अर्थसचिव मरासिनी लगातार अनुपस्थित, नयाँमा यी चारजनाको चर्चा – Nepal Press

अर्थसचिव मरासिनी लगातार अनुपस्थित, नयाँमा यी चारजनाको चर्चा

काठमाडौं । क्लीनचिट पाएर अर्थमन्त्रीमा पुन: नियुक्ति पाएका जनार्दन आएको ४ दिनसम्म अर्थसचिव मधुकुमार मरासिनी मन्त्रालय आएका छैनन् । उनी शर्माको पदभार तथा स्वागत समारोहमा समेत बिना जानकारी अनुपस्थित थिए ।

दुईजना सचिव रहने व्यवस्था रहेको अर्थमा मन्त्रीपछि मरासिनीले मन्त्रालयको समग्र लिड गर्छन् । अर्का सचिव कृष्णहरी पुष्करले राजश्वको पाटो हेर्छन् ।

मन्त्रालय स्रोतका अनुसार सचिव मरासिनी साउन २० गतेसम्म बिदामा बसेका छन् । जनार्दनको कमब्याकताका उनी पोखरा काजमा गएका थिए । अघिल्लो दिनसम्म मन्त्रालय आएका सचिव शर्मा पुन:नियुक्ति भएर आउँदा देखिएनन् ।

अर्थमन्त्रीबाट राजीनामा दिन शर्मामाथि चौतर्फी दबाब परिरहँदा चर्को दबाब परेका बेला सचिव मरासिनी बालुवाटार र खुमलटारलाई जानकारी गराएर बिदामा बसेका थिए । उनले आफूलाई सन्चो नभएको भनेर अनिश्चितकालीन बिदा लिए पनि संसदीय विशेष समितिसँगको बयानमा त्यसबेला मानसिक दबाब परेको जवाफ दिएका थिए ।

तर, उनी शर्माको राजीनामालगत्तै मन्त्रालय हाजिर भए ।

मन्त्रालयका एक अधिकारीका अनुसार सचिव मरासिनीले मन्त्रालय नफर्कने संकेत गरेका छन् । लगातार फोन गर्दा पनि उनीसँग सम्पर्क हुन सकेको छैन । अर्थमन्त्रीले राजीनामा दिएकै दिनपनि बिदामा बसेका थिए ।

सचिवको अभावमा मन्त्रालयको दैनिक कामकाजमा समस्या त परेको छ नै । नीतिगत निर्णयका लागि मन्त्रीलाई पनि सचिवको साथ पक्कै चाहिन्छ ।

नयाँ अर्थसचिवको चर्चा

मरासिनीको लगातार अनुपस्थितिपछि नयाँ अर्थ सचिवको चर्चा सुरू भएको छ । अर्थमन्त्री जनार्दन शर्माले पनि आफू अनुकूलको सचिव ल्याउन चाहेको बुझिएको छ । मन्त्रीले अनुकूल सचिव ल्याउनका लागि सहयोग गरिदिन प्रधानमन्त्रीसँग आग्रह गरिरहेको बताइएको छ । अहिले अर्थसचिवमा बैकुण्ठ अर्याल, गणेश पाण्डे, राजस्वसचिव कृष्णहरी पुस्कर, केवल भण्डारीलगायतको नाम चर्चामा छ ।

वाणिज्य सचिव गणेश पाण्डे भने अर्थ जान नचाहेको बुझिएको छ । यद्यपि सरुवा गरिदिए जानसक्ने बुझिएको छ । यता बैकुण्ठ अर्यालको चर्चा भए पनि उनी अर्थसचिव भएर जान चाहेका छैनन ।

बैकुण्ठ अर्याल अहिले सञ्चार सचिव छन् । यस्तै केवल भण्डारी अहिले राष्ट्रिय योजना आयोगमा छन् । उनले केही समय अर्थ मन्त्रालयको बजेट महाशाखामा काम गरिसकेका छन् । उनले अवसर पाए अर्थसचिव भएर काम गर्ने चाहना देखाएका छन् । यसअघि पनि उनको नाम अर्थसचिवमा चर्चा थियो तर उनले बाजी मार्न सकेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर