मिस्टर एण्ड मिस थारु २०२२ को अडिसनको तयारी पुरा, १० जिल्लामा अडिसन हुँदै – Nepal Press

मिस्टर एण्ड मिस थारु २०२२ को अडिसनको तयारी पुरा, १० जिल्लामा अडिसन हुँदै

काठमाडौं । चौथो संस्करणको मिस्टर एण्ड मिस थारु २०२२ को अडिसनको तयारी पुरा भएको छ । आयोजक जहइन्टरटेनमेन्ट प्रा.लि.ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि अडिसनको तयारी पुरा भइसकेको जानकारी दिएको हो ।

जहइन्टरटेनमेन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुरेश कुमार चौधरीले यही साउन २१ गतेदेखि सुरु हुने अडिसनको तयारी पुरा भइसकेको जानकारी दिए । ‘लगभग अडिसनको तयारी पुरा भइसकेको छ, अडिसनको अघिल्लो दिनसम्म प्रतियोगिले आवेदन दिन सक्ने छन्,’–सिईओ चौधरीले भने ।

प्रतियोगितामा सहभागि हुन चाहने युवायुवतीहरुले आधिकारिक वेबसाइट रजिष्ट्रेशन डट जहइन्टरटेनमेन्ट डटकममा गई आवेदन दिन सकिने छ भने खल्ती एप मार्फत पनि आवेदन दिन सकिने छ । खल्ती एपबाट आवेदन दिँदा १० प्रतिशत क्यासव्याक समेत सुविधा पाउने छन् । आवेदन शुल्क ६०० तोकिएको छ ।

थारु समुदायको बाक्लो बसोबास रहेको देशका मुख्य–मुख्य शहरहरुमा अडिसन सुरु हुँदैछ । आयोजकका अनुसार साउन २१ गते (शनिबार) सुनसरीको झुम्का, पर्साको वीरगंज, चितवनको भरतपुर र बाँकेको नेपालगञ्ज, साउन २४ गते (मंगलबार) मोरङको विराटनगर, सिरहाको लहान र कैलालीको टिकापुर, साउन २८ गते (शनिबार) काठमाडौं, दाङ र बुटवलमा अडिसन हुँदैछ ।

अडिसनका लागि निर्णायकहरु तय गरिसकिएको इभेन्ट निर्देशक रुपेश चौधरीले जानकारी दिए । प्रारम्भिक चरणमै उत्कृष्ट प्रतियोगी छनोट गर्नका लागि आयोजकले तयारी व्यापक पारेको छ । अडिसनबाट छनौट भएकाहरुलाई भदौंमा अभिमुखीकरणमा सहभागि गराइने छ । त्यसलगत्तै प्रतियोगिताको ग्राण्ड फिनाले हुनेछ । प्रतियोगिताका विजेताले नगद, क्राउनलगायतका उपहार पाउने छन् ।

यस प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको थियो । पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी भएका थिए भने मिस थारु जेनिशा चौधरी भएकी थिइन् । त्यस्तै २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् । २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारु प्रशान्त हुजदार र मिस थारु लिभा थारु भएकी थिइन् ।

पत्रकार सम्मेलनमा अडिसन कोअडिनेटर प्रधुम्न चौधरीलगायतले प्रतियोगिता बारे जानकारी गराएका थिए । कार्यक्रम जहइन्टरटेनमेन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुरेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर