणिनी गाउँपालिकामा जन्मिएकी सरस्वती २०५६/०५७ मा क्याम्पस पढ्दा अनेरास्ववियूको सदस्य बनेकी थिइन् । पाणिनी बहुमुखी क्याम्पसमा उच्च शिक्षा लिएकी उनको विवाह २०५९ सालमा भयो । त्यसपछि राजनीतिक क्षेत्रमा निष्क्रिय भएर सामाजिक क्षेत्रमा काम गर्न थालिन् उनी । विभिन्न संघसंस्था र सहकारी, वडा नागरिक मञ्च, महिला स्वास्थ्य स्वयंसेविका भएर काम गरिन् उनले । २०७४ सालको पहिलो स्थानीय तह निर्वाचनमा पार्टीको गाउँ कमिटी सदस्य बनेर पालिका उपाध्यक्ष बनेकी थिइन् उनी ।

उनी अनेमसंघ पाल्पाकी उपाध्यक्ष पनि भइन् । अहिले अनेमसंघको प्रदेश सदस्य र एमाले जिल्ला कमिटी सदस्य छिन् । १ छोरा र १ छोरीकी आमा सरस्वतीका पति सेवा निवृत्त भारतीय सेना हुन् । समयसँगै आफूलाई सदाबहार बनाउनसक्ने खुबी रहेकाले नै उनले अध्यक्षमा बाजी मारेको उनका समर्थकहरु बताउँछन् । उनको जीत पाल्पाका लागि मात्र होइन, लुम्बिनी प्रदेशकै लागि फरक तस्वीर भएको बताउने उनका समर्थक र स्थानीयलाई कस्तो काम देखाउने योजना बनाएकी छन्, पालिकाका थप योजना के छन् भन्ने विषयमा हाम्रा प्रतिनिधिका लागि अध्यक्ष सरस्वती दर्लामीसँग नेपालप्रेसकर्मी रामप्रसाद आचार्यले गरेको कुराकानी ।

– कसरी आउनुभयो नेतृत्वमा ?

मभन्दा अग्रज र धेरै लामो समय काम गरेका नेताहरू बगनासकालीमा हुनुहुन्थ्यो । एक कार्यकाल उपाध्यक्ष भएर चलाइसकेपछि अरूले पनि अवसर पाउनुपर्छ । अरूलाई पालो दिने र आफू बाहिर बसेर सघाउँछु भनेर पटक-पटक पार्टीमा कुरा राखिरहेको थिएँ । सबै कार्यकर्ता र नेताहरूले तपाईं नै अध्यक्ष हुनुपर्छ भनेपछि त्यसलाई स्वीकार गरेर अगाडि बढेको हुँ । सबैको साथ सहयोग र समर्थन पाएको छु । यसअघि अध्यक्ष कांग्रेसले जितेको पालिकामा त्यसलाई काउन्टर दिन सक्षम देखेर नै पार्टीले विश्वास गरेको लागेको छ । सोहीअनुसार काम गरेर देखाउनेछु ।

– कसरी काम गर्ने योजना बनाउनुभएको छ ?

पाएको जिम्मेवारी पूरा गर्ने मेरो अठोट हो । अवसर पाएपछि जो-कोहीले पनि समाज र देशका लागि नेतृत्व गर्नसक्छ । त्यो अवसर मलाई पनि आएको छ । जनताको अथाह मायाले निर्वाचित भएको छु । पालिकाका शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, महिला अधिकारका मुद्दा मेरो प्राथमिकतामा छन् । यसैलाई सबैका साझा मुद्दा बनाएर अगाडि लैजान्छु ।

– प्रतिस्पर्धी पार्टीलाई कसरी समन्वय गर्नुभएको छ ?

मेरो प्रतिस्पर्धी पनि महिला नै हुनुहुन्थ्यो संयोगले । नेपाली कांग्रेसकी सुनिता अधिकारी ८३३ मतान्तरले पछाडि रहनुभएको हो । यहाँका सबै योजनामा उहाँलाई साथमा लिएर अगाडि बढ्नेछु । २०७४ सालमा गाउँपालिका अध्यक्ष कांग्रेसले जितेको थियो, यहाँको विकास निर्माण सबै दल मिलेर नै गर्ने हो । म सबैलाई समन्वय गरेर जानेछु । बगनासकालीमा दलहरूको प्रतिस्पर्धा सद्भावपूर्ण र स्वस्थ भयो, र्‍याली र प्रचारप्रसारमा पनि कसरी जाने, कुन वडामा को जाने भनेर सल्लाह गरेर नजुध्ने गरी प्रचार गरेका थियौं । राजनीतिक सहमति र सहकार्य गरेर चुनावी प्रचारप्रसार गरियो अब काम पनि यहीअनुसार गर्नेछु ।

– चुनावमा कति खर्च भयो ?

अरुले भनेजस्तो चुनावमा मैले धेरै पैसा खर्च गरिनँ । अत्यावश्यक झण्डा, व्यानर, पर्चा-पम्पलेट र सामान्य हिँड्दा कार्यकर्तालाई खाना-नास्ताबाहेक अरु खर्च गरेको छैन । चुनावमा नेताहरूले पैसा बाँड्छन् भन्ने सुनिए पनि आफ्नो गाउँमा मैले त्यस्ता देखिनँ ।

– पालिकाको विकासका योजना कस्तो बनाउनुभएको छ ?

हाम्रो गाउँपालिका विभिन्न सम्भावना भएको पालिका हो । हामीले गाउँपालिकाको आवश्यकता र समस्या पहिचान गरिसकेको हुनाले ५ वर्षमा सबैसँग सहकार्य गरेर नमुना पालिका बनाउनेछौं ।

लक्षित वर्गको आर्थिक विकास, सामाजिक विकास र सशक्तीकरणमा मुख्य जोड दिएका छौं । गाउँपालिकामा खानेपानीको चरम अभाव छ । यही कार्यकालभित्र कालीगण्डकी नदीबाट ‘लिफ्टिङ’ कार्यक्रमअन्तर्गत एक घर एक धारा शुद्ध खानेपानी वितरण गर्ने योजना छ । गाउँपालिकामा खानेपानीको मूलको अभाव छ । पानीलाई शुद्धीकरण गरेर शुद्ध पिउने खानेपानी जनतालाई पुर्‍याउँछौं । कृषि, पशुमार्फत र युवा स्वरोजगारका कार्यक्रमहरू सञ्चालन गर्ने, एकल महिला र एकल महिलाभित्र पनि युवा एकल महिला र विपन्न एकल महिलाहरूलाई आर्थिक आर्यआजनका लागि सीपमूलक तालिमहरू सञ्चालन गरेर व्यवसायिक बनाउँछौं ।

त्यसैगरी गाउँपालिका बालमैत्री, पूर्ण र संस्थागत सुत्केरी गाउँपालिका घोषणा भइसकेको छ । यसलाई पूर्ण कार्यान्वयनको निरन्तरता दिने गरी योजना बनाएका छौं । यसका साथै महिला, दलित, आदिवासीलगायत विभिन्न क्षेत्रका लागि विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनका लागि योजना बनाएर लागेका छौं ।

– पूर्वाधार विकासका योजना के बनाउनुभएको छ ?

गाउँपालिकाका ९ वटै वडासम्म जोड्ने सडकहरू धूलो र हिलाम्मे छन् । सबै सडकहरू स्तरोन्नति गर्ने, मूल बाटाहरू कालोपत्रे गर्न प्रदेश र संघसँग पालिकाले समन्वय र पहल थाल्ने योजना बनाएको छ । त्यसका लागि जिल्लाबाट केन्द्र र संघमा प्रतिनिधित्व गर्ने नेता र सांसदहरूसँग पनि छलफल र समन्वयको काम अगाडि बढेको छ ।

गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य भर्खरै सुरू भएको छ । भवनलाई सम्पन्न गरेर पायक पर्ने ठाउँबाट सेवा प्रवाह गर्ने, सबै सेवाहरू विकेन्द्रित गर्दै गाउँ, वडा र बस्तीसम्मै पुर्‍याइनेछ । वार्षिक नीति तथा कार्यक्रम र बजेटले तय गरेका योजना समयमै पूरा गर्ने, प्रदेश तथा संघबाट प्राप्त आयोजना समयमै पूरा गर्ने गरी योजना बनाएका छौं ।

– प्रदेश तथा संघीय सरकारसँग कसरी समन्वय गर्नुभएको छ ?

पालिकामा समन्वय नभई पहुँचको भरमा माथिबाट बजेट ल्याउने चलन बसेको रहेछ । केही योजनामा त तीनवटै सरकारका शीर्षक परेका छन् । यसले राम्रो गर्दैन भनेर मैले भनिरहेको छु । जसले योजना पारे पनि त्यसको स्थानीय आवश्यकतालाई देखेर बजेट पारिरहनुभएको छ । त्यसको लागि स्थानीय सरकारसँग समन्वय गर्न मैले आग्रह गरिरहेको छु । स्थानीय सरकार यहाँका नागरिकसँग प्रत्यक्ष जोडिएको र योजना कार्यान्वयन तहमा भएकाले यो आवश्यक छ भनेर भनिरहेको छु । प्रदेश र संघीय सरकारसँग हामीले बनाएका योजना र यहाँको आवश्यकताका आधारमा माग गर्नुपर्ने योजनालाई समन्वय गरिरहेका छौं ।


प्रतिक्रिया

One thought on “‘पहिल्यै आवश्यकता र समस्या पहिचान गरिसकेकाले अब सहकार्यमा नमुना पालिका बनाउँछौं’

  1. राम्रो काम गरेर पुन: नेतृत्वमा भेट्ने अवसर मिल्याे ।

Leave a Reply to दलु Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर