सप्तकोसी बस्तीमा पसेपछि स्थानीयलाई सुरक्षित स्थलतर्फ सारिँदै (तस्बिरहरू) – Nepal Press

सप्तकोसी बस्तीमा पसेपछि स्थानीयलाई सुरक्षित स्थलतर्फ सारिँदै (तस्बिरहरू)

उदयपुर । बाढीले उदयपुरको बेलका नगरपालिका- ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेसँगै जोखिममा परेका मानिसलाई सुरक्षित स्थानमा सार्ने क्रम चलिरहेको छ ।

बुधबार बिहान नदी फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका- २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका- ६ डुबानमा परेका छन् ।

कोसी बस्तीमा पसेपछि नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, जनप्रतिनिधि, स्थानीयबीसीसहित संयुक्त रूपमा प्रभावित क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा सार्ने कार्यमा खटिएका छन् ।

७० मिटरभन्दा बढी बाँध कटान गरेर पानी बस्तीमा पसेको छ । हाल उद्धारमा केन्द्रित भएकाले क्षतिको विवरण यकिन भइनसकेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।

बेलका नगरपालिका- ८ लाहुरे खोच डुम्रिबोटेस्थित नदी तटीय क्षेत्रका स्थानीयबासी वषौंदेखि कटानको समस्यासँग जुध्दै आएका छन् ।

कोसी सम्झौता अनुसार भारत सरकारले नदीको दुवैतर्फ स्थायी तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या झन् बढेको स्थानीय बताउँछन् । नदी गाउँतिर सोझिएकोले ढुक्कले निदाउने अवस्था नभएको उनीहरूको गुनासो छ ।

सप्तकोसीले धार परिर्वतन गरी पश्चिमतर्फ कटान गरेपछि बेलका नगरपालिका- २, ३, ८ र ९ उच्च जोखिममा परेका हुन् । उदयपुरको बेलका नगरपालिका- ८ को लाहुरे खोचमा सप्तकोसी नदी फुटेपछि सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्षका ४ हजार घर परिवार उच्च जोखिममा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर